प्रस्थान 33
33
मोशाको अन्तर्बिन्ती
1तब परमप्रभुले मोशालाई भन्नुभयो, “मिश्रबाट ल्याएका यी मानिसहरूसँग त्यस देशमा जा, जसको विषयमा ‘तेरा सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएको थिएँ। #उत १२:७; २६:३; २८:१३ 2म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु। 3दूध र मह बग्ने त्यो देशमा जाओ। तर तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्नेछैनँ, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरुँला।”
4जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे, र कसैले आफ्ना गहनाहरू लगाएन। 5किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरू हठी मानिस हौ। म एक क्षणको निम्ति पनि तिमीहरूका बीचमा आएँ भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूले आफ्ना गहनाहरू फुकाल, र तिमीहरूसित के गर्नुपर्ने हो, सो म विचार गरुँला’।” 6यसैले होरेब पर्वतमा इस्राएलीहरूले आफ्ना गहनाहरू फुकाले।
भेट हुने पाल
7मोशाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढ़ामा पाल टाँग्ने गर्थे। तिनले त्यसलाई “भेट हुने पाल” भन्थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको त्यही भेट हुने पालमा जान्थ्यो। 8जब मोशा निस्केर भेट हुने पालमा जान्थे, तब सबै मानिसहरू उठेर आफ्नो पालको ढोकामा खड़ा भई मोशा त्यस पालभित्र नपसुञ्जेलसम्म तिनीतिर नै हेरिरहन्थे। 9जब मोशा त्यस पालभित्र पस्थे तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्थ्यो। तब परमप्रभु मोशासित कुरा गर्नुहुन्थ्यो। 10जब मानिसहरूले बादलको खामो पालको ढोकामा खड़ा भएको देख्तथे, तब तिनीहरू उठेर आ-आफ्नो पालको ढोकामा आराधना गर्थे। 11परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्यस पालबाट निस्कँदैनथे।
मोशा र परमप्रभुको महिमा
12अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्नुहुन्छ, तर मसित को-को पठाउनुहुन्छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्छु: र तँमाथि मेरो निगाह भएको छ’। 13यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्झनुहोस्।”
14अनि परमप्रभुले भन्नुभयो, “मेरो उपस्थिति तँसँग जानेछ, र म तँलाई विश्राम दिनेछु।”
15तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। 16तपाईं हामीसितै नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौं?”
17तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले भनेकै कुरा म गर्नेछु, किनकि तैंले मेरो दृष्टिमा निगाह पाएको छस्, र मैले तँलाई नाउँले नै चिनेको छु।”
18तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।”
19उहाँले भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु।” #रोम ९:१५ 20अनि उहाँले भन्नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन।”
21तब परमप्रभुले भन्नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ एउटा चट्टानमा खड़ा हो। 22मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई म त्यस चट्टानको धाँदोमा राख्नेछु, र म त्यहाँबाट भएर नजाउञ्जेल तँलाई मेरै हातले छोपिराख्नेछु। 23त्यसपछि म मेरो हात उठाउनेछु, र तैंले मेरो पछिको भाग देख्नेछस्, तर मेरो अनुहारचाहिँ देखिनेछैन।”
अहिले सेलेक्ट गरिएको:
प्रस्थान 33: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012