एफिसी 1:1-23
एफिसी 1:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई: हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो। किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आऊन्। उहाँमा, जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्रायअनुसार हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नुभएको छ। तिमीहरू, जसले सत्यको वचन, अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ। प्रभु येशूप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै, मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ। म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन्। म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस्, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक। अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो, जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। सबै शासन, र अधिकार, र शक्ति र राज्यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्नुभयो, र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ।
एफिसी 1:1-23 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको इच्छाअनुसार ख्रीष्ट येशूको प्रेरित पावलबाट, एफिससमा भएका ख्रीष्ट येशूमा विश्वासयोग्य पवित्र जनहरूलाई: हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्टमा हरेक आत्मिक आशिषले स्वर्गीय स्थानहरूमा आशिष दिनुभएको छ। किनकि उहाँको दृष्टिमा हामी पवित्र र निष्खोट हुन सकौं भनेर उहाँले प्रेममा हामीलाई संसारको सृष्टिपूर्व नै ख्रीष्टमा चुन्नुभयो। उहाँले हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार येशू ख्रीष्टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो, ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैंमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्। परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौं। परमेश्वरले आफ्ना सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो। उहाँले आफ्नो इच्छाको रहस्य, जुन ख्रीष्टमा राख्नुभएको थियो, आफ्नो असल खुशीअनुसार, हामीलाई प्रकट गर्नुभएको छ, ताकि जब समयहरूको पूर्णता हुन्छ, स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनताको एकतामा ल्याइनेछन्। उहाँकै योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्नुभएको छ, जसले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ कि, हामी जसले ख्रीष्टमा पहिल्यै आशा राखेका हौं, उहाँको महिमाको प्रशंसाको कारण बन्नसकौं। जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्टमा समावेश भयौ। जब तिमीहरूले विश्वास गर्यौ, तब प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा उहाँमा नै तिमीहरूलाई छाप लगाइएको थियो। परमेश्वरको महिमाको प्रशंसाको निम्ति तिनीहरू, जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूका उद्धारको उत्तराधिकारको पहिलो किस्ता हुनुहुन्छ। त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनें, म तिमीहरूलाई प्रार्थनामा सम्झिदै तिमीहरूको निम्ति धन्यवाद दिन थामिएको छैनँ। मैले यही विन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा दिनुभएको होस्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्न सक। म यो प्रार्थना गर्दछु, कि तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक। म यो पनि प्रार्थना गर्दछु, परमेश्वरको शक्तिको अतुलनीय महान्ता, जो उहाँमा विश्वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो त्यही शक्ति महान् सामर्थ्य हो जसलाई प्रयोग गरेर उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो। अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउँदो युगमा पनि सबै नाउँभन्दा माथि उहाँलाई राख्नुभयो। यसर्थ परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो, जुन मण्डली उहाँको शरीर हो, उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।
एफिसी 1:1-23 पवित्र बाइबल (NERV)
परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिवादन्! हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस्। उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा। ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो। अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो। उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो। हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं। परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो। आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो। ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो। परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ। ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं। तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँच्चो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो। पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु। त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें। म सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्। म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ। अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ। त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टी राख्नुभएको थियो। परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ। परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो। मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।
एफिसी 1:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको इच्छामा प्रेरित म पावलले एफिससमा बस्ने र ख्रीष्ट येशूमा विश्वास गर्ने पवित्र जनहरूलाई यो पत्र लेख्दै छु। हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई धन्यवाद होस्। उहाँले येशू ख्रीष्टमा हामीहरूलाई स्वर्गीय स्थानहरूमा प्रत्येक आत्मिक आशिष् दिनुभएको छ। उहाँले संसार सृष्टि गर्नुभन्दा अघि नै ख्रीष्टमा हामीलाई आफ्ना सामु पवित्र र निर्दोष पार्न छान्नुभएको थियो। माया गरेर उहाँले आफ्नो उद्देश्यअनुसार हामीलाई ख्रीष्टमा आफ्ना छोराहरू बनाइसक्नुभएको थियो। हामी यति ठूलो अनुग्रहको लागि परमेश्वरलाई धन्यवाद चढाऔं। उहाँले आफ्नो प्यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो। ख्रीष्टले रगत बगाएर मर्नुभएकोले हाम्रो पाप माफ भएको छ र हामी उहाँमै स्वतन्त्र भएका छौं। अहो, परमेश्वरको अनुग्रह कति ठूलो छ। यही अनुग्रह प्रशस्तसँग उहाँले हामीमाथि खन्याउनुभयो। उहाँकै सम्पूर्ण ज्ञान र बुद्धिमा परमेश्वरले आफ्नो इच्छा पूरा गर्नुभयो र ख्रीष्टमा पूरा गर्छु भनेर चिताउनुभएको गुप्त योजना पनि हामीलाई देखाउनुभयो। परमेश्वरले आफ्नो काम ठीक समयमा पूरा गर्नुहुनेछ। योचाहिँ स्वर्ग र पृथ्वीमा सृष्टि भएका सबै कुरा नै ख्रीष्टको अधीनमा ल्याउने काम हो किनभने सबै कुरा परमेश्वरको योजना र निर्णयअनुसार भएका छन्। परमेश्वरले हामीलाई आफ्नै खुसीले ख्रीष्टमा छान्नुभयो। योचाहिँ उहाँले पहिलेदेखि नै गर्नुभएको निर्णयअनुसार थियो। हामी जतिले ख्रीष्टमा पहिल्यै भरोसा गर्यौं, परमेश्वरले आफ्नो प्रशंसाको लागि नियुक्त गर्नुभयो। त्यस्तै तिमीहरूले पनि मुक्ति दिने सत्य सन्देश, सुसमाचार सुनेर ख्रीष्टमा विश्वास गर्यौ। आफूले प्रतिज्ञा गरेको पवित्र आत्माको छाप दिएर परमेश्वरले तिमीहरूलाई उहाँको आफ्नै बनाएको प्रमाण दिनुभयो। परमेश्वरले प्रतिज्ञा गरेका हक नपाउञ्जेल त्यो पवित्र आत्माको बैना हो। हामी उहाँलाई प्रशंसा चढाऔं। यही कारणले नै प्रभु येशूमा भएको तिमीहरूको विश्वास र ख्रीष्टका पवित्र जनहरूको निम्ति भएको तिमीहरूको प्रेम सुनेर परमेश्वरलाई म सधैँ धन्यवाद चढाइ नै रहन्छु। म तिमीहरूलाई प्रार्थनामा सम्झिनेगर्दछु। प्रभु येशू ख्रीष्टका परमेश्वर, सम्मान्को योग्य पिताले तिमीहरूलाई पवित्र आत्मा देऊन् भनी म प्रार्थना गर्दछु। आत्माले तिमीहरूलाई ज्ञानी बनाउनुहुनेछ र परमेश्वरलाई पनि तिमीहरूकहाँ प्रकट गरिदिनुहुनेछ र तिमीहरूले उहाँलाई चिन्नेछौ। उहाँको ज्योति पाउन तिमीहरूका हृदयको आँखा खुलून् भनी म प्रार्थना गर्दछु र तिमीहरूले थाहा पाउनेछौ कि कत्रो आशाको लागि उहाँले तिमीहरूलाई बोलाउनुभयो र ख्रीष्टका पवित्र जनहरूमा उहाँले पाउनुहुने हकको सम्मान् कति ठूलो छ। ख्रीष्टमा विश्वास गर्नेहरूको लागि काम गर्ने उहाँको ठूलो शक्ति अनुमानै गर्न सकिंदैन भनी तिमीहरूलाई थाहा होस् भनेर प्रार्थना गर्दछु। यही शक्ति उहाँले मरेकाबाट येशूलाई बिउँताउनुहुँदा र स्वर्गमा आफ्नो दाहिनेपट्टि उहाँलाई राख्नुहुँदा चलाउनुभयो। ख्रीष्टले आकाशका सबै देवी-देवताहरूमाथि राज्य गर्नुहुन्छ। सबै शासकहरूमाथि अख्तियार चलाउनुहुन्छ, सबै शक्तिहरूमाथिको शक्ति हुनुहुन्छ अनि सबै प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ यस युगमा मात्र होइन, आउने युगहरूमा पनि भए जति सबै उपाधिहरूभन्दा उच्च हुनुहुन्छ। परमेश्वरले सबै कुरा ख्रीष्टको चरणमुनि राखिदिनुभयो र उहाँलाई सबै कुरामा मण्डलीको शिर बनाउनुभयो। मण्डलीचाहिँ ख्रीष्टको शरीर हो, यही शरीर सबै कुराले भरिएको उहाँको पूर्ण रूप हो।