एफिसी 2:11-22
एफिसी 2:11-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्दथे। याद राख, तिमीहरू त्यस बेला ख्रीष्टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौ। तर तिमीहरू, जो त्यस बेला ख्रीष्ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्टको रगतले नजिक भएका छौ। किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ। र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून्, र यसरी शान्ति स्थापना होस्। अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो, किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिताकहाँ प्रवेश पाएका छौं। यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ। उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ। अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।
एफिसी 2:11-22 नेपाली समकालीन संस्करण (NCV)
यसकारण याद राख, अघिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भन्छन् याद राख, त्यस बेला तिमीहरू ख्रीष्टदेखि अलग, इस्राएलको नागरिक हकबाट वञ्चित थियौ, र प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्वरविनाका थियौ। तर तिमीहरू, जो ख्रीष्ट येशूमा अघि एक समय टाढा थियौ, अहिले ख्रीष्टको रगतद्वारा नजिक ल्याइएका छौ। किनकि उहाँ स्वयम् नै हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ, र दुवैलाई एउटै बनाउनुभएको छ। उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञाहरू र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो। अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो। उहाँ आउनुभयो, र तिमी टाढा भएकाहरू र नजिक भएकाहरू दुवैलाई शान्तिको सन्देश प्रचार गर्नुभयो। किनकि ख्रीष्टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौं। फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ; जुन घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ, र जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफै हुनुहुन्छ। उहाँमा नै पूरै भवन एकसाथ जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर हुनालाई बढ्दै जान्छ। अनि उहाँमा तिमीहरू पनि वासस्थान हुनालाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्वर आफ्नो आत्माद्वारा वास गर्नुहुन्छ।
एफिसी 2:11-22 पवित्र बाइबल (NERV)
तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ। याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ। हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो। यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुइ अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो। क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो। ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए। हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो। यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ। अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।
एफिसी 2:11-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक समय तिमीहरू कस्ता थियौ, सम्झ। शरीरको अङ्गमा हातद्वारा खतना लाउने इस्राएलीहरूले आफैंलाई शरीरमा खतना लाएका र तिमीहरूलाई खतना नलाउने अरू जातिका मानिस भन्छन्। त्यस बेला तिमीहरू ख्रीष्टदेखि अलग्गै थियौ। तिमीहरू परमेश्वरका छानिएका जाति इस्राएलसँग सम्बन्ध नै नभएको विदेशी थियौ। परमेश्वरले प्रतिज्ञाहरू गरेर जोड्नुभएको करारमा तिमीहरूको कुनै स्थान थिएन अनि संसारमा तिमीहरू बिनाआशा र बिनापरमेश्वर थियौ। हामीलाई मेल गराउने नै ख्रीष्ट हुनुहुन्छ किनभने उहाँले नै आफ्नो रगत बगाएर इस्राएली र अरू जातिका मानिसलाई परमेश्वरको छेउमा ल्याउनुभयो। आफ्नो शरीर दिएर उहाँले हामीलाई छुट्याउने दुश्मनीको पर्खाल भत्काउनुभयो। उहाँले इस्राएली र अरू जातिका मानिसलाई मिलाउन र उहाँमा नयाँ जाति बनाउन उहाँकै आफ्नो शरीरमा व्यवस्था र यसका रीतिथितिलाई खारेज गर्नुभयो। दुश्मनी नाश गर्न र एउटै जाति बनाएर परमेश्वरसँग मेल गराउन उहाँ क्रूसमा बलि हुनुभयो। उहाँले आएर इस्राएली र अरू जाति अर्थात् परमेश्वरको नजिक र टाढा हुने दुवैलाई मेलमिलाप गराउन सुसमाचार सुनाउनुभयो। उहाँले गर्दा नै हामी दुवै थरी अर्थात् यहूदी र अन्यजाति एउटै पवित्र आत्मा पाएर परमेश्वर पिताको सामु जान सक्ने भएका छौं। यसकारण तिमीहरू अब विदेशी र बिराना होइनौ, तिमीहरू अब परमेश्वरको जातिसँग सह-नागरिक बनेका छौ र परमेश्वरका परिवारका सदस्यहरू बनेका छौ। प्रेरित र अगमवक्ताहरूले हालेका जगमा बनिएका घर तिमीहरू पनि हौ। जगको मूल ढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ। उहाँले नै सिङ्गै घरलाई पक्रेर राख्नुभएको छ र उहाँले यस घरलाई प्रभुप्रति समर्पण गरिएको एक पवित्र मन्दिर बनाउनुहुनेछ। तिमीहरू पनि उहाँमा अरू सबैसँगै त्यो घर बन्दै छौ, जहाँ परमेश्वर आत्मामा बास गर्नुहुनेछ।