प्रस्थान 14:1-12
प्रस्थान 14:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्। फारोले इस्राएलीहरूका विषयमा भन्नेछन्, ‘तिनीहरू त अलमल्ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्थानले तिनीहरूलाई थुनिदिएछ’। अनि म फारोको हृदय कठोर पार्नेछु र त्यसले इस्राएलीहरूलाई खेद्नेछ। तर फारो र त्यसको सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्।” तब इस्राएलीहरूले त्यसै गरे। जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्लियो। उनीहरूले भने, “यो हामीले के गर्यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!” अनि उनले आफ्नो रथ तयार गरेर आफ्नो सेनालाई साथमा लिए। उनले छ सय असल-असल रथहरू र मिश्रका अरू सारा रथहरू र ती सबैमाथिका अधिकृतहरू पनि लिए। अनि परमप्रभुले मिश्रका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र उनले साहससँग हिँड़िरहेका इस्राएलीहरूलाई खेदे। तब मिश्रीहरू, अर्थात् फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए। जब फारो बढ़ेर आए, तब इस्राएलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछिपछि आइरहेका देखे। इस्राएलीहरू साह्रै डराएर परमप्रभुलाई पुकारा गरे। तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहानहरू थिएनन्, र तपाईंले हामीलाई यस उजाड़-स्थानमा मर्नलाई ल्याउनुभयो? हामीलाई मिश्रबाट ल्याएर यो के गर्नुभयो? के मिश्रमा ‘हामीलाई मिश्रीहरूको सेवा गर्न छोड़िदिनुहोस्’ भनी हामीले तपाईंलाई भनेका थिएनौं र? उजाड़-स्थानमा मर्नुभन्दा त हामीलाई मिश्रीहरूकै सेवा गर्न असल हुने थियो।”
प्रस्थान 14:1-12 पवित्र बाइबल (NERV)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ। फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन। म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।” इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?” यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो। उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए। इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्यो। मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे। इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे। तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन तिमीले हामीलाई मरुभूमिमा मार्न ल्यायौं? हामीले मिश्रमा तिमीलाई भनेका थियौं, ‘यस्तो परी आउनेछ। मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न दिनुहोस। यसरी मरुभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”
प्रस्थान 14:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई फर्केर गई मिग्दोल र लाल समुद्रका बीचमा भएको बाल-सेफोनको नजिकको पी-हहीरोतको सामुन्ने पाल टाँग्नू भन्। तब मिश्रका राजाले इस्राएलीहरू यही देशमा डुलिरहेका छन् र मरुभूमिले तिनीहरूको बाटो थुनिदिएको छ भनी ठान्नेछ। म त्यसको मन कठोर गराउनेछु र त्यसले तिमीहरूलाई खेद्नेछ; तर त्यो र त्यसको सेनामाथि विजय गर्नेछु र मेरो महिमा हुनेछ। तब मिश्रीहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।” इस्राएलीहरूले त्यसै गरे। जब मिश्रका राजाकहाँ इस्राएलीहरू भागे भन्ने खबर पुग्यो, तब तिनले र तिनका भारदारहरूले आफ्नो मन फेरेर यसो भने, “हामीले के गर्यौं हँ? हामीले इस्राएलीहरूलाई भाग्न दियौं र हाम्रा दास-दासीहरू गुमायौं!” राजाले आफ्नो लडाइँका रथ र सेनालाई तयार पारे। तिनी आफ्ना सबैभन्दा असल ६०० रथहरू र तिनका कप्तानहरूसमेत र अरू सबै रथहरू लिएर तिनीहरूका पछि लागे। परमप्रभुले राजाको मन कठोर गराउनुभयो र तिनले इस्राएलीहरूलाई खेदे, जो विजयी बनेर अगाडि गइरहेका थिए। मिश्री सेनाले आफ्ना सबै घोडा, रथ र सारथीहरूसँग लिएर तिनीहरूलाई खेदे र लाल समुद्रछेउमा पी-हहीरोत र बाल-सेफोनको नजिकै टाँगेका पालमा तिनीहरूलाई भेटे। मिश्री राजा र सेनालाई आफूमाथि आइलागेका देखेर इस्राएलीहरू डराए र सहायताको निम्ति परमप्रभुलाई पुकारे। तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान थिएन र? तिमीले हामीलाई के यो उजाड मरुभूमिमा मर्नलाई ल्याउनुपर्थ्यो र? मिश्रबाट निकाली ल्याएर अब हामीलाई यो के गर्यौ? यस्तै हुन्छ भनी हामीले के अघिबाटै भनेका थिएनौं र? हामीलाई छोडिदेऊ र मिश्रीहरूका दासदासी नै रहन देऊ भनी हामीले तिमीलाई पहिले नै भनेका थियौं। यहाँ मरुभूमिमा मर्नुभन्दा त बरु त्यहाँ मिश्रमा दास-दासी भएर बस्नु नै असल हुन्थ्यो।”