व्यवस्था 8:2-5
व्यवस्था 8:2-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँका आज्ञा मान्ने हृदय छ कि छैन भनी जान्नलाई यी चालीस वर्षभरिको उजाड़-स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनुभयो, सो स्मरण गर। उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्याउनुभयो, अनि तिमीहरूलाई मन्न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो। ती चालीस वर्षसम्म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्। तिमीहरूले यो जान, कि मान्छेले आफ्नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ताड़ना दिनुहुन्छ।
व्यवस्था 8:2-5 पवित्र बाइबल (NERV)
अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस बर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो। परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्। बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।
व्यवस्था 8:2-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बितेका चालीस वर्षभरि कसरी परमप्रभु तिम्रा परमेश्वरले यो लामो यात्रामा तिमीहरूलाई अगुवाइ गर्नुभयो, त्यो याद गर। तिमीहरूलाई जाँच्नलाई उहाँले कठिन समयहरू पनि पठाउनुभयो अनि तिमीहरूले के गर्न इच्छा गर्दछौ र उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर जान्न मन गर्नुभयो। उहाँले तिमीहरूलाई भोका तुल्याउनुभयो र त्यसपछि खानलाई मन्न दिनुभयो, जुन भोजन तिमीहरू र तिम्रा पुर्खाहरूले अघि कहिल्यै खाएका थिएनन्। मानिसले बाँच्नलाई रोटीमा मात्र भर पर्नुहुन्न तर परमप्रभुको हरेक वचनमा भर पर्नुपर्छ भनी तिमीहरूलाई सिकाउन उहाँले त्यसो गर्नुभयो। यी चालीस वर्षभरि तिमीहरूका कपडाहरू फाटेनन् अनि खुट्टा सुनिएनन्। जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई अनुशासन गर्छन्, त्यसरी नै परमेश्वरले तिमीहरूलाई सुधार्नुहुन्छ र सजायँ दिनुहुन्छ, सो याद राख।