YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 18:19-23

प्रस्‍थान 18:19-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरो कुरा सुन, म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्‌। तिमीचाहिँ परमेश्‍वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू। तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्‍य तिनीहरूलाई सिकाइदिनू। तर सबै मानिसहरूमध्‍येबाट परमेश्‍वरको भय मान्‍ने, योग्‍य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्‍यक्तिहरू होऊन्‌। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर। तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ता भएर सेवा गरून्‌। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्‍याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्‍साफ गरून्‌। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्‌नेछन्‌। तिमीले यो उपाय गर्‍यौ भने र परमेश्‍वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्‍न सक्‍नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्‍नो घरमा चित्त बुझाएर जानेछन्‌।”

शेयर गर्नुहोस्
प्रस्‍थान 18 पढ्नुहोस्

प्रस्‍थान 18:19-23 पवित्र बाइबल (NERV)

अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसँग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ। तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ। तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ। “जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ। यी अगुवाहरूले मानिसहरूलाई न्याय गरून्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य-भारहरू हल्का हुन्छ। यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”

शेयर गर्नुहोस्
प्रस्‍थान 18 पढ्नुहोस्

प्रस्‍थान 18:19-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म तिमीलाई केही राम्रो सल्‍लाह दिँदै छु अनि परमेश्‍वर तिमीसित रहनुहुनेछ। तिमीले मानिसहरूका प्रतिनिधि भएर तिनीहरूको झैँझगडा परमेश्‍वरको सामु पुर्‍याउनु ठीकै छ। तिमीले तिनीहरूलाई परमेश्‍वरका आज्ञा सिकाउनुपर्छ र तिनीहरूले कसरी आफ्‍ना जीवन बिताउनु र के काम गर्नुपर्छ, सो बताउनुपर्छ। त्‍यस बाहेक तिमीले केही योग्‍य पुरुषहरूलाई चुनेर मानिसहरूका अगुवा खटाउनुपर्छ। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश मानिसहरूमाथि अगुवा खटाउनुपर्छ। तिनीहरू परमेश्‍वरको डर मान्‍ने भरपर्दा र घुस नखाने मानिसहरू हुनुपर्छ। तिनीहरूले स्‍थायीरूपमा मानिसहरूका लागि न्‍यायाधीशका काम गरून्। तिनीहरूले सबै अप्‍ठ्यारा विषयहरू तिमीकहाँ ल्‍याउन सक्‍छन्; तर स-साना कुराहरू तिनीहरू आफैंले छिनोफानो गर्न सक्‍छन्। त्‍यसो गर्दा तिमीलाई केही सजिलो पर्नेछ किनभने तिनीहरूले पनि तिम्रो भार बाँड्‍नेछन्। परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तिमीले यसो गर्‍यौ भने तिमी आफैं हैरान हुनेछैनौ र यी मानिसहरू पनि आ-आफ्‍ना झैझगडा छिनेर घर जान सक्‍नेछन्।”

शेयर गर्नुहोस्
प्रस्‍थान 18 पढ्नुहोस्