YouVersion लोगो
खोज आइकन

एफिसी 5:1-21

एफिसी 5:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ। तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो। तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन। कुनै अश्‍लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌। किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन। कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ। यसकारण तिनीहरूसँग सहभागी नहोओ, किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर, किनकि सबै भलाइ, धार्मिकता र सत्‍यतामा नै ज्‍योतिको फल पाइन्‍छ, र प्रभुलाई मन पर्ने के हो सो सिक्‍ने कोसिस गर। अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ। किनकि तिनीहरूले गुप्‍तमा गरेका कामहरूका विषयमा भन्‍नु पनि शर्मको कुरो हो। तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो। यसैले यस्‍तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।” यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ। दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ। एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ। ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:1-21 नेपाली समकालीन संस्करण (NCV)

यसकारण प्रिय बालबालिकाहरूझैं परमेश्‍वरको अनुकरण गर्नेहरू होओ, अनि प्रेमको मार्गमा जिओ, जसरी ख्रीष्‍टले हामीहरूलाई प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो। तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता वा अशुद्धता वा लोभको नाउँसम्म आउनुहुँदैन, किनकि परमेश्‍वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित छैनन्। अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर, यो ठीक छैन, बरु परमेश्‍वरलाई धन्यवाद दिनेगर। किनकि तिमीहरू यो निश्‍चित जान, कुनै व्यभिचारी वा अशुद्ध व्यक्‍ति वा लोभी, यस्तो व्यक्‍ति मूर्तिपूजक हो र ख्रीष्‍ट र परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन। कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदेओस्, किनकि यिनै कुराहरूका कारण परमेश्‍वरको क्रोध अनाज्ञाकारीहरूमाथि आउँदछ। यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ। किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले प्रभुमा ज्योति भएका छौ। त्यसैले ज्योतिका सन्तानझैं जिओ। किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ, अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज। अन्धकारका निष्फल कार्यहरूसँग सहभागी नबन, बरु तिनीहरूलाई प्रकट गरिदेओ। अनाज्ञाकारीहरूले गुप्‍तमा जे गर्छन्, त्यो भन्‍नु पनि लज्जास्पद कुरो हो। तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ। त्यसकारण यस्तो भनिएको छ: “हे सुतेकाहरू, जाग र मरेकाहरूबाट उठ, अनि ख्रीष्‍ट तिमीहरूमा चम्कनुहुनेछ।” यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होऊ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान् जस्तो होऊ। सबै अवसरको पूरा सदुपयोग गर, किनकि दिनहरू खराब छन्। यसकारण मूर्ख नबन, तर प्रभुको इच्छा के हो सो बुझ। दाखमद्यले नमात्तिओ, किनभने यसले तिम्रो जीवन बर्बाद गर्छ। बरु पवित्र आत्माले भरिपूर्ण होओ। भजन, स्तुतिगान र आत्मिकी गीतहरूमा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा, सधैं सबै कुराको निम्ति परमेश्‍वर पितालाई धन्यवाद चढाओ। ख्रीष्‍टको श्रद्धाको लागि एक-अर्काको अधीनतामा बस।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:1-21 पवित्र बाइबल (NERV)

तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर। प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो। तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन। तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो। मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः “जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ, अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।” यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ। एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरू परमेश्‍वरका प्‍यारा सन्‍तान भएकोले उहाँजस्‍तै हुन खोज। ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर मीठो बास्‍ना आउने धूप र बलिझैँ आफैंलाई परमेश्‍वरकहाँ चढाउनुभयो। त्‍यसै गरी तिमीहरूको जीवन पनि प्रेमको अधीनमा होस्। ख्रीष्‍टका पवित्र जनहरू भएकोले तिमीहरूको माझमा व्‍यभिचार, लोभ, लालच र सबै किसिमका अशुद्ध कुराको नाउँ पनि उठ्‍नुहुँदैन। अश्‍लील, मूर्ख र खराब वचनहरू तिमीहरूको मुखमा सुहाउँदैन। तर तिमीहरूले त परमेश्‍वरलाई धन्‍यवाद दिइरहनुपर्छ। तिमीहरूलाई थाहा हुनैपर्छ व्‍यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्‍वर र ख्रीष्‍टको राज्‍यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्‍तै पाप हो। कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्‍तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्‍वरको रिस खनिन्‍छ। त्‍यसो हुँदा यस्‍ता मानिसहरूको सङ्गतै नगर। पहिले तिमीहरू नै अन्‍धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्‍यालोमा छौ। यसकारण तिमीहरू उज्‍यालोको योग्‍य मानिसजस्‍तै जिउने गर किनभने उज्‍यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्‍याय र सत्‍य हो। प्रभुलाई मनपर्ने कुरो के हो, बुझ। अन्‍धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्‍यो काम नराम्रो हो भनेर देखाइदेओ। यी मानिसले लुकेर गरेका कामहरूको बारेमा भन्‍न पनि लाज लाग्‍छ। जब कुनै कुरा उज्‍यालोको अघि ल्‍याइन्‍छ, तब तिनीहरूको साँचो रूप प्रकट हुँदछ र प्रकट भएका सबै कुरा ज्‍योतिमा खुल्‍ला हुन्‍छ। धर्मशास्‍त्रले भन्‍छ, “ए निदाउने उठ् र मरेकाबाट बिउँती अनि ख्रीष्‍ट तँमा चम्‍कनुहुनेछ।” त्‍यसकारण कस्‍तो चालचलन चल्‍नुपर्ने हो, राम्ररी ध्‍यान देओ, मूर्खजस्‍तो भएर होइन, बुद्धिमान् भएर हिंड। यी नराम्रा दिनहरूमा तिमीले पाएका सबै मौकाहरूको असल प्रयोग गर। त्‍यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्‍नुहुन्‍छ, सो पत्तो लगाओ। मद्यको नशामा बाँचेर जीवन नष्‍ट नगर तर पवित्र आत्‍माले भरिपूर होओ। एक-अर्कासँग स्‍तुति, भजन र पवित्र आत्‍माले दिएका गीत गाउने गर र प्रभुलाई आफ्‍नो हृदयका मीठा गीतहरूले स्‍तुति गर। हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा परमेश्‍वर पितालाई सबै कुरामा सधैँ धन्‍यवाद दिने गर। ख्रीष्‍टप्रतिको श्रद्धाको कारणले एक-अर्काको अधीनमा रहने गर।

शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्

एफिसी 5:1-21

एफिसी 5:1-21 NNRVएफिसी 5:1-21 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्