YouVersion लोगो
खोज आइकन

एफिसी 1:3-14

एफिसी 1:3-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्‍ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्‍नो महिमामय अनुग्रहको प्रशंसा होस्‌। उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, जुन अनुग्रह उहाँले हामीलाई प्रशस्‍त मात्रामा दिनुभयो। किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनमा आऊन्‌। उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार हामी ख्रीष्‍टमा पहिलेदेखि आशा राख्‍नेहरूलाई उहाँले आफ्‍नो महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ। तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो। परमेश्‍वरको आफ्‍नो सम्‍पत्ति, अर्थात्‌ हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्‍म उहाँका महिमाको प्रशंसाको निम्‍ति पवित्र आत्‍मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
एफिसी 1 पढ्नुहोस्

एफिसी 1:3-14 नेपाली समकालीन संस्करण (NCV)

हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्‍टमा हरेक आत्मिक आशिषले स्वर्गीय स्थानहरूमा आशिष दिनुभएको छ। किनकि उहाँको दृष्‍टिमा हामी पवित्र र निष्खोट हुन सकौं भनेर उहाँले प्रेममा हामीलाई संसारको सृष्‍टिपूर्व नै ख्रीष्‍टमा चुन्‍नुभयो। उहाँले हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार येशू ख्रीष्‍टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो, ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैंमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्। परमेश्‍वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्‍टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौं। परमेश्‍वरले आफ्ना सम्पूर्ण बुद्धि र समझशक्‍तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो। उहाँले आफ्नो इच्छाको रहस्य, जुन ख्रीष्‍टमा राख्नुभएको थियो, आफ्नो असल खुशीअनुसार, हामीलाई प्रकट गर्नुभएको छ, ताकि जब समयहरूको पूर्णता हुन्छ, स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनताको एकतामा ल्याइनेछन्। उहाँकै योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्‍नुभएको छ, जसले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ कि, हामी जसले ख्रीष्‍टमा पहिल्यै आशा राखेका हौं, उहाँको महिमाको प्रशंसाको कारण बन्‍नसकौं। जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्‍तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्‍टमा समावेश भयौ। जब तिमीहरूले विश्‍वास गर्‍यौ, तब प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा उहाँमा नै तिमीहरूलाई छाप लगाइएको थियो। परमेश्‍वरको महिमाको प्रशंसाको निम्ति तिनीहरू, जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूका उद्धारको उत्तराधिकारको पहिलो किस्ता हुनुहुन्छ।

शेयर गर्नुहोस्
एफिसी 1 पढ्नुहोस्

एफिसी 1:3-14 पवित्र बाइबल (NERV)

उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा। ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो। अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो। उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो। हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं। परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो। आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो। ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो। परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ। ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं। तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँच्चो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो। पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु।

शेयर गर्नुहोस्
एफिसी 1 पढ्नुहोस्

एफिसी 1:3-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई धन्‍यवाद होस्। उहाँले येशू ख्रीष्‍टमा हामीहरूलाई स्‍वर्गीय स्‍थानहरूमा प्रत्‍येक आत्‍मिक आशिष् दिनुभएको छ। उहाँले संसार सृष्‍टि गर्नुभन्दा अघि नै ख्रीष्‍टमा हामीलाई आफ्‍ना सामु पवित्र र निर्दोष पार्न छान्‍नुभएको थियो। माया गरेर उहाँले आफ्‍नो उद्देश्‍यअनुसार हामीलाई ख्रीष्‍टमा आफ्‍ना छोराहरू बनाइसक्‍नुभएको थियो। हामी यति ठूलो अनुग्रहको लागि परमेश्‍वरलाई धन्‍यवाद चढाऔं। उहाँले आफ्‍नो प्‍यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो। ख्रीष्‍टले रगत बगाएर मर्नुभएकोले हाम्रो पाप माफ भएको छ र हामी उहाँमै स्‍वतन्‍त्र भएका छौं। अहो, परमेश्‍वरको अनुग्रह कति ठूलो छ। यही अनुग्रह प्रशस्‍तसँग उहाँले हामीमाथि खन्‍याउनुभयो। उहाँकै सम्‍पूर्ण ज्ञान र बुद्धिमा परमेश्‍वरले आफ्‍नो इच्‍छा पूरा गर्नुभयो र ख्रीष्‍टमा पूरा गर्छु भनेर चिताउनुभएको गुप्‍त योजना पनि हामीलाई देखाउनुभयो। परमेश्‍वरले आफ्‍नो काम ठीक समयमा पूरा गर्नुहुनेछ। योचाहिँ स्‍वर्ग र पृथ्‍वीमा सृष्‍टि भएका सबै कुरा नै ख्रीष्‍टको अधीनमा ल्‍याउने काम हो किनभने सबै कुरा परमेश्‍वरको योजना र निर्णयअनुसार भएका छन्। परमेश्‍वरले हामीलाई आफ्‍नै खुसीले ख्रीष्‍टमा छान्‍नुभयो। योचाहिँ उहाँले पहिलेदेखि नै गर्नुभएको निर्णयअनुसार थियो। हामी जतिले ख्रीष्‍टमा पहिल्‍यै भरोसा गर्‍यौं, परमेश्‍वरले आफ्‍नो प्रशंसाको लागि नियुक्त गर्नुभयो। त्‍यस्‍तै तिमीहरूले पनि मुक्ति दिने सत्‍य सन्‍देश, सुसमाचार सुनेर ख्रीष्‍टमा विश्‍वास गर्‍यौ। आफूले प्रतिज्ञा गरेको पवित्र आत्‍माको छाप दिएर परमेश्‍वरले तिमीहरूलाई उहाँको आफ्‍नै बनाएको प्रमाण दिनुभयो। परमेश्‍वरले प्रतिज्ञा गरेका हक नपाउञ्‍जेल त्‍यो पवित्र आत्‍माको बैना हो। हामी उहाँलाई प्रशंसा चढाऔं।

शेयर गर्नुहोस्
एफिसी 1 पढ्नुहोस्