प्रस्थान 18
18
यित्रो र मोशाको भेट
1परमेश्वरले मोशा र आफ्नो प्रजा इस्राएलका निम्ति गर्नुभएका सारा कुरा, कसरी परमप्रभुले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको थियो, सो मिद्यानका पूजाहारी, मोशाका ससुरा यित्रोले सुने।
2मोशाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएपछि, तिनका ससुरा यित्रोले सिप्पोरा #प्रस २:२१-२२ 3र तिनका दुई छोराहरूलाई लिए। ती छोराहरूमध्ये एक जनाको नाउँ गेर्शोम थियो, किनभने मोशाले भने, “म परदेशमा रहने प्रवासी भएको छु।” #प्रे ७:२९ 4अर्काको नाउँचाहिँ एलीएजर थियो, किनभने तिनले भने, “मेरा पिताका परमेश्वर मेरा सहायक भएर मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो।”
5मोशाका छोराहरू र पत्नी लिएर मोशाका ससुरा यित्रो परमेश्वरको पर्वत नजिक मोशा पाल टाँगेर बसेको उजाड़-स्थानमा आए। 6यित्रोले मोशालाई यसो भनेर खबर पठाएका थिए, “म तिम्रा ससुरा यित्रो, तिम्री पत्नी र तिम्रा दुवै छोराहरूलाई लिएर तिमीकहाँ आउँदैछु।”
7मोशा आफ्ना ससुरालाई भेट्न निस्के, र भेटेर तिनलाई ढोगेर म्वाइँ खाए। तिनीहरूले एक-अर्काको हालखबर सोधपूछ गरे, र पालभित्र पसे। 8परमप्रभुले इस्राएलीहरूका खातिर फारो र मिश्रीहरूलाई के-कसो गर्नुभयो, र बाटोमा तिनीहरूलाई के-के कष्ट भयो, र परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो सो वृत्तान्त मोशाले आफ्ना ससुरालाई सुनाए।
9तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर ल्याउनुहुँदा इस्राएलीहरूका निम्ति परमप्रभुले गर्नुभएका सबै कल्याणको कारण यित्रो खुशी भए। 10यित्रोले भने, “तिमीहरूलाई मिश्रीहरू र फारोका हातबाट छुटाउनुहुने परमप्रभुको प्रशंसा होस्। 11अब मलाई थाहा भयो कि परमप्रभु सारा देवताहरूभन्दा महान् हुनुहुँदोरहेछ, किनकि जब मिश्रीहरूले इस्राएलीहरूमाथि अभिमानी व्यवहार गरे तब उहाँले उनीहरूलाई त्यसो गर्नुभयो।” 12त्यसपछि मोशाका ससुरा यित्रोले परमेश्वरको निम्ति होमबलि र अरू बलिदानहरू चढ़ाए। अनि हारून र इस्राएलका सबै धर्म-गुरुहरू मोशाका ससुरा यित्रोसँग परमेश्वरको उपस्थितिमा रोटी खान आए।
13भोलिपल्ट मोशा मानिसहरूका निम्ति न्याय गर्नलाई बसे। मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्म मोशाको वरिपरि आए। #व्य १:९-१८ 14मोशाले मानिसहरूका निम्ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्ति गरेको के काम हो? किन तिमी मात्र न्याय गर्न एकलै बसिरहन्छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि उभिरहन्छन्?”
15मोशाले आफ्ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्वरको इच्छा बुझ्न आउँछन्। 16तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्यसको भाइबन्धुको बीचमा म न्याय गरिदिन्छु, अनि म तिनीहरूलाई परमेश्वरका विधिविधानहरू बताइदिन्छु।”
17मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन। 18तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्नेछैनौ। 19मेरो कुरा सुन, म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमीचाहिँ परमेश्वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू। 20तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्य तिनीहरूलाई सिकाइदिनू। 21तर सबै मानिसहरूमध्येबाट परमेश्वरको भय मान्ने, योग्य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्यक्तिहरू होऊन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर। 22तिनीहरूले हरसमय मानिसहरूका न्यायकर्ता भएर सेवा गरून्। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्साफ गरून्। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्नेछन्। 23तिमीले यो उपाय गर्यौ भने र परमेश्वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्न सक्नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्नो घरमा चित्त बुझाएर जानेछन्।”
24मोशाले आफ्ना ससुराले भनेका कुरा माने, र तिनले भनेबमोजिम सबै गरे। 25मोशाले सारा इस्राएलबाटका योग्य-योग्य मानिसहरूलाई छाने, र तिनीहरूलाई मानिसहरूमाथि नायक बनाए, अर्थात् हजार-हजारका नायक, सय-सयका नायक, पचास-पचासका नायक र दश-दशका नायक। 26तिनीहरूले हरसमय मानिसहरूका न्यायकर्ताका रूपमा सेवा गर्थे। गाह्रा-गाह्रा विषयहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर हरेक मामुली कुरा तिनीहरू आफैले इन्साफ गर्थे।
27तब मोशाले आफ्ना ससुरालाई बिदा गरे, र यित्रो आफ्नो देशको बाटो लागे।
अहिले सेलेक्ट गरिएको:
प्रस्थान 18: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012