एफिसी 4:1-24
एफिसी 4:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ— एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ: “उहाँ उच्चमा चढ़िजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।” (अब यो “उच्चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।) अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं। बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ। अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु, कि अन्यजातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिओ। तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्। तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। र आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।
एफिसी 4:1-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु। पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर। एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, एउटै परमेश्वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। तर हामीहरू प्रत्येकलाई ख्रीष्टको नापअनुसार अनुग्रह दिएको छ। यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो; अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।” (“उहाँ उच्चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो, उहाँ पृथ्वीको तल्लो भागमा पनि ओर्लनुभयो। जो ओर्लनुभयो, उहाँ उही हुनुहुन्छ, उहाँ सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो, ताकि सारा जगत्मा उहाँको उपस्थिति रहोस्।) यसरी ख्रीष्टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो सेवाको कामको लागि परमेश्वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्टको शरीरको निर्माण हुन सकोस्; जबसम्म हामी सबै परमेश्वरका पुत्रको ज्ञानमा र विश्वासमा एकता प्राप्त गर्दैनौँ र ख्रीष्टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौँ। तब हामी छालहरूले अगि र पछि हुत्याइएका, विभिन्न सिद्धान्तहरूको हरेक बतास र छालहरूले यताउति हुत्त्याइँदै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौँ। बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्टमा, जो शिर हुनुहुन्छ, हामी हरेक प्रकारले परिपक्वतामा बढ्दै जानेछौँ। उहाँबाट नै सारा शरीर जोडिएको र हरेक जोर्नीहरू गाँसिएको हुन्छ; अनि शरीरका हरेक अङ्गले आफ्नो काम गरेअनुसार प्रेममा आफैँ वृद्धि गर्दै र निर्माण हुँदैजान्छ। यसकारण म तिमीहरूलाई यो भन्दछु, र प्रभुको नाममा यो जोड दिँदछु, तिमीहरू अब उसो गैरयहूदीहरूझैँ तिनीहरूका विचारको व्यर्थतामा नजिओ। तिनीहरूका समझ अन्धकारले भरिएका, र तिनीहरूका हृदयका कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्वरमा पाइने जीवनदेखि अलग भएका छन्। तिनीहरूको मन लाटिएको छ, र सबै किसिमका अशुद्ध काम गर्नका निम्ति तिनीहरू हरेक प्रकारका अशुद्धता र लोभमा परेका छन्। तथापि तिमीहरूले ख्रीष्टको विषयमा यस्तो शिक्षा सिकेका थिएनौ; यदि तिमीहरूले ख्रीष्टको बारेमा सुनेका छौ र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूलाई उहाँमा सिकाइएको छ भने, तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ; आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ; अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनलाई सृष्टि गरिएको छ।
एफिसी 4:1-24 पवित्र बाइबल (NERV)
म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ। ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। त्यसैले शास्त्रमा यस्तो भनिएको छ, “उहाँ माथि आकाशमा जानुभयो, आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो, अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।” “उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो। अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ। तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्। तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं। सम्पूर्ण शरीर ख्रीष्टद्वारा गाँसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ। म यो भन्छु र प्रभुको सम्बन्धमा चेतावनी दिन्छुः परमेश्वरलाई नचिन्नेहरू जस्तो भएर नबस। तिनीहरूका विचार निकम्मा हुन्छन्। ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन। लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन्। हर प्रकारको नीच काम गर्न ती सधैँ तम्सन्छन्। तर तिमीहरूले सिकेको ख्रीष्टको कुरा त्यस्तो होइन। म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्। तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोड्न सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ। तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।
एफिसी 4:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म प्रभुको कैदी तिमीहरूसँग बिन्ती गर्दछु परमेश्वरले तिमीहरूलाई बोलाउनुभएकोले जुन चालचलन तिमीहरूमा हुनुपर्ने हो, त्यो तिमीहरूमा होस्। सधैँभरि नम्र, सोझो र सहनशील होओ। एक-अर्कालाई सहेर प्रेम देखाओ। पवित्र आत्माले नै तिमीहरूलाई मेलमिलापमा ल्याउनुभएको हो। त्यस एकतालाई सकेसम्म जोगाइराख। परमेश्वरले तिमीहरूलाई दिनुभएको आशा एउटै भएजस्तै शरीर पनि एउटा हो अनि पवित्र आत्मा पनि एउटै हुनुहुन्छ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। सबैका पिता परमेश्वर एउटै हुनुहुन्छ। उहाँ नै सबैका प्रभु हुनुहुन्छ। सबै काम गर्ने उहाँ नै हुनुहुन्छ र उहाँ सबैमा हुनुहुन्छ। तर अनुग्रहको वरदानचाहिँ हामी हरेकलाई ख्रीष्टले नै खटाएर दिनुभएको छ। धर्मशास्त्रले भन्छ, “उहाँ माथि स्वर्ग उक्लनुहुँदा उहाँले धेरै कैदीहरूलाई आफूसँग लैजानुभयो अनि मानिसहरूलाई उपहार दिनुभयो।” उहाँ माथि उक्लनुभयो भनेको के हो? यसले उहाँ यस धरातल र अझ तल ओर्लनुभयो भन्ने बुझाउँछ। तल पृथ्वीमा ओर्लनुहुने नै सारा जगत्लाई आफैंले भरपूर पार्न सबैभन्दा माथि, स्वर्गभन्दा पनि माथि उक्लनुभयो। उहाँले नै कसैलाई आफ्नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो। ख्रीष्टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्ने बनाउन र उहाँको शरीर मण्डलीको उन्नति गर्नलाई यो नियुक्ती दिनुभयो। यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्वासको एकतामा ल्याउन र परमेश्वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्छन् र एक दिन हामी परिपक्व बन्नेछौं र ख्रीष्टकै भरिपूर्णताको मात्रामा पुग्नेछौं। तब हामी स-साना केटा-केटीजस्ता धूर्त मानिसका विभिन्न शिक्षाका बतासले जता हुर्र्यायो, उतै जादैनौं। तिनीहरूले निकालेका ठग विद्याले अरूलाई कुबाटोमा लैजान्छ। प्रेमसँग सत्य बोलेर सबै कुरामा हाम्रो शिर ख्रीष्टजस्तै हामी बढ्दै जाऔं। उहाँकै अधीनमा सबै बेग्लाबेग्लै अङ्गहरू मिलेर रहेका छन् र पूरै शरीर ठीक-ठीक ठाउँमा जोडिएर बसेको छ। एक-एक अङ्गले आफूले गर्नुपर्ने काम गर्यो भने पूरै शरीर प्रेममा बढ्दै विकसित हुन्छ। यसकारण म प्रभुको नाउँमा शिक्षा दिंदै भन्छु, अब तिमीहरूका चालचलन परमेश्वरलाई नै नचिन्नेहरूको जस्तो नहोस्। उनीहरूका विचार त काम नलाग्नेछन्। उनीहरूको हृदय अन्धकारले ढाकेको छ। उनीहरू परमेश्वरले दिनुहुने जीवनदेखि टाढा छन् किनभने तिनीहरूको हृदय केही नजान्ने र हठी छ। उनीहरूको लाजै पचिसकेको छ र कुआदतमा लागेर हरकिसिमका अशुद्ध काममा जीवन अर्पेका छन्। तर तिमीहरूले त ख्रीष्टको शिक्षाबाट यस्तो कुरा सिकेनौ। साँच्चै तिमीहरूले उहाँको शिक्षा सुनेर उहाँका चेला भएकोले येशूको सत्यलाई सिक्यौ। पहिलेका आचरणहरूमा बाँच्ने तिमीहरूको पुरानो जीवन त्यागिदेओ। त्यही पुरानो जीवन, जुनचाहिँ तिमीहरूका कुइच्छाहरूको कारणले नष्ट भइरहेथ्यो। तिमीहरूका मन र आत्मा पूरा नयाँ होस्। नयाँ मानिस परमेश्वरकै स्वरूपमा सिर्जिएको हो अनि यसले परमेश्वरको अघि ठीक र पवित्र रहेको साँचो जीवन देखाउँछ। यही नयाँ स्वभावलाई अपनाओ।