YouVersion लोगो
खोज आइकन

एफिसी 5:5-18

एफिसी 5:5-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन। कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ। यसकारण तिनीहरूसँग सहभागी नहोओ, किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर, किनकि सबै भलाइ, धार्मिकता र सत्‍यतामा नै ज्‍योतिको फल पाइन्‍छ, र प्रभुलाई मन पर्ने के हो सो सिक्‍ने कोसिस गर। अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ। किनकि तिनीहरूले गुप्‍तमा गरेका कामहरूका विषयमा भन्‍नु पनि शर्मको कुरो हो। तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो। यसैले यस्‍तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।” यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ। दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:5-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि तिमीहरू यो निश्‍चित जान, कुनै व्यभिचारी, अशुद्ध व्यक्ति वा लोभी, यस्तो व्यक्ति मूर्तिपूजक हो; ख्रीष्‍ट र परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन। कसैले तिमीहरूलाई खोक्रो कुराहरूले धोका नदेओस्; किनकि यी कुराहरूकै कारण अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध आउँदछ। यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ! किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले तिमीहरू प्रभुमा ज्योति हौ। त्यसैले ज्योतिका सन्तानझैँ हिँड। किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ; अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज। अन्धकारका निष्फल कार्यहरूमा सहभागी नहोओ, बरु तिनीहरूलाई प्रकट गरिदेओ। अनाज्ञाकारीहरूले गुप्‍तमा जे गर्छन्, त्यो भन्‍नु पनि लज्जास्पद कुरा हो। तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ। त्यसकारण यस्तो भनिएको छ: “हे निदाउनेहरू, जाग र मरेकाहरूबाट बिउँझ; अनि ख्रीष्‍ट तिमीहरूमा चम्कनुहुनेछ।” यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्‌जस्तो होओ। सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्। यसकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के हो, सो बुझ। दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर होओ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:5-18 पवित्र बाइबल (NERV)

यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो। मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः “जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ, अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।” यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:5-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूलाई थाहा हुनैपर्छ व्‍यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्‍वर र ख्रीष्‍टको राज्‍यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्‍तै पाप हो। कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्‍तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्‍वरको रिस खनिन्‍छ। त्‍यसो हुँदा यस्‍ता मानिसहरूको सङ्गतै नगर। पहिले तिमीहरू नै अन्‍धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्‍यालोमा छौ। यसकारण तिमीहरू उज्‍यालोको योग्‍य मानिसजस्‍तै जिउने गर किनभने उज्‍यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्‍याय र सत्‍य हो। प्रभुलाई मनपर्ने कुरो के हो, बुझ। अन्‍धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्‍यो काम नराम्रो हो भनेर देखाइदेओ। यी मानिसले लुकेर गरेका कामहरूको बारेमा भन्‍न पनि लाज लाग्‍छ। जब कुनै कुरा उज्‍यालोको अघि ल्‍याइन्‍छ, तब तिनीहरूको साँचो रूप प्रकट हुँदछ र प्रकट भएका सबै कुरा ज्‍योतिमा खुल्‍ला हुन्‍छ। धर्मशास्‍त्रले भन्‍छ, “ए निदाउने उठ् र मरेकाबाट बिउँती अनि ख्रीष्‍ट तँमा चम्‍कनुहुनेछ।” त्‍यसकारण कस्‍तो चालचलन चल्‍नुपर्ने हो, राम्ररी ध्‍यान देओ, मूर्खजस्‍तो भएर होइन, बुद्धिमान् भएर हिंड। यी नराम्रा दिनहरूमा तिमीले पाएका सबै मौकाहरूको असल प्रयोग गर। त्‍यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्‍नुहुन्‍छ, सो पत्तो लगाओ। मद्यको नशामा बाँचेर जीवन नष्‍ट नगर तर पवित्र आत्‍माले भरिपूर होओ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्