YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 18:13-22

प्रस्‍थान 18:13-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भोलिपल्‍ट मोशा मानिसहरूका निम्‍ति न्‍याय गर्नलाई बसे। मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्‍म मोशाको वरिपरि आए। मोशाले मानिसहरूका निम्‍ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्‍ति गरेको के काम हो? किन तिमी मात्र न्‍याय गर्न एकलै बसिरहन्‍छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्‍म तिम्रो वरिपरि उभिरहन्‍छन्‌?” मोशाले आफ्‍ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्‍वरको इच्‍छा बुझ्‍न आउँछन्‌। तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्‍यसको भाइबन्‍धुको बीचमा म न्‍याय गरिदिन्‍छु, अनि म तिनीहरूलाई परमेश्‍वरका विधिविधानहरू बताइदिन्‍छु।” मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन। तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्‍ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्‍नेछैनौ। मेरो कुरा सुन, म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्‌। तिमीचाहिँ परमेश्‍वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू। तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्‍य तिनीहरूलाई सिकाइदिनू। तर सबै मानिसहरूमध्‍येबाट परमेश्‍वरको भय मान्‍ने, योग्‍य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्‍यक्तिहरू होऊन्‌। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर। तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ता भएर सेवा गरून्‌। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्‍याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्‍साफ गरून्‌। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्‌नेछन्‌।

शेयर गर्नुहोस्
प्रस्‍थान 18 पढ्नुहोस्

प्रस्‍थान 18:13-22 पवित्र बाइबल (NERV)

अर्को दिन मोशाको मानिसहरूको न्याय गर्ने काम थियो। मानिसहरू दिनभरी नै मोशाकहाँ आए। मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एक्लै किन गरिरहेका छौ? तिमी एक्लै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?” तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्। यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।” तर मोशाका ससुराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन। एक्लो मानिसको निम्ति यो वेशी काम हो। तिमी एक्लै यी सबै कार्यहरू गर्न सक्तैनौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्। अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसँग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ। तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ। तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ। “जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ। यी अगुवाहरूले मानिसहरूलाई न्याय गरून्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य-भारहरू हल्का हुन्छ।

शेयर गर्नुहोस्
प्रस्‍थान 18 पढ्नुहोस्

प्रस्‍थान 18:13-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

भोलिपल्‍ट मोशाले मानिसहरूका बीचमा झगडाहरू मिलाउने काम गरे र बिहानदेखि बेलुकासम्‍म नै त्‍यस काममा लागिरहे। मोशाले गरेका सबै काम देखेर यित्रोले सोधे, “मानिसहरूको निम्‍ति तिमीले यति धेरै काम गरेको? किन तिमी एक्‍लै यी काम गर्छौ? मानिसहरूचाहिँ किन बिहानदेखि नै बेलुकासम्‍म यहाँ तिम्रो सल्‍लाह लिन कुरिरहन्‍छन्?” मोशाले उत्तर दिए, “मैले यसो गर्नैपर्छ किनभने मानिसहरू मकहाँ परमेश्‍वरको इच्‍छा बुझ्‍न आउँछन्। जब दुई जनाका बीचमा विवाद पर्छ, तिनीहरू मकहाँ आउँछन् र ती दुईमा को ठीक छ, मैले फैसला गरिदिनुपर्छ अनि म तिनीहरूलाई परमेश्‍वरका आज्ञा र विधिबारे बताउँदछु।” तब यित्रोले भने, “यो काम तिमीले ठीक तरिकाले गरेका छैनौ। यसरी गर्दा तिमी आफैं थाक्‍नेछौ र यी मानिसहरू पनि थाक्‍नेछन्। तिमी एक्‍लैलाई यो काम गाह्रो हुन्‍छ। म तिमीलाई केही राम्रो सल्‍लाह दिँदै छु अनि परमेश्‍वर तिमीसित रहनुहुनेछ। तिमीले मानिसहरूका प्रतिनिधि भएर तिनीहरूको झैँझगडा परमेश्‍वरको सामु पुर्‍याउनु ठीकै छ। तिमीले तिनीहरूलाई परमेश्‍वरका आज्ञा सिकाउनुपर्छ र तिनीहरूले कसरी आफ्‍ना जीवन बिताउनु र के काम गर्नुपर्छ, सो बताउनुपर्छ। त्‍यस बाहेक तिमीले केही योग्‍य पुरुषहरूलाई चुनेर मानिसहरूका अगुवा खटाउनुपर्छ। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश मानिसहरूमाथि अगुवा खटाउनुपर्छ। तिनीहरू परमेश्‍वरको डर मान्‍ने भरपर्दा र घुस नखाने मानिसहरू हुनुपर्छ। तिनीहरूले स्‍थायीरूपमा मानिसहरूका लागि न्‍यायाधीशका काम गरून्। तिनीहरूले सबै अप्‍ठ्यारा विषयहरू तिमीकहाँ ल्‍याउन सक्‍छन्; तर स-साना कुराहरू तिनीहरू आफैंले छिनोफानो गर्न सक्‍छन्। त्‍यसो गर्दा तिमीलाई केही सजिलो पर्नेछ किनभने तिनीहरूले पनि तिम्रो भार बाँड्‍नेछन्।

शेयर गर्नुहोस्
प्रस्‍थान 18 पढ्नुहोस्