YouVersion लोगो
खोज आइकन

प्रस्थान 23:14-33

प्रस्थान 23:14-33 NCV

“वर्षमा तीन पल्ट तिमीहरूले मेरा निम्ति चाड मनाउनू। “अखमिरी रोटीको चाड मनाओ; मैले तिमीहरूलाई आज्ञा दिएझैँ सात दिनसम्म अखमिरी रोटी खाओ। यो तिमीहरूले आबीब महिनाको तोकिएको समयमा गर; किनकि त्यही महिना तिमीहरू इजिप्टबाट निस्केर आएका थियौ। “मकहाँ कोही पनि खाली हात नआओस्। “तिमीहरूले आफ्ना खेतमा छरेका अन्‍नको पहिलो फलले कटनीको चाड मनाउनू। “वर्षको अन्तमा तिमीहरूले खेतबाट आफ्ना अन्‍न बटुल्दा अन्‍न भित्र्याउने चाड मनाओ। “वर्षमा तीन पल्ट सबै पुरुषहरू सार्वभौम याहवेहकहाँ देखा परून्। “तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू। “मेरा चाडको बलिको बोसोहरू बिहानसम्म रहन नदिनू। “तिमीहरूका माटोबाट उब्जेका सबैभन्दा असल पहिलो फल याहवेह तिमीहरूका परमेश्‍वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाउनू। “हेर, तिमीहरूलाई बाटोमा रक्षा गर्न मैले तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउनलाई म एउटा दूत तिमीहरूका अगि-अगि पठाउँदैछु। ध्यान दिएर तिनको कुरा सुन, र तिनले भनेका कुरा मान। तिनको विरोध नगर; तिनले तिमीहरूको विद्रोह क्षमा गर्नेछैनन्; किनकि मेरो नाम तिनमा रहेको छ। यदि तिमीहरूले तिनले भनेका कुरा ध्यानपूर्वक सुन्यौ र मैले तिमीहरूलाई भनेका सबै गर्‍यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु बन्‍नेछु; अनि तिमीहरूलाई विरोध गर्नेहरूलाई म विरोध गर्नेछु। मेरो दूत तिमीहरूका अगि-अगि जानेछन् र तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनेछन्, र म तिनीहरूलाई पूर्ण रूपले नाश गरिदिनेछु। तिनीहरूका देवी-देवताहरूलाई दण्डवत् नगर्नू, तिनीहरूको आराधना नगर्नू अथवा तिनीहरूका रीतिहरूअनुसार नचल्नू। तिमीहरूले ती भत्काइदिनू र तिनीहरूले पवित्र मानेका ढुङ्गाहरू टुक्रा-टुक्रा पारेर भाँचिदिनू। याहवेह तिमीहरूका परमेश्‍वरलाई आराधना गर्नू, र तिमीहरूका अन्‍नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु; अनि तिमीहरूको देशमा कसैको गर्भ तुहुनेछैन वा कोही बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु जिउन दिनेछु। “म तिमीहरूका अगि-अगि मेरो आतङ्क पठाउनेछु, र तिमीहरूले सामना गर्ने प्रत्येक राष्ट्रलाई अलमल पारिदिनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्ने तुल्याउनेछु। म हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूका बाटोदेखि धपाउनको निम्ति तिमीहरूका अगि-अगि अरिङ्गाल पठाउनेछु। तर म तिनीहरूलाई एकै वर्षमा धपाउनेछैन, नत्रता देश उजाड हुनेछ, र जङ्गली जनावरहरू तिमीहरूका लागि संख्यामा ज्यादै हुनेछन्। म तिमीहरू संख्यामा बढेर देशमाथि अधिकार गर्न सक्ने नभएसम्म तिनीहरूलाई तिमीहरूकै सामु अलि-अलि गर्दै धपाउनेछु। “म तिमीहरूका सिमाना लाल समुद्रदेखि भूमध्य सागरसम्म, र उजाडस्थानदेखि यूफ्रेटिस नदीसम्मै स्थापित गर्नेछु। म त्यस देशमा बसोबास गर्ने मानिसहरूलाई तिमीहरूका हातमा पारिदिनेछु, र तिमीहरूले तिनीहरूलाई आफ्नो सामुबाट धपाउनेछौ। तिनीहरूसित र तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू। तिनीहरूलाई तिमीहरूको देशमा बस्‍न नदिनू, नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउनेछन्; किनकि तिनीहरूका देवी-देवताहरूको आराधना तिमीहरूका निम्ति निश्‍चय नै पासो हुनेछ।”

प्रस्थान 23 पढ्नुहोस्