YouVersion लोगो
खोज आइकन

एस्‍तर 8:4-8

एस्‍तर 8:4-8 पवित्र बाइबल (NERV)

अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्। र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्‌यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए। किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?” अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए। अब राजाको अधिकारद्वारा यहूदीहरूको सम्बन्धमा तिमीहरूलाई जे असललाग्छ, तिमीहरू त्यो लेख। त्यसपछि त्यसलाई राजाको औठी द्वारा लाल मोहर लगाई बन्द गर। अनि राजाको नाउँमा लेखेर राजाको औंठिद्वारा मोहर बन्द गरिएको आदेशलाई उल्टाउन सकिदैन।”

शेयर गर्नुहोस्
एस्‍तर 8 पढ्नुहोस्

एस्‍तर 8:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

राजाले तिनीतर्फ आफ्‍नो सुनको राजदण्‍ड पसारे र तिनी उभिइन् र भनिन्, “राजन्, हजुरको अनुमति भए अनि ममाथि निगाह हुन्‍छ र यो कुरा हजुरलाई उचित लाग्‍छ भने हामानले दिएको आज्ञापालन नगरियोस् भनी एउटा नयाँ उर्दी निकालियोस्। अगागको सन्‍तान हम्‍मदाताको छोरोले राज्‍यमा भएका सबै यहूदीहरूलाई मार्नू भनी दिएको आज्ञा रद्द गरी अर्को घोषणा-पत्र लेखियोस्। त्‍यो आपत-विपत मेरा जातिमा आइपर्‍यो र मेरा कुटुम्‍बहरू मारिए भने म कसरी सहन सकूँला र?” राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “हेर, यहूदीहरूका विरुद्धमा रचेका जालको निम्‍ति मैले हामानलाई झुन्‍ड्याएँ। त्‍यसका धन-सम्‍पत्ति मैले एस्‍तरलाई दिएँ। तर राजाको नाममा राजाकै छाप मोहोर लगाएर निकालिएको उर्दी रद्द गर्न सकिँदैन। तरै पनि तिमीहरू यहूदीहरूलाई जे चाहन्‍छौ, सो लेख्‍न सक्‍छौ। त्‍यो तिमीहरू मेरो नाममा लेख र त्‍यसमा मेरो राज-मोहोर लगाऊ।”

शेयर गर्नुहोस्
एस्‍तर 8 पढ्नुहोस्

एस्‍तर 8:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

राजाले एस्‍तरतिर सुनको राजदण्‍ड पसारे। तिनी उठिन्‌ र राजाको सामु खड़ा भएर उभिन्‌। एस्‍तरले भनिन्, “महाराजाको इच्‍छा भए, र यदि मैले हजूरको निगाह पाएकी छु भने, मैले दिन लागेको प्रस्‍ताव महाराजाले उचित सम्‍झिबक्‍सिए र मैले हजूरको स्‍वीकृति पाउन सके अगागी हम्‍मदाताको छोरा हामानले राजाका सबै प्रान्‍तहरूका यहूदीहरूलाई नाश गर्न योजना बनाएर लेखेका पत्रहरूलाई रद्द गर्न एउटा लिखित राजाज्ञा पठाइबक्‍सिओस्‌। किनभने मेरा जात-भाइहरूमाथि परेको विपत्ति म कसरी सहन सकुँला? अथवा मेरो परिवारको विनाश म कसरी सहन सकुँला?” राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “त्‍यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्‍न गरेको हुनाले मैले हामानको सम्‍पत्ति एस्‍तरलाई दिएको छु, र त्‍योचाहिँ फाँसीको काठमा झुण्‍ड्याइयो। अब यहूदीहरूका पक्षमा तिमीहरूलाई उचित लाग्‍ने एउटा अर्को राजउर्दी मेरो नाउँमा निकाल। त्‍यसमा राजकीय मोहोर लगाऊ, किनभने राजाको नाउँमा लेखिएको राजकीय मोहोर लगाइएको लिखित पत्र रद्द गर्न सकिँदैन।”

शेयर गर्नुहोस्
एस्‍तर 8 पढ्नुहोस्

एस्‍तर 8:4-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे; अनि उनी उठिन् र राजाको सामु उभिन्। एस्तरले भनिन्, “यदि राजालाई असल लाग्यो भने, र हजुरले ममाथि निगाह राख्नुहुन्छ, साथै यसो गर्नु उचित हो भन्‍ने लाग्यो भने, र हजुर मसित प्रसन्‍न हुनुहुन्छ भने अगागी हम्मदाताका छोरा हामानले राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नाश गर्ने षड्यन्त्र गरेर लेखेर पठाइएका पत्रहरूलाई रद्द गर्ने आदेश लेखियोस्। किनकि मेरा मानिसहरूमाथि विपत्ति आइपरेको म कसरी सहन सक्छु? म आफ्नो परिवारमा विनाश आइलागेको कसरी सहन सक्छु र?” राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हामानले यहूदीहरूमाथि आक्रमण गरेको कारण मैले त्यसको धनसम्पत्ति एस्तरलाई दिएको छु। त्यसलाई उसैले तयार गरेको फाँसीको काठमा झुण्ड्याइएको छ। अब राजाको नाममा यहूदीहरूको पक्षमा अर्को एउटा आदेश तिमीहरूलाई इच्छा लागेअनुसार लेख, र त्यसमा राजाको औँठी-छापको मोहर लगाइदेओ। किनकि राजाको नाममा लेखिएको र तिनको औँठी-छाप लगाएको कुनै पनि लिखित पत्र खारेज गर्न सकिँदैन।”

शेयर गर्नुहोस्
एस्‍तर 8 पढ्नुहोस्