“तिमीहरूमध्येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्: पवित्र वासस्थान र त्यसको पाल, पालका छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, सन्दूक र त्यसका डन्डाहरू, कृपा-आसन र छेक्ने पर्दा, टेबिल र त्यसका डन्डाहरू र त्यसका सबै पात्रहरू र उपस्थितिको रोटी, बत्तीको निम्ति सामदान र त्यसका दियाहरू, र बत्तीको निम्ति तेल, धूपको वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पवित्र वासस्थानको ढोकाका पर्दा, होमबलिको वेदी र त्यसका काँसाको जाली, त्यसका डन्डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्यसका खुट्टासमेत, चोकका पर्दाहरू र त्यसका खम्बाहरू र त्यसका आधारहरू, चोकको मूल ढोकाको निम्ति पर्दा, पवित्र वासस्थान र चोकका कीलाहरू र तिनका डोरीहरू, पवित्रस्थानमा सेवा गर्नका निम्ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।”
तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए। जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए। राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए: पीन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए। जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्याए। चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्ति भेटीको रूपमा ल्याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए। आफ्ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्त्रीहरूले ती ल्याए। राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्त्रीहरूले बाख्राका भुत्ला काते। नायकहरूले एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू ल्याए। बत्ती, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला र तेल ल्याए। परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्ति मनमा इच्छुक भएका इस्राएलीहरूका हरेक स्त्री र पुरुषले राजीखुशीका भेटी ल्याए।
तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ। उहाँले तिनलाई परमेश्वरका आत्माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ। तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने, र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरून् भन्ने ध्येयले हो। तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ। तिनीहरूले सबै किसिमका शिल्पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्ने काममा, सबै किसिमका शिल्पकारी र कलाकारका निपुण काम गरून् भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”