YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 33:7-15

प्रस्‍थान 33:7-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब मोशाले एउटा पाल लिएर त्यसलाई “समागम पाल” भनेर छाउनीदेखि केही टाढासम्म टाँग्ने गर्थे। याहवेहसित भेट गर्न चाहने जोसुकै पनि छाउनीबाहिर भएको समागम पालमा जान्थ्यो। अनि जहिले-जहिले मोशा बाहिर पालमा निस्कन्थे, तब सबै मानिसहरू मोशा पालभित्र नपसुन्जेल आफ्ना पालहरूका प्रवेश द्वारहरूमा हेर्दै उभिरहन्थे। जब मोशा पालभित्र पस्थे, याहवेह तिनीसित बोल्नुहुँदा बादलको खामो ओर्लेर पालको ढोकामा खडा रहन्थ्यो। जब-जब मानिसहरू बादलको खामो पालको ढोकामा खडा भएको देख्थे; तिनीहरू आ-आफ्ना पालको ढोकामा उभिएर आराधना गर्दथे। कुनै मानिस आफ्नो मित्रसित बोलेझैँ याहवेह मोशासित आमने-सामने बोल्नुहुन्थ्यो। त्यसपछि मोशा छाउनीमा फर्कन्थे, तर तिनको जवान सहायक नूनका छोरा यहोशूले पाल छाड्दैनथे। मोशाले याहवेहलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई डोर्‍याउनू,’ भन्दै आउनुभएको छ; तर तपाईंले मसित कसलाई पठाउनुहुनेछ, त्यो भन्‍नुभएको छैन। तपाईंले भन्‍नुभएको छ, ‘म त तँलाई तेरो नामले नै चिन्छु, र तँमाथि मेरो निगाह परेको छ।’ यदि तपाईं मसित प्रसन्‍न हुनुहुन्छ भने मलाई तपाईंका मार्ग सिकाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ; अनि तपाईंको निगाह पाइरहन सकूँ। स्मरण रहोस्, यो जाति तपाईंकै मानिसहरू हुन्।” याहवेहले जवाफ दिनुभयो, “मेरो उपस्थिति तँसित जानेछ; अनि म तँलाई विश्राम दिनेछु।” तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हाम्रो साथमा जाँदैन भने त हामीलाई यहाँबाट नलैजानुहोस्।

शेयर गर्नुहोस्
प्रस्‍थान 33 पढ्नुहोस्

प्रस्‍थान 33:7-15 पवित्र बाइबल (NERV)

मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल” नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो। जति बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र पस्दैन थिए। तिनीहरूले मोशालाई हेर्थे। मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासँग कुरा गर्नु हुन्थ्यो। यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे। यस रीति अनुसार परमप्रभुले मोशासँग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसँग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो। मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसँगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’ यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।” परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।” त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्।

शेयर गर्नुहोस्
प्रस्‍थान 33 पढ्नुहोस्

प्रस्‍थान 33:7-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जहिलेजहिले इस्राएलका मानिसहरूले पाल टाँगेर डेरा बनाउँथे, मोशाले पालदेखि केही टाढासम्‍म पवित्र पाल लगेर राख्‍थे। त्‍यसलाई परमप्रभुको पवित्र पाल भनिन्‍थ्‍यो र त्‍यहाँ परमप्रभुको राय लिन चाहने मानिस जानेगर्थ्‍यो। जहिलेजहिले मोशा त्‍यहाँ जान्‍थे, मानिसहरू आ-आफ्‍ना तम्‍बुको ढोकानिर उभिएर मोशा पवित्र पालभित्र नपसेसम्‍म तिनलाई हेरिरहन्‍थे। मोशा भित्र पसेपछि बादलको खम्‍बा उभिएर पवित्र पालको ढोकामा खडा रहन्‍थ्‍यो र बादलको बीचबाट परमप्रभुले मोशासित कुरा गर्नुहुन्‍थ्‍यो। मानिसहरूले बादलका खम्‍बालाई पालको ढोकामा देख्‍नेबित्तिकै शिर निहुराएर ढोग्‍थे। जसरी मानिसले आफ्‍नो साथीसित कुरा गर्छ, त्‍यसरी परमप्रभु मोशासित मुखामुख कुरा गर्नुहुन्‍थ्‍यो। त्‍यसपछि मोशा पालमा फर्कन्‍थे। तर तिनलाई मद्दत गर्ने युवा नुनको छोरो यहोशूचाहिँ त्‍यहीँ पवित्र पालमा बस्‍थे। मोशाले परमप्रभुलाई भने, “तपाईंले यी मानिसहरूलाई त्‍यस देशमा डोर्‍याई लैजान मलाई भन्‍नुभएको साँचो हो, तर मसँग क-कसलाई पठाउनुहुनेछ त्‍यो त भन्‍नुभएन। तपाईंले भन्‍नुभयो कि तपाईंले मलाई चिन्‍नुहुन्‍छ र मसँग प्रसन्‍न हुनुहुन्‍छ। त्‍यसो हो भने मलाई आफ्‍नो इच्‍छा भन्‍नुहोस् र म तपाईंको सेवा गरेर तपाईंलाई प्रसन्‍न तुल्‍याइरहूँ। तपाईंले यस जातिलाई आफ्‍नै प्रजा सम्‍झनुहोस्‌।” परमप्रभुले भन्‍नुभयो, “म तँसित जानेछु र तँलाई विजय दिनेछु।” मोशाले उत्तर दिए, “तपाईं हामीसित जानुहुन्‍न भने हामीलाई यस ठाउँ छोड्‍न नलाउनुहोस्।

शेयर गर्नुहोस्
प्रस्‍थान 33 पढ्नुहोस्

प्रस्‍थान 33:7-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मोशाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढ़ामा पाल टाँग्‍ने गर्थे। तिनले त्‍यसलाई “भेट हुने पाल” भन्‍थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्‍येक व्‍यक्ति छाउनीको बाहिर भएको त्‍यही भेट हुने पालमा जान्‍थ्‍यो। जब मोशा निस्‍केर भेट हुने पालमा जान्‍थे, तब सबै मानिसहरू उठेर आफ्‍नो पालको ढोकामा खड़ा भई मोशा त्‍यस पालभित्र नपसुञ्‍जेलसम्‍म तिनीतिर नै हेरिरहन्‍थे। जब मोशा त्‍यस पालभित्र पस्‍थे तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्‍थ्‍यो। तब परमप्रभु मोशासित कुरा गर्नुहुन्‍थ्‍यो। जब मानिसहरूले बादलको खामो पालको ढोकामा खड़ा भएको देख्‍तथे, तब तिनीहरू उठेर आ-आफ्‍नो पालको ढोकामा आराधना गर्थे। परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्‍थ्‍यो, जसरी कोही आफ्‍ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्‍यस पालबाट निस्‍कँदैनथे। अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्‍नुहुन्‍छ, तर मसित को-को पठाउनुहुन्‍छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्‍नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्‍छु: र तँमाथि मेरो निगाह भएको छ’। यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ र तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्‍झनुहोस्‌।” अनि परमप्रभुले भन्‍नुभयो, “मेरो उपस्‍थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।” तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्‍थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्‌।

शेयर गर्नुहोस्
प्रस्‍थान 33 पढ्नुहोस्