YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 35:10-35

प्रस्‍थान 35:10-35 पवित्र बाइबल (NERV)

“तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुशरण गरेर सब चीजहरू बनाउनु पर्छ। पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू, पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ। टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ। बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ। धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा, होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार, आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो। चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अड्याउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ। पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।” तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए। तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो। सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए। प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक जोसँग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसँग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए। प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए। ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए। नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए। मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो। इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो। तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।) परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ। उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ। उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ। परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन्। (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो।) परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।

शेयर गर्नुहोस्
प्रस्‍थान 35 पढ्नुहोस्

प्रस्‍थान 35:10-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तिमीहरूमध्‍येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्‌: पवित्र वासस्‍थान र त्‍यसको पाल, पालका छत, अङ्‌कुसेहरू, फल्‍याकहरू, बारहरू, खम्‍बाहरू र आधारहरू, सन्‍दूक र त्‍यसका डन्‍डाहरू, कृपा-आसन र छेक्‍ने पर्दा, टेबिल र त्‍यसका डन्‍डाहरू र त्‍यसका सबै पात्रहरू र उपस्‍थितिको रोटी, बत्तीको निम्‍ति सामदान र त्‍यसका दियाहरू, र बत्तीको निम्‍ति तेल, धूपको वेदी र त्‍यसका डन्‍डाहरू, अभिषेक गर्ने तेल, सुगन्‍धित धूप, पवित्र वासस्‍थानको ढोकाका पर्दा, होमबलिको वेदी र त्‍यसका काँसाको जाली, त्‍यसका डन्‍डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्‍यसका खुट्टासमेत, चोकका पर्दाहरू र त्‍यसका खम्‍बाहरू र त्‍यसका आधारहरू, चोकको मूल ढोकाको निम्‍ति पर्दा, पवित्र वासस्‍थान र चोकका कीलाहरू र तिनका डोरीहरू, पवित्रस्‍थानमा सेवा गर्नका निम्‍ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्‍ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।” तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए। जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्‍छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्‍यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्‍ति परमप्रभुको लागि भेटी ल्‍याए। राजीखुशी मन भएका पुरुष र स्‍त्री दुवैले सबै किसिमका सुनका गहना ल्‍याए: पीन, कुण्‍डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्‍ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए। जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्‍ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्‍याए। चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्‍ति भेटीको रूपमा ल्‍याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्‍ति बबुल काठ थियो, त्‍यो तिनीहरूले ल्‍याए। आफ्‍ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्‍त्रीहरूले ती ल्‍याए। राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्‍त्रीहरूले बाख्राका भुत्‍ला काते। नायकहरूले एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू मणिहरू ल्‍याए। बत्ती, अभिषेक गर्ने तेल र सुगन्‍धित धूपको निम्‍ति मसला र तेल ल्‍याए। परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्‍ति मनमा इच्‍छुक भएका इस्राएलीहरूका हरेक स्‍त्री र पुरुषले राजीखुशीका भेटी ल्‍याए। तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ। उहाँले तिनलाई परमेश्‍वरका आत्‍माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ। तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने, र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरून्‌ भन्‍ने ध्‍येयले हो। तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन्‌ भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ। तिनीहरूले सबै किसिमका शिल्‍पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्‍ने काममा, सबै किसिमका शिल्‍पकारी र कलाकारका निपुण काम गरून्‌ भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”

शेयर गर्नुहोस्
प्रस्‍थान 35 पढ्नुहोस्

प्रस्‍थान 35:10-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“तिमीहरूमध्‍ये भएका सबै सिपालु कारिगरहरू आएर परमप्रभुले आज्ञा गरेका सबै कुराहरू बनाउनुपर्छ: पवित्र पाल, त्‍यसका भित्री र बाहिरी पालहरू, अङ्कुसेहरू र फल्‍याकहरू तेर्सो बार र खम्‍बाहरू, आसनहरू, करारको सन्‍दुक, त्‍यसका डन्‍डाहरू, प्रायश्‍चितको ढकना, छोप्‍ने पर्दा, टेबिल, त्‍यसका डन्‍डा र सर-सामानहरू, परमेश्‍वरलाई भेटी चढाएका रोटी, बत्तीको निम्‍ति सामदान र त्‍यसका सर-सामान, पानस र तेल, धूप वेदी र त्‍यसका डन्‍डाहरू, अभिषेक गर्ने तेल, मीठो बास्‍ना भएको धूप, पवित्र पालको ढोकाको पर्दा, बलि चढाउने वेदी, त्‍यसमा लगाएको काँसाको जाली, त्‍यसका डन्‍डा र सर-सामान, पानी राख्‍ने बाटा र त्‍यसका आसन, पवित्र पाल घेर्ने घेराका पर्दाहरू, त्‍यसका आसन र खम्‍बाहरू, घेराको ढोकाको पर्दा, पवित्र पाल र घेराको किला र डोरीहरू र पवित्रस्‍थानमा सेवा गर्दा पूजाहारीहरूले लाउने सुन्‍दर वस्‍त्रहरू, पूजाहारी हारून र त्‍यसका छोराहरूले लाउने पवित्र पोशाकहरू।” इस्राएलका सबै मानिसहरू मोशाबाट बिदा भए। ज-जसले इच्‍छा गरे, तिनीहरूले परमप्रभुको पवित्र पाल बनाउन उहाँकहाँ भेटी ल्याए। आराधना गर्नका लागि र पूजाहारीका वस्‍त्र बनाउन चाहिने सबै चीजबीजहरू तिनीहरूले ल्‍याए। इच्‍छा गर्ने प्रत्‍येक पुरुष र स्‍त्रीले सिङ्गार्नलाई पिन, कुण्‍डल, औँठी, मालाहरू र हरप्रकारका सुनका गरगहना ल्‍याए र परमप्रभुलाई अर्पण गरे। जोसँग मिहिन सुती कपडा, नीलो, बैजनी वा रातो रङका ऊन, बाख्राका भुत्‍लाका कपडा, रातो रङ गरेका भेडाका छाला वा असल छालाहरू थिए, ती सबै तिनीहरूले भेटीस्‍वरूप ल्‍याए। ज-जसले चाँदी वा काँसा दिन सक्‍थे, तिनीहरूले आ-आफ्‍ना भेटी परमप्रभुकहाँ ल्‍याए। अनि कुनै पनि काममा लगाउन सकिने बबुल काठ जोसँग थियो, ती काठ तिनीहरूले ल्‍याए। सीप भएका स्‍त्रीहरूले आफूले बनाएका मिहिन सुती धागो अनि नीलो, बैजनी र रातो रङका ऊनी धागो लिई आए। तिनीहरूले बाख्राका रौंका धागा पनि बनाए। नाइकेहरूले पवित्र एपोद र छाती-पातामा जड्‍ने आनिक्‍स र अन्‍य दामी रत्‍नहरू अनि बत्तीको लागि तेल र अभिषेक गर्ने तेल र मीठा बास्‍ना भएका धूपको निम्‍ति मसला र तेलहरू ल्‍याए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कामको निम्‍ति इच्‍छा राख्‍ने सबै इस्राएलीहरूले आ-आफ्‍ना भेटी परमप्रभुकहाँ ल्‍याए। मोशाले इस्राएलीहरूलाई भने, “परमप्रभुले यहूदा कुलका, हूरका नाति अनि ऊरीका छोरा बजलेललाई चुन्‍नुभएको छ। परमेश्‍वरले तिनलाई आफ्‍नो आत्‍माले भर्नुभएको छ। समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरका काम गर्ने योग्‍यता दिनुभएको छ। उहाँले तिनलाई सुन, चाँदी र काँसाको शिल्‍पकलाको लागि, हीरा आदि मणिहरू काट्‍ने र जड्‍ने, काठमा चित्र कप्‍ने साथै अरू हरप्रकारका कलाका काम गर्ने सीप दिनुभएको छ। तिनलाई र दान कुलका अहीसामाकका छोरा ओहोलीआबलाई परमप्रभुले आफ्‍नो सीप अरूहरूलाई पनि सिकाउन सक्‍ने योग्‍यता दिनुभएको छ। धातु खोप्‍ने, फूल-बुट्टा भर्ने, चित्र बनाउने अनि मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङको ऊनी र अरू कपडा बुन्‍ने कारिगरहरूले जानेका सबै थरीका काम गर्ने सीप उहाँले तिनीहरूलाई दिनुभएको छ। तिनीहरू सबै प्रकारका काम गर्न सक्‍छन् र सिपालु चित्रकार पनि हुन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 35 पढ्नुहोस्