एफिसी 1:15-18
एफिसी 1:15-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभु येशूप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै, मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ। म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन्। म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस्, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक।
एफिसी 1:15-18 नेपाली समकालीन संस्करण (NCV)
त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनें, म तिमीहरूलाई प्रार्थनामा सम्झिदै तिमीहरूको निम्ति धन्यवाद दिन थामिएको छैनँ। मैले यही विन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा दिनुभएको होस्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्न सक। म यो प्रार्थना गर्दछु, कि तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक।
एफिसी 1:15-18 पवित्र बाइबल (NERV)
त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें। म सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्। म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ।
एफिसी 1:15-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यही कारणले नै प्रभु येशूमा भएको तिमीहरूको विश्वास र ख्रीष्टका पवित्र जनहरूको निम्ति भएको तिमीहरूको प्रेम सुनेर परमेश्वरलाई म सधैँ धन्यवाद चढाइ नै रहन्छु। म तिमीहरूलाई प्रार्थनामा सम्झिनेगर्दछु। प्रभु येशू ख्रीष्टका परमेश्वर, सम्मान्को योग्य पिताले तिमीहरूलाई पवित्र आत्मा देऊन् भनी म प्रार्थना गर्दछु। आत्माले तिमीहरूलाई ज्ञानी बनाउनुहुनेछ र परमेश्वरलाई पनि तिमीहरूकहाँ प्रकट गरिदिनुहुनेछ र तिमीहरूले उहाँलाई चिन्नेछौ। उहाँको ज्योति पाउन तिमीहरूका हृदयको आँखा खुलून् भनी म प्रार्थना गर्दछु र तिमीहरूले थाहा पाउनेछौ कि कत्रो आशाको लागि उहाँले तिमीहरूलाई बोलाउनुभयो र ख्रीष्टका पवित्र जनहरूमा उहाँले पाउनुहुने हकको सम्मान् कति ठूलो छ।