यसकारण याद राख, अघिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भन्छन् याद राख, त्यस बेला तिमीहरू ख्रीष्टदेखि अलग, इस्राएलको नागरिक हकबाट वञ्चित थियौ, र प्रतिज्ञाका करारहरूबाट बिरानो, आशा नभएका र यस संसारमा परमेश्वरविनाका थियौ। तर तिमीहरू, जो ख्रीष्ट येशूमा अघि एक समय टाढा थियौ, अहिले ख्रीष्टको रगतद्वारा नजिक ल्याइएका छौ। किनकि उहाँ स्वयम् नै हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ, र दुवैलाई एउटै बनाउनुभएको छ। उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञाहरू र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो। अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो। उहाँ आउनुभयो, र तिमी टाढा भएकाहरू र नजिक भएकाहरू दुवैलाई शान्तिको सन्देश प्रचार गर्नुभयो। किनकि ख्रीष्टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौं। फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ; जुन घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ, र जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफै हुनुहुन्छ। उहाँमा नै पूरै भवन एकसाथ जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर हुनालाई बढ्दै जान्छ। अनि उहाँमा तिमीहरू पनि वासस्थान हुनालाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्वर आफ्नो आत्माद्वारा वास गर्नुहुन्छ।
एफिसी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 2:11-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू