प्रस्थान 23:14-33
प्रस्थान 23:14-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“वर्षमा तीन पल्ट तिमीहरूले मेरो निम्ति चाड़ मनाओ। तिमीहरूले अखमिरी रोटीको चाड़ मान। तिमीहरूलाई आज्ञा गरेबमोजिम आबीब महिनाको ठहराएको समयमा सात दिनसम्म अखमिरी रोटी खानू, किनकि त्यही महिनामा तिमीहरू मिश्रबाट निस्केर आएका हौ। “कोही पनि मेरो सामुन्ने रित्तो हात लिएर देखा नपरोस्।” “तिमीहरूले खेतमा छरेको अन्नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।” “वर्षको अन्तमा जब तिमीहरू आफ्नो खेतबाट आफ्नो मेहनतको फल बटुल्छौ, त्यस बेला अन्न भित्र्याउने चाड़ मनाओ। “वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुषहरू परमप्रभुको सामु देखा परून्। “मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ। मेरो निम्ति चाड़मा चढ़ाउने बलिको बोसो बिहानसम्म रहन नदेओ। “तिमीहरूको जमिनका अगौटे फलमध्येका सबभन्दा असल फलचाहिँ परमप्रभु आफ्ना परमेश्वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ। “हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्याउनलाई म एउटा दूत तिमीहरूका अगिअगि पठाउनेछु। ध्यान दिएर तिनको कुरा सुन। तिनको विरुद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्, किनकि तिनैमा मेरो नाउँ छ। यदि तिमीहरूले तिनको कुरा सुन्यौ, र मैले भनेको सबै गर्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु। मेरा दूत तिमीहरूका अगिअगि जानेछन्, र एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूको देशमा तिमीहरूलाई पुर्याउनेछन्, र म उनीहरूको नाउँनिशान मेटिदिनेछु। उनीहरूका देवताहरूलाई नढोग, पूजा नगर, र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिलकुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा-टुक्रा पार। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्नपानीमा आशिष् दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु। तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।” “म आफ्नो आतङ्क तिमीहरूका अगिअगि फैलाउनेछु, र तिमीहरू जुन जातिकहाँ जानेछौ उनीहरू सबैमा म गोलमाल ल्याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामुन्नेबाट भगाउनेछु। म तिमीहरूका अगिअगि अरिङ्गाल पठाउनेछु, र त्यसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछ। तर म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट एकै वर्षमा धपाउनेछैनँ, नत्रता देश उजाड़ भएर जानेछ, र जङ्गलका जन्तुहरू तिमीहरूका लागि संख्यामा धेरै हुनेछन्। तिमीहरू बढ़ेर त्यो देश आफ्नो अधिकारमा नपारुञ्जेल अलि-अलि गरेर म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछु।” “म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिश्तीहरूको समुद्रसम्म, र उजाड़-स्थानदेखि यसो यूफ्रेटिससम्मै तोकिदिनेछु। म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरूले उनीहरूलाई धपाउनेछौ। तिमीहरूले उनीहरू र उनीहरूका देवताहरूसँग करार नबाँध्नू। तिमीहरूको देशमा उनीहरूलाई बस्न नदिनू, नत्रता उनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउँछन्, किनकि तिमीहरूले उनीहरूका देवताको पूजा गर्यौ भने तिमीहरू निश्चय नै उनीहरूका फन्दामा पर्नेछौ।”

प्रस्थान 23:14-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“वर्षमा तीन पल्ट तिमीहरूले मेरा निम्ति चाड मनाउनू। “अखमिरी रोटीको चाड मनाओ; मैले तिमीहरूलाई आज्ञा दिएझैँ सात दिनसम्म अखमिरी रोटी खाओ। यो तिमीहरूले आबीब महिनाको तोकिएको समयमा गर; किनकि त्यही महिना तिमीहरू इजिप्टबाट निस्केर आएका थियौ। “मकहाँ कोही पनि खाली हात नआओस्। “तिमीहरूले आफ्ना खेतमा छरेका अन्नको पहिलो फलले कटनीको चाड मनाउनू। “वर्षको अन्तमा तिमीहरूले खेतबाट आफ्ना अन्न बटुल्दा अन्न भित्र्याउने चाड मनाओ। “वर्षमा तीन पल्ट सबै पुरुषहरू सार्वभौम याहवेहकहाँ देखा परून्। “तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू। “मेरा चाडको बलिको बोसोहरू बिहानसम्म रहन नदिनू। “तिमीहरूका माटोबाट उब्जेका सबैभन्दा असल पहिलो फल याहवेह तिमीहरूका परमेश्वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाउनू। “हेर, तिमीहरूलाई बाटोमा रक्षा गर्न मैले तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउनलाई म एउटा दूत तिमीहरूका अगि-अगि पठाउँदैछु। ध्यान दिएर तिनको कुरा सुन, र तिनले भनेका कुरा मान। तिनको विरोध नगर; तिनले तिमीहरूको विद्रोह क्षमा गर्नेछैनन्; किनकि मेरो नाम तिनमा रहेको छ। यदि तिमीहरूले तिनले भनेका कुरा ध्यानपूर्वक सुन्यौ र मैले तिमीहरूलाई भनेका सबै गर्यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु बन्नेछु; अनि तिमीहरूलाई विरोध गर्नेहरूलाई म विरोध गर्नेछु। मेरो दूत तिमीहरूका अगि-अगि जानेछन् र तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनेछन्, र म तिनीहरूलाई पूर्ण रूपले नाश गरिदिनेछु। तिनीहरूका देवी-देवताहरूलाई दण्डवत् नगर्नू, तिनीहरूको आराधना नगर्नू अथवा तिनीहरूका रीतिहरूअनुसार नचल्नू। तिमीहरूले ती भत्काइदिनू र तिनीहरूले पवित्र मानेका ढुङ्गाहरू टुक्रा-टुक्रा पारेर भाँचिदिनू। याहवेह तिमीहरूका परमेश्वरलाई आराधना गर्नू, र तिमीहरूका अन्नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु; अनि तिमीहरूको देशमा कसैको गर्भ तुहुनेछैन वा कोही बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु जिउन दिनेछु। “म तिमीहरूका अगि-अगि मेरो आतङ्क पठाउनेछु, र तिमीहरूले सामना गर्ने प्रत्येक राष्ट्रलाई अलमल पारिदिनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्ने तुल्याउनेछु। म हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूका बाटोदेखि धपाउनको निम्ति तिमीहरूका अगि-अगि अरिङ्गाल पठाउनेछु। तर म तिनीहरूलाई एकै वर्षमा धपाउनेछैन, नत्रता देश उजाड हुनेछ, र जङ्गली जनावरहरू तिमीहरूका लागि संख्यामा ज्यादै हुनेछन्। म तिमीहरू संख्यामा बढेर देशमाथि अधिकार गर्न सक्ने नभएसम्म तिनीहरूलाई तिमीहरूकै सामु अलि-अलि गर्दै धपाउनेछु। “म तिमीहरूका सिमाना लाल समुद्रदेखि भूमध्य सागरसम्म, र उजाडस्थानदेखि यूफ्रेटिस नदीसम्मै स्थापित गर्नेछु। म त्यस देशमा बसोबास गर्ने मानिसहरूलाई तिमीहरूका हातमा पारिदिनेछु, र तिमीहरूले तिनीहरूलाई आफ्नो सामुबाट धपाउनेछौ। तिनीहरूसित र तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू। तिनीहरूलाई तिमीहरूको देशमा बस्न नदिनू, नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउनेछन्; किनकि तिनीहरूका देवी-देवताहरूको आराधना तिमीहरूका निम्ति निश्चय नै पासो हुनेछ।”
प्रस्थान 23:14-33 पवित्र बाइबल (NERV)
“प्रत्येक बर्षको तीन पल्ट तिमीहरूले मेरो निम्ति विशेष चाड़ आयोजना गर्नु पर्छ। जब तिमीहरूले अखमिरे रोटीको चाड़ मनाउँछौ तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नु पर्छ। त्यस समयमा तिमीहरूले अखमिरे रोटी खानेछौ। यो सात दिनसम्म यस्तै चलिरहन्छ। तिमीहरूले यसो आबीब महीनामा गर्नेछौ किनभने त्यही समयमा जब तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। त्यो समयमा तिमीहरूले मेरो निम्ति एउटा भेटी ल्याउनु नै पर्छ। “जब प्रत्येक बर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौ। “तिमीहरूले अन्न भित्र्याउने चाढ मनाउनु पर्छ अनि बर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउँछौ त्यस समय छाप्रोवासको चाड़ मनाउनु पर्छ। “यसर्थ एक बर्ष भित्र सबै मानिसहरूले परमप्रभु तिमीहरूका मालिक कहाँ तीन पल्ट आउनु पर्छ। “जब तिमीले पशु मारेर त्यसको रगत बलि चढाउँछौ खमीर मिसाएको रोटी चढाउनु हुँदैन। अनि त्यो बलि चढाएको पशुको मासु खान्छौ भने त्यो एकै दिनमा खाई सक्नु पर्छ। अर्को दिनको निम्ति मासु नराख। “जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जनी परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ। “तिमीहरूले त्यस्कै माऊको दूधमा उमालेको पाठोको मासु नखानु।” परमेश्वरले भन्नुभयो, “म तिम्रोअघि एकजना स्वर्गदूत पठाउँदैछु। त्यस स्वर्गदूतले तिमीहरूलाई मैले तयार पारेको ठाउँमा पुग्नमा मद्दत गर्नेछ। त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससँग छ। उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु। “मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्बी र यबूसीहरूको विरोद्धमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु। “तिनीहरूका देवताहरूलाई पूजा अथवा ढोग नगर, तिमीहरूले उनीहरूको जीवन शैली ग्रहण नगर। तिमीहरूले तिनीहरूका मूर्तिहरू अनि अ-पवित्र खाम्बाहरू चूर पारिदेऊ। तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु। तिमीहरू कसैको पत्नीहरू बाँझी अथवा गर्भपात हुने छैन, अनि म तिमीहरूलाई लामो जीवन दिनेछु। “म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मद्दत गर्नेछु। म तिमीहरूको अघि ठूलो सङ्कट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ। तर ती मानिसहरूलाई म तिम्रो भूमि एकै बर्षमा छोड्न बाध्य गराउने छैन नत्र त्यो भूमि खाली हुनेछ अनि त्यहाँ जंगली जनावरहरू बढेर तिमीहरूलाई नोक्सानमा पार्नेछन्। जबसम्म तिमीहरूको जनसंख्या प्रचूर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु। “म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरुभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ। “तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन। तिनीहरूलाई तिम्रो भूमिमा बस्नै नदेऊ। यदि तिमीले तिनीहरूलाई त्यहाँ बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई जालोभारी गरी मेरो विरोधमा पाप गर्न लगाउने छन। अनि तिमीहरू तिनीहरूका देवी-देवताहरू पूज्न लाग्नेछौ।”
प्रस्थान 23:14-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मेरो आदर गर्न वर्षेनी तीनवटा चाडहरू मनाओ। आबीब महिनामा तिमीहरूले मिश्र छोडेका थियौ। यसकारण मैले आज्ञा गरेबमोजिम यही महिनामा अखमिरी रोटीको चाड मनाओ। चाडको साताभरि खमिरे रोटी नखाओ। मेरो आराधना गर्न आउँदा कोही पनि रित्तै हात नआओस्। “अन्न कटनी गर्दा कटनी पर्व मनाओ। “वर्षको दिन बितेपछि शरद् ऋतु लाग्छ। जब तिमीहरू आफ्ना दाख र जैतुनका बारीहरूबाट फल बटुल्छौ, तब तिमीहरूले “छाप्रोका चाड” मनाओ। हरेक वर्ष यी तीन चाडहरूमा तिम्रा लोग्नेमानिसहरू म परमप्रभु तिमीहरूका परमेश्वरलाई पुज्न आउनुपर्नेछ। “मलाई पशु-बलि चढाएको रगतसँग खमिरे रोटी नचढाउनू। यी चाडहरूमा बलि चढाएका पशुहरूको बोसो भोलिपल्ट बिहानसम्म रहन नदिनू। “हरेक वर्ष तिम्रो उब्जनीको पहिलो फल परमप्रभु परमेश्वरको भवनमा ल्याउनू। “बाख्रा वा भेडाको पाठालाई त्यसको माऊको दूधमा नपकाउनू। “तिमीहरूले यात्रा गर्दा तिमीहरूलाई रक्षा गर्न र मैले तयार पारेको देशमा पुर्याउन म तिमीहरूको अघिअघि मेरो एउटा दूत पठाउनेछु। ध्यान दिएर तिनको कुरा सुन र मान। तिनको विरोध नगर किनभने तिनलाई मैले पठाएको हुँ र तिमीहरूको त्यस्तो अपराध तिनले क्षमा गर्नेछैनन्। तर तिमीहरूले तिनका कुराहरू मान्यौ र सबै काम मेरा आज्ञाअनुसार गर्यौ भने म तिम्रा सबै शत्रुहरूसँग लड्नेछु। मेरो दूतले तिमीहरूका अघिअघि गएर तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूका देशमा पुर्याउनेछन् र म तिनीहरूलाई नाश पार्नेछु। तिनीहरूका देवताहरूलाई नपुज्नू वा नभज्नू र तिनीहरूका धार्मिक रीतिहरू नमान्नू। तिनीहरूका देवताहरूलाई नष्ट गर। तिनीहरूले पवित्र मानेका खम्बाहरू भाँचिदेओ। म परमप्रभु परमेश्वरलाई तिमीहरूले पुज्यौ भने म तिमीहरूलाई अन्न-पानीले आशीर्वाद दिनेछु र तिम्रा सबै रोगहरू हटाइदिनेछु। तिम्रा देशमा कुनै स्त्रीको गर्भ तुहुनेछैन र कोही पनि बाँझी रहनेछैन। म तिमीहरूलाई लामो आयु दिनेछु। “तिम्रो विरोध गर्ने मानिसहरूलाई म मेरो डर मान्न लाउनेछु। जोसँग तिमीहरू युद्ध गर्छौ, तिनीहरूका बीचमा खैलाबैला ल्याउनेछु र तिम्रा सबै शत्रुहरू तिमीहरूदेखि भाग्नेछन्। तिम्रा शत्रुहरूलाई आतङ्कमा पार्नेछु। तिमीहरू अगाडि बढ्दैजाँदा हित्ती, कनानी, हिव्वीहरूलाई म धपाउनेछु। म तिनीहरूलाई एकै वर्षभित्रमा धपाउनेछैनँ, मैले त्यसो गरें भने देश उजाड हुनेछ र जङ्गली जन्तुहरू तिमीहरूका लागि सङ्ख्यामा धेरै हुनेछन्। पूरा देश कब्जा गर्न तिमीहरूको सङ्ख्या नपुगेसम्म म तिनीहरूलाई अलिअलि गरी धपाउनेछु। म तिमीहरूका देशको सिमाना लाल समुद्रदेखि यूफ्रेटिस नदीसम्म अनि भूमध्य सागरदेखि मरुभूमिसम्म फैलाइदिनेछु। त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूको अधिकार दिनेछु। तिनीहरूलाई तिमीहरूले लखेट्नेछौ। तिनीहरूसँग वा तिनीहरूका देवताहरूसित तिमीहरूले कुनै कुरामा मेलमिलाप नगर्नू। ती मानिसहरूलाई तिम्रा देशमा बास गर्न नदिनू, बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई मेरो विरुद्ध पाप गर्न लाउनेछन्। तिनीहरूका देवताहरू पुज्यौ भने तिमीहरू मृत्युको जालमा फस्नेछौ।”