एफिसी 5:28-32
एफिसी 5:28-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, किनभने हामी उहाँका शरीरको अङ्ग हौं। “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।” यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।
एफिसी 5:28-32 नेपाली समकालीन संस्करण (NCV)
यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैं प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैलाई प्रेम गर्दछ। कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्टले मण्डलीलाई गर्नुहुन्छ। किनकि हामी उहाँका शरीरका अङ्गहरू हौं। “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्ना पत्नीसँग जोडिरहनेछ, अनि ती दुई एउटै शरीर हुन्छन्।” यो एक अति गहन रहस्य हो, तर मैले ता ख्रीष्ट र मण्डलीबारे कुरा गरिरहेको छु।
एफिसी 5:28-32 पवित्र बाइबल (NERV)
अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ। अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। किनकि हामी उहाँको शरीरका अङ्ग हौं। धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।” यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ।
एफिसी 5:28-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
लोग्नेहरूले पनि आ-आफ्ना स्वास्नीहरूलाई प्रेम गर्नुपर्छ। उनीहरूले आफ्ना स्वास्नीहरूलाई आफ्नो शरीरलाई झैँ माया गर्नुपर्छ किनभने स्वास्नीलाई माया गर्नेले आफैंलाई माया गर्छ। कसैले पनि आफ्नो शरीरलाई हेला गर्दैन, तर यसको लालनपालन गर्दछ। त्यसरी नै ख्रीष्टले आफ्ना मण्डलीको लालनपालन गर्नुहुन्छ किनभने हामी उहाँकै शरीरका अङ्ग हौं। धर्मशास्त्रले भन्दछ, “यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्नेछ र स्वास्नीसँग मिल्नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।” यो ठूलो रहस्यको कुरो हो। यही कुरा ख्रीष्ट र मण्डलीको सम्बन्धमा पनि लागु हुन्छ।