प्रस्थान 18:14-19
प्रस्थान 18:14-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोशाले मानिसहरूका निम्ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्ति गरेको के काम हो? किन तिमी मात्र न्याय गर्न एकलै बसिरहन्छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि उभिरहन्छन्?” मोशाले आफ्ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्वरको इच्छा बुझ्न आउँछन्। तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्यसको भाइबन्धुको बीचमा म न्याय गरिदिन्छु, अनि म तिनीहरूलाई परमेश्वरका विधिविधानहरू बताइदिन्छु।” मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन। तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्नेछैनौ। मेरो कुरा सुन, म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमीचाहिँ परमेश्वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू।
प्रस्थान 18:14-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशाले मानिसहरूका लागि गरिरहेका सबै काम देखेपछि तिनका ससुराले भने, “तिमीले मानिसहरूका लागि यो के गरिरहेका छौ? यी मानिसहरू बिहानदेखि बेलुकीसम्म तिम्रो वरिपरि उभिरहन्छन्, तिमी एकलै मात्र किन न्यायकर्ता भएर बसिरहन्छौ?” मोशाले आफ्ना ससुरालाई भने, “किनकि मानिसहरू परमेश्वरको इच्छा खोज्न मकहाँ आउँछन्। जब तिनीहरूको बीचमा विवाद हुन्छ, तब त्यसलाई मकहाँ ल्याउँछन्, र मैले दुवै पक्षका बीचमा निर्णय गरेर तिनीहरूलाई परमेश्वरको उर्दी र उहाँका व्यवस्थाहरू बताइदिन्छु।” मोशाका ससुराले तिनलाई भने, “तिमीले जे गर्दैछौ, त्यो ठिक छैन। पक्कै पनि तिमी र तिमीसित हुने यी मानिसहरू एकदम थाक्नेछौ; यो काम तिम्रो निम्ति अति गाह्रो छ; र तिमी एकलैले यो गर्न सक्दैनौ। अब मेरो कुरा सुन, र म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमी परमेश्वरको सामु मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका विवादहरू उहाँकहाँ लैजाऊ।
प्रस्थान 18:14-19 पवित्र बाइबल (NERV)
मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एक्लै किन गरिरहेका छौ? तिमी एक्लै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?” तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्। यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।” तर मोशाका ससुराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन। एक्लो मानिसको निम्ति यो वेशी काम हो। तिमी एक्लै यी सबै कार्यहरू गर्न सक्तैनौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्। अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसँग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ।
प्रस्थान 18:14-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले गरेका सबै काम देखेर यित्रोले सोधे, “मानिसहरूको निम्ति तिमीले यति धेरै काम गरेको? किन तिमी एक्लै यी काम गर्छौ? मानिसहरूचाहिँ किन बिहानदेखि नै बेलुकासम्म यहाँ तिम्रो सल्लाह लिन कुरिरहन्छन्?” मोशाले उत्तर दिए, “मैले यसो गर्नैपर्छ किनभने मानिसहरू मकहाँ परमेश्वरको इच्छा बुझ्न आउँछन्। जब दुई जनाका बीचमा विवाद पर्छ, तिनीहरू मकहाँ आउँछन् र ती दुईमा को ठीक छ, मैले फैसला गरिदिनुपर्छ अनि म तिनीहरूलाई परमेश्वरका आज्ञा र विधिबारे बताउँदछु।” तब यित्रोले भने, “यो काम तिमीले ठीक तरिकाले गरेका छैनौ। यसरी गर्दा तिमी आफैं थाक्नेछौ र यी मानिसहरू पनि थाक्नेछन्। तिमी एक्लैलाई यो काम गाह्रो हुन्छ। म तिमीलाई केही राम्रो सल्लाह दिँदै छु अनि परमेश्वर तिमीसित रहनुहुनेछ। तिमीले मानिसहरूका प्रतिनिधि भएर तिनीहरूको झैँझगडा परमेश्वरको सामु पुर्याउनु ठीकै छ।