YouVersion लोगो
खोज आइकन

एफिसी 3:1-21

एफिसी 3:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसैकारण म पावल, तिमी अन्‍यजातिहरूका पक्षमा ख्रीष्‍ट येशूको कैदी— तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ। जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्‍य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ। जब तिमीहरू यो पढ्‌छौ, ख्रीष्‍टको रहस्‍यबारे मेरो आन्‍तरिक समझ के छ, सो तिमीहरू बुझ्‍न सक्‍छौ। जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्‍माद्वारा अहिले प्रकट भएको छ, त्‍यो अरू पुस्‍ताका मानिसहरूलाई जनाइएको थिएन, अर्थात्‌ सुसमाचारद्वारा नै अन्‍यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्‍ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्‌। उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्‍वरको त्‍यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ। सबै सन्‍तहरूमा म अत्‍यन्‍त तुच्‍छ भए तापनि ख्रीष्‍टको अगम्‍य सम्‍पत्तिको सुसमाचार अन्‍यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो। सबै कुरा सृजनुहुने परमेश्‍वरमा युग-युगदेखि लुप्‍त रहेका रहस्‍यको योजना के हो, सो सबै मानिसलाई खुलस्‍त गराउने अनुग्रह मलाई दिइयो, ताकि यसरी मण्‍डलीद्वारा परमेश्‍वरका विभिन्‍न किसिमका ज्ञान स्‍वर्गीय स्‍थानहरूमा शासकहरू र अख्‍तियारवालाहरूका माझमा प्रकट गरिओस्‌। योचाहिँ ख्रीष्‍ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्‍त उद्देश्‍यअनुसार थियो। उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्‍वरमा प्रवेश पाउँछौं। यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्‍ति मैले भोगिरहेको कष्‍टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्‌। यसैकारण म पिताको सामने आफ्‍ना घुँड़ा टेक्‍तछु, जसद्वारा स्‍वर्ग र पृथ्‍वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ। म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्, र विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर, सबै सन्‍तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न सक, र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ। उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्‍दा ज्‍यादै प्रशस्‍त मात्रामा गर्न सक्‍नुहुन्‍छ, उहाँलाई नै पुस्‍ता-पुस्‍तासम्‍म मण्‍डली र ख्रीष्‍ट येशूमा सदासर्वदा महिमा होस्‌। आमेन।

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्

एफिसी 3:1-21 नेपाली समकालीन संस्करण (NCV)

यसैकारण म पावल, ख्रीष्‍ट येशूको कैदी, तिमी गैरयहूदीहरूका निम्ति, तिमीहरूकै निम्ति मलाई परमेश्‍वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा निश्‍चय नै सुनेका छौ होला कि, मलाई प्रकाशद्वारा त्यो रहस्य प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु। तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्‍टको रहस्यबारे मेरो अन्तर्दृष्‍टि बुझ्नेछौ। जुन कुरो अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्‍वरका पवित्र प्रेरितहरू र अगमवक्‍ताहरूलाई आत्माद्वारा प्रकट भएको छ। यो रहस्य के हो भने, सुसमाचारमा विश्‍वासद्वारा गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्। परमेश्‍वरको शक्‍तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ। यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्‍ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो। अनि सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरले युगौंयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो। स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्‍वरबारे धेरै ज्ञानहरू अब मण्डलीद्वारा प्रकट होस् भन्‍ने उहाँको अभिप्राय थियो। जुनचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो। उहाँमा, अनि उहाँमा राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौं। यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूको निम्ति भोगिरहेको कष्‍टको कारण निरुत्साहित नहोओ, ती त तिमीहरूका गौरव हुन्। यसैकारण म पिताको सामुन्‍ने घुँडा टेक्दछु, जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाउँ राखिएको छ। म यो प्रार्थना गर्दछु, कि उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्‍तिद्वारा बलवान् बनाऊन्; ताकि ख्रीष्‍ट तिमीहरूको हृदयमा विश्‍वासद्वारा वास गरून्। अनि म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरू प्रेममा जरा गाडेका र स्थापित भएका होओ कि, प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्‍ति पाउन सक, अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक। अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्‍तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ, उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्तौं-पुस्तौसम्म, सदा-सर्वदाको लागि महिमा होस्! आमेन!

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्

एफिसी 3:1-21 पवित्र बाइबल (NERV)

यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ। अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ। परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु। अनि मैले लेखेका ती कुराहरू पढ्यौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ। अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ। गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्। परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ। परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ। अनि परमेश्वरले मलाई उहाँको गुप्त सत्यताको योजना बारे सबै मानिसलाई भनि दिने काम दिनुभयो, त्यो सत्यता आदि कालदेखि नै उहाँमा लुकेको थियो। उहाँनै परमेश्वर हुनुहुन्छ जसले सब कुरा सृष्टि गर्नु भयो। उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानुन्। युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो। ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं। यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ। यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु। स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्। म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ। परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्

एफिसी 3:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्‍टको काम गर्दा म पावल कैदी भएको छु। तिमीहरूकै लागि मैले परमेश्‍वरको अनुग्रहको काम गर्ने भार पाएको छु भन्‍ने कुरा तिमीहरूले साँच्‍चै सुनेका छौ। परमेश्‍वरले आफ्‍ना भित्री योजना खोलिदिएर मलाई प्रकट गर्नुभयो। यसै बारेमा मैले तिमीहरूलाई पहिले नै संक्षेपमा लेखिसकेको छु। मैले लेखेको कुरा पढ्यौ भने मैले ख्रीष्‍टका रहस्‍य कति बुझेको रहेछु तिमीहरूलाई थाहा हुनेछ। पहिले यो रहस्‍य अरू कुनै मानिसलाई थाहा दिएको थिएन तर अहिले यो रहस्‍य आत्‍माद्वारा आफ्‍ना पवित्र प्रेरित र अगमवक्ताहरूलाई परमेश्‍वरले प्रकट गरिदिनुभएको छ। त्‍यो रहस्‍यचाहिँ यही हो, अरू जातिका मानिसले पनि सुसमाचारद्वारा इस्राएलीले जस्‍तै परमेश्‍वरको आशिष्‌हरू पाउन सक्‍छन्। अरू जातिका मानिस पनि एउटै शरीरका अङ्ग हुन् र ख्रीष्‍ट येशूमा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको भागिदार भएका छन्। उहाँको विशेष वरदानद्वारा नै सुसमाचारको काम गर्ने सेवक म बनें, यो वरदान उहाँले आफ्‍नो शक्तिको कामबाट नै मलाई दिनुभयो। ख्रीष्‍टका पवित्र जनहरूमध्‍ये म सबभन्दा तुच्‍छ भए पनि ख्रीष्‍टको असीम सम्‍पत्ति सुसमाचार अरू जातिका मानिसलाई सुनाउने वरदान परमेश्‍वरले मलाई नै दिनुभयो। परमेश्‍वरको रहस्‍यमय योजनाले कसरी काम गर्छ, त्‍यो सबै मानिसलाई बताउने काम मैले पाएको छु। सबै थोक रचना गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले आफ्‍ना गुप्‍त कुराहरू बितेका सारा युगहरूमा लुकाइराख्‍नुभयो। वर्तमान कालमा मण्‍डलीद्वारा आकाशका देवी-देवताहरू र शासकहरूले परमेश्‍वरका बहुमुखी ज्ञान थाहा पाऊन् भन्‍ने उद्देश्‍यले ती रहस्‍य प्रकट गरिएका थिएनन्। परमेश्‍वरले यी सबै आफ्‍नो अनन्‍त योजनामा गर्नुभएको हो अनि यो हाम्रा प्रभु ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभयो। ख्रीष्‍टमा रहेर अनि उहाँमा विश्‍वास राखेर नै हामीले परमेश्‍वरकहाँ आउन साहस र भरोसा पाएका छौं। यसैकारण मेरो बिन्‍ती छ, तिमीहरूका लागि मैले भोगेको कष्‍ट देखेर हरेस नखाओ। यो त तिमीहरूकै निम्‍ति लाभदायक कुरो हो। त्‍यसैकारण म परमेश्‍वर पिताका पाउमा परेर प्रार्थना चढाउँछु। स्‍वर्ग र पृथ्‍वीका सबै परिवार पिताकै नाउँमा रहेका छन्। उहाँको महान् सम्‍पत्ति र उहाँकै आत्‍माबाट तिमीहरूलाई शक्ति मिलोस् र त्‍यो शक्तिले तिमीहरूलाई भित्री जीवनमा बलियो बनाओस् भनी परमेश्‍वरलाई म प्रार्थना गर्दछु। तिमीहरूले विश्‍वास गर अनि ख्रीष्‍टले तिमीहरूको हृदयमा बास गरिरहून् भनी म प्रार्थना गर्छु। तिमीहरूले हाल्‍ने जरा र तिमीहरूको जग प्रेम नै होस् भन्‍ने म प्रार्थना गर्दछु। त्‍यसो हुँदा तिमीहरू पनि ख्रीष्‍टका पवित्र जनहरूसँगै ख्रीष्‍टको प्रेमको लम्‍बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्‍न सक्‍नेछौ। सबै ज्ञानबुद्धिले खोज्न नसक्‍ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्‍वरको भरिपूर्णता तिमीहरूमा भरिओस्। हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्‍नुहुने उनै परमेश्‍वरलाई मण्‍डली र येशू ख्रीष्‍टमा सबै युग सबै समय र सधैँभरि प्रशंसा होस्। आमेन।

शेयर गर्नुहोस्
एफिसी 3 पढ्नुहोस्