एफिसी 4:7-14
एफिसी 4:7-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ: “उहाँ उच्चमा चढ़िजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।” (अब यो “उच्चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।) अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं।
एफिसी 4:7-14 नेपाली समकालीन संस्करण (NCV)
तर हामीहरू प्रत्येकलाई ख्रीष्टको नापअनुसार अनुग्रह दिएको छ। यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।” (“उहाँ उच्चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो कि, उहाँ पृथ्वीको तल्लो भागसम्म पनि ओर्लनुभयो। उहाँ जो ओर्लनुभयो, सबै स्वर्गहरूभन्दा माथि उक्लनु पनि भयो, ताकि सारा जगतमा उहाँको उपस्थिति रहोस्।) यसरी ख्रीष्टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो सेवाको कामको लागि परमेश्वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्टको शरीरको निर्माण हुन सकोस्, जबसम्म हामी सबै परमेश्वरका पुत्रको ज्ञानमा र विश्वासमा एकता प्राप्त गर्दैनौं र ख्रीष्टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौं। तब हामी छालहरूले अघि र पछि हुत्याइएका, विभिन्न सिद्धान्तहरूको हर बतास र छालहरूले यताउति पार्दै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौं।
एफिसी 4:7-14 पवित्र बाइबल (NERV)
ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। त्यसैले शास्त्रमा यस्तो भनिएको छ, “उहाँ माथि आकाशमा जानुभयो, आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो, अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।” “उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो। अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ। तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्।
एफिसी 4:7-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर अनुग्रहको वरदानचाहिँ हामी हरेकलाई ख्रीष्टले नै खटाएर दिनुभएको छ। धर्मशास्त्रले भन्छ, “उहाँ माथि स्वर्ग उक्लनुहुँदा उहाँले धेरै कैदीहरूलाई आफूसँग लैजानुभयो अनि मानिसहरूलाई उपहार दिनुभयो।” उहाँ माथि उक्लनुभयो भनेको के हो? यसले उहाँ यस धरातल र अझ तल ओर्लनुभयो भन्ने बुझाउँछ। तल पृथ्वीमा ओर्लनुहुने नै सारा जगत्लाई आफैंले भरपूर पार्न सबैभन्दा माथि, स्वर्गभन्दा पनि माथि उक्लनुभयो। उहाँले नै कसैलाई आफ्नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो। ख्रीष्टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्ने बनाउन र उहाँको शरीर मण्डलीको उन्नति गर्नलाई यो नियुक्ती दिनुभयो। यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्वासको एकतामा ल्याउन र परमेश्वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्छन् र एक दिन हामी परिपक्व बन्नेछौं र ख्रीष्टकै भरिपूर्णताको मात्रामा पुग्नेछौं। तब हामी स-साना केटा-केटीजस्ता धूर्त मानिसका विभिन्न शिक्षाका बतासले जता हुर्र्यायो, उतै जादैनौं। तिनीहरूले निकालेका ठग विद्याले अरूलाई कुबाटोमा लैजान्छ।