व्यवस्था 29:2-29
व्यवस्था 29:2-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मोशाले सारा इस्राएलीहरूलाई बोलाएर भने: परमप्रभुले मिश्रदेशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिमीहरूकै सामुन्ने गर्नुभएका सबै कार्यहरू तिमीहरूले देखेका छौ। ठूला-ठूला कष्टहरू, आश्चर्य चिन्हहरू र ती महान् अचम्मका कामहरू आफ्ना आँखाले देख्यौ। तर आजसम्म परमप्रभुले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। मैले चालीस वर्षसम्म तिमीहरूलाई उजाड़-स्थानमा डोर्याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन्, र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्। तिमीहरूले रोटी खाएनौ र दाखमद्य वा अरू मद्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले बुझ्न सक भनेर मैले यसो गरें। तिमीहरू यस ठाउँमा आइपुग्दा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्नलाई निस्केर आए, र हामीले उनीहरूलाई परास्त गर्यौं। अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्शेका आधा कुललाई त्यो अंशको रूपमा दियौं। यसकारण यस करारका वचन होशियारीसाथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल होओ। आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्वरको अगि खड़ा छौ— तिमीहरूका नायकहरू र मुखियाहरू, धर्म-गुरुहरू र अधिकारीहरू, र अरू सारा इस्राएलीहरू, तिमीहरूका बालबच्चा र पत्नीहरू र तिमीहरूका छाउनीमा भएका प्रवासी दाउरे र पनेर्नीसमेत। परमप्रभु तिमीहरूका परमेश्वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ, जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्दैहुनुहुन्छ र शपथद्वारा दृढ़ गर्दैहुनुहुन्छ। जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो, त्यसरी नै उहाँ तिमीहरूका परमेश्वर बन्नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्नै प्रजा हुनलाई परमप्रभुले पक्का गर्दैहुनुहुन्छ। म यो शपथसहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्वरको सामु हामीसँग खड़ा हुनेसँग मात्र बाँध्दिनँ, तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्दछु। हामी कसरी मिश्रदेशमा बस्यौं, र यहाँ आइपुग्न हामी अरू देशहरूबाट भएर कसरी पार गर्यौं सो तिमीहरू जान्दछौ। उनीहरूका बीचमा भएका उनीहरूका घृणित काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू तिमीहरूले देख्यौ। होशियार! तिमीहरूमध्येका कोही पुरुष वा स्त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्वरदेखि बरालिएर नजाओस्। होश गर, तिमीहरूका बीचमा यस्तो तीतो विष उत्पन्न गर्ने कुनै जरो नहोस्। जब त्यस्तो मानिसले यस शपथका वचनहरू सुन्छ, तब त्यसले आफैलाई आशिष् दिन्छ र सोच्छ, “म आफ्नै बाटो हिँड़िरहे पनि म सुरक्षित रहनेछु।” यसले पानीले सिँचेको जमिनसाथै सुक्खा जमिनमाथि पनि विपत्ति ल्याउँछ। त्यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्वाला त्यस मानिसमाथि पर्नेछ। यस पुस्तकमा लेखिएका सबै सराप त्यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्यसको नाउँ आकाशमुनिबाट मेट्नुहुनेछ। व्यवस्थाको यस पुस्तकमा लेखिएको करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्ति छुट्ट्याउनुहुनेछ। तिमीहरूका पछि आउने सन्तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्यसमाथि ल्याउनुभएका रोगहरू देख्नेछन्। परमप्रभुले आफ्नो डरलाग्दो रीसमा सदोम र गमोरा, अदमा र सबोयीमलाई ध्वंस गर्नुभएको जस्तै समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुनेछ। त्यो केही नरोपेको, केही नउम्रेको र रूखो घाँससम्म पनि नउम्रने बाँझो हुनेछ। सबै जातिहरूले सोध्नेछन्, “परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्किने क्रोध किन?” तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नुभएको करार तिनीहरूले त्यागेकाले हो। तिनीहरू गएर अरू देवताहरूलाई पुजेथे र यिनीहरूका अगि दण्डवत् गरेथे, ती देवताहरू जो तिनीहरूले चिन्दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन। यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्कियो, र यस पुस्तकमा लेखिएका सबै श्रापहरू उहाँले यस देशमाथि खन्याउनुभयो। परमप्रभुले डरलाग्दो रीस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्नुभयो, र अर्को देशमा फालिदिनुभयो, जस्तो आज भएको छ।” प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्। तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्।
व्यवस्था 29:2-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशाले सारा इस्राएलीहरूलाई भेला गराएर तिनीहरूलाई भने: याहवेहले इजिप्टमा फारो र तिनका भारदारहरूसँग, र तिनका सारा देशसँग गर्नुभएका सबै कुरा तिमीहरूका आँखाले देखेका छन्। तिमीहरूले आफ्नै आँखाले ती डरलाग्दा सङ्कष्टहरू, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू देखेका छौ। तर आजको दिनसम्म याहवेहले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। याहवेहले भन्नुहुन्छ, “मैले तिमीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म डोर्याएको समयमा तिमीहरूले लगाएका लुगा र तिमीहरूका जुत्ता फाटेनन्। तिमीहरूले रोटी खाएनौ र मद्य पिएनौ, वा अरू मादक पदार्थ पिएनौ। तिमीहरूले म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी बुझ्न सक भनेर नै मैले यसो गरेँ।” जब तिमीहरू यस ठाउँमा आइपुग्यौ, तब हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हामीसँग लडाइँ गर्न आए; तर हामीले तिनीहरूलाई परास्त गर्यौँ। हामीले तिनीहरूको देशलाई कब्जा गर्यौँ, र त्यस देशलाई उत्तराधिकारको रूपमा रूबेनीहरू, गादीहरू अनि मनश्शेको आधा कुललाई दियौँ। यस करारका शर्तहरूलाई होसियारीसाथ पालन गर, र तिमीहरूले गरेका हरेक काममा सफल हुनेछौ। आज तिमीहरू सबै, अर्थात् तिमीहरूका अधिकृतहरू र मुख्य व्यक्तिहरू, तिमीहरूका धर्मगुरुहरू र प्रधानहरू सबै याहवेह तिमीहरूका परमेश्वरको अगि खडा छौ। अनि तिमीहरूका छोराछोरीहरू र तिमीहरूका पत्नीहरू, र तिमीहरूका निम्ति दाउरा काट्ने र पानी बोक्ने तिमीहरूका छाउनीमा बस्ने विदेशीहरू पनि साथमा छन्। तिमीहरू यहाँ याहवेह आफ्ना परमेश्वरसँग त्यो करारमा प्रवेश गर्नलाई खडा छौ, जुन आज उहाँले शपथद्वारा छाप लगाउँदै तिमीहरूसँग बाँध्दैहुनुहुन्छ। उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, र तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएझैँ, तिमीहरू उहाँका मानिसहरू र उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ भनी पक्का हुन सकोस्। मैले शपथ खाएर यो करार तिमीहरूसँग मात्र बाँधिरहेको छैनँ; जो आज यहाँ याहवेह आफ्ना परमेश्वरको उपस्थितिमा उभिरहेका छौ, तर आज यहाँ उपस्थिति नहुनेहरूसँग पनि बाँधिरहेको छु। हामी इजिप्टमा कसरी बस्यौँ, र यहाँ आइपुग्नको लागि हामीले कसरी देशहरू पार गर्यौँ भनी तिमीहरू आफैँले जान्दछौ। तिनीहरूका बीचमा तिमीहरूले तिनीहरूका घृणित थोकहरू, काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू देख्यौ। याहवेह हाम्रा परमेश्वरबाट तर्किगएर ती जातिहरूका देवी-देवताहरू पूजा गर्ने हृदय भएको कुनै पनि पुरुष अथवा स्त्रीका कुल वा वंश तिमीहरूको बीचमा छैन भन्ने कुरा पक्का गर। तिमीहरूको बीचमा तितो विष उमार्ने कुनै पनि जरा नहोस् भनी निश्चित गर। जब यस्ता व्यक्तिले यस शपथका शब्दहरू सुन्छन्; अनि तिनीहरू आफैँले आशिष् पाउन चाहन्छन् र सोच्दछन्, “म आफ्नै तरिकाले चलिरहे तापनि म सुरक्षित नै रहनेछु,” यसले गर्दा तिनीहरूले भिजेको जमिन अथवा ओबानो जमिनमा विपत्ति ल्याउनेछन्। तिनीहरूलाई याहवेहले कहिल्यै क्षमा दिने मन गर्नुहुनेछैन। उहाँको क्रोध र डाहको जलन तिनीहरूको विरुद्धमा दन्कनेछ। यस व्यवस्थाका पुस्तकमा लेखिएका सबै श्रापहरू तिनीहरूमाथि पर्नेछन्। अनि याहवेहले तिनीहरूको नाम आकाशमुनिबाट मेटिदिनुहुनेछ। व्यवस्थाको यो पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार याहवेहले तिनीहरूलाई इस्राएलका सबै कुलहरूबाट नाशको निम्ति अलग गर्नुहुनेछ। तिमीहरूका भावी पुस्ताका छोराछोरीहरू र टाढा देशहरूबाट आउने विदेशीहरूले यस देशमा आइपरेका विपत्तिहरू अनि याहवेहले देशमा पठाउनुभएका रोगहरू देख्नेछन्। सारा देशलाई नुन र गन्धकले जलाएर बरबाद गर्नेछ—त्यहाँ केही पनि रोपिनेछैन, उम्रनेछैन र कुनै रूखबिरुवा केही पनि उम्रनेछैन। त्यो देश याहवेहले आफ्नो भयानक क्रोधमा नष्ट पार्नुभएको सदोम र गमोरा, अदमा र सबोयीमजस्तै हुनेछ। सबै जाति-जातिहरूले सोध्नेछन्: “याहवेहले यस देशलाई किन यस्तो गर्नुभयो? किन यस्तो डरलाग्दो र दन्कने रिस गर्नुभयो?” अनि जवाफचाहिँ यस्तो हुनेछ, “किनकि यस जातिले याहवेह तिनीहरूका पितापुर्खाहरूका परमेश्वरको करार, उहाँले तिनीहरूलाई इजिप्टबाट ल्याउनुहुँदा तिनीहरूसँग गर्नुभएको करारलाई तोडेका छन्। तिनीहरू तर्केर गएका छन्, र अरू देवी-देवताहरू, तिनीहरूले नजानेका र उहाँले तिनीहरूलाई मनाही गर्नुभएका देवी-देवताहरूलाई दण्डवत् गरेका छन्। यसकारण यस देशको विरुद्धमा याहवेहको क्रोध दन्कियो। त्यसैले उहाँले यस व्यवस्थाको पुस्तकमा लेखिएका सबै श्रापहरू यस देशमाथि ल्याउनुभयो। याहवेहले तिनीहरूलाई भयानक रिस र डरलाग्दो क्रोधमा आफ्नो देशबाट उखेलेर अर्को देशमा फालिदिनुभयो; अनि तिनीहरू अहिलेसम्म छँदैछन्।” गुप्त कुराहरू याहवेह हाम्रा परमेश्वरकै हुन्, तर प्रकट गरिएका कुराहरूचाहिँ हामी र हाम्रा सन्तानहरूका लागि सदाका निम्ति हुन्; ताकि हामीले यस व्यवस्थाका सबै कुराहरू पालन गर्न सकौँ।
व्यवस्था 29:2-29 पवित्र बाइबल (NERV)
मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिश्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ। तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ। तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ? परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मरुभूमिमा चालीस बर्षसम्म डोर्याउँदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुत्ता पनि पूरानो भएन तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सक्छौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।’ “तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं। अनि हामीले तिनीहरूको देश रूबेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं। यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्यौ भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौ। “आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्। तिमीहरूको पत्नी, बाल-बच्चाहरू तथा तिमीहरूसित बस्ने विदेशीहरू लगायत तिमीहरूका दाउरा काट्ने अनि पानी बोकनेहरू यहाँ छन्। आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदैछ। यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो। परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन, तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसँग छैनन्। तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौं अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भएर यात्रा गर्यौं। तिमीहरूले ती काठ, ढुङ्गा, चाँदी र सुनले बनिएका घृणित मूर्तिहरू देख्यौ। दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ। “कुनै मानिसले यी सरापहरू सुन्न सक्छ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु, गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन।’ त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ। परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ। व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ। “भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देख्ने छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देख्ने छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो। त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए। “तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’ उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे। तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे। अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्। परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’ “परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।
व्यवस्था 29:2-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलका सबै मानिसहरूलाई भेला गरेर मोशाले भने, “परमप्रभुले मिश्रका राजा, तिनका भारदारहरू र सारा देशलाई के गर्नुभयो, सो तिमीहरू आफैंले देख्यौ। डरलाग्दा विपत्तिहरू, आश्चर्यकर्महरू र परमप्रभुले गर्नुभएका उदेकका कामहरू तिमीहरूले देख्यौ। तर तिमीहरूले जे कुराको अनुभव गरेका छौ, त्यो आजसम्म उहाँले तिमीहरूलाई बुझ्न दिनुभएको छैन। चालीस वर्षसम्म परमप्रभुले उजाड-स्थानको बीचबाट तिमीहरूलाई डोर्याउनुभयो अनि तिम्रा लुगा र चप्पलहरू कहिल्यै फाटेनन्। तिमीहरूसित खानलाई रोटी वा पिउनलाई दाखमद्य थिएन तर उहाँले तिमीहरूका परमेश्वर हुँ भनी सिकाउनलाई तिमीहरूको अभाव पूरा गरिदिनुभयो। जब हामी यस ठाउँमा आइपुग्यौँ, हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगचाहिँ हामीसँग लडाइँ गर्न अघि आए। तर हामीले तिनीहरूलाई जित्यौं, तिनका देश कब्जा गर्यौं अनि त्यो रूबेन र गादका कुल र मनश्शेका आधा कुलका बीचमा बन्डा गरिदियौं। यस करारका सबै कुराहरू विश्वासयोग्यसाथ पालन गर, आफूले गरेका हरेक काममा तिमीहरू सफल हुनेछौ। “आज तिमीहरू तिम्रा अगुवा र अधिकृतहरू, पुरुष, स्त्री र छोरा-छोरीहरू, तिम्रा बीचमा बास गर्ने र दाउरा काट्ने र पानी बोक्ने विदेशीहरू– सबै जना परमप्रभु आफ्ना परमेश्वरको अघि खडा छौ। आज तिमीहरू परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूसित बाँध्न लाग्नुभएको करार अनि त्यसका जिम्मेवारी स्वीकार गर्न यहाँ आएका छौ। परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार, तिमीहरूलाई आफ्ना निजी प्रजा हौ भनी पक्का गर्नुहुन्छ अनि तिमीहरूका परमेश्वर बन्नुहुन्छ। यो करार यसका जिम्मेवारीसहित परमप्रभुले तिमीहरूसित मात्र बाँध्नुभएको छैन। आज यहाँ परमप्रभुको अघि खडा हुने हामीहरू सबै जना र अझसम्म नजन्मेका हाम्रा सन्तानहरूसित पनि उहाँले यो करार बाँध्नुभएको छ। “मिश्रको जीवन कस्तो थियो अनि अरू जातिका देशबाट भएर यात्रा गर्दा के भयो, सो तिमीहरूलाई यादै छ। काठ, ढुङ्गा, चाँदी र सुनले बनेका तिनका घिनलाग्दा मूर्तिहरू तिमीहरूले देख्यौ। आज यहाँ खडा हुने पुरुष, स्त्री, परिवार र कुलले हामी कोही पनि परमप्रभु हाम्रा परमेश्वरबाट फर्केर र अरू जातिका देव-देवताको पूजा गर्नेछैनौं भनी पक्का सङ्कल्प गर। नत्रता त्यो जरा बढेर एउटा तीतो र विषालु बोट बनेको जस्तो हुनेछ। आज यी गम्भीर वाचाका वचन सुन्नेहरूमध्ये म ढिट भएर आफ्नै बाटो लागिरहे पनि सबै कुरा ठीकै हुनेछ भनी विचार गर्ने कोही व्यक्ति हुनुहुँदैन। यो कुरा पक्का गर। नत्र तिमीहरू असल र दुष्ट सबै नाश हुनेछौ। त्यस्तो मानिसलाई परमप्रभुले क्षमा गर्नुहुन्न। बरु परमप्रभुको बल्दो क्रोध त्यसमाथि दन्कनेछ र त्यसलाई उहाँले पूरा नाश नपारुञ्जेल यस पुस्तकमा लेखिएका सारा विपत्तिहरू त्यसमाथिपर्नेछ। इस्राएलका सबै कुलहरूका अघि त्यसलाई परमप्रभुले एउटा नमुना बनाउनुहुनेछ र त्यसमाथि आफ्ना शिक्षाको यस पुस्तकमा लेखिएका करारको सराप बमोजिम जम्मै विपत्तिहरू ल्याउनुहुनेछ। “भविष्यका पुस्तामा तिम्रा सन्तान र टाढा देशबाट आएका विदेशीहरूले तिमीहरूको देशमा परमप्रभुले ल्याउनुभएका विपत्ति र कष्टहरू देख्नेछन्। खेतबारीहरू गन्धक र नुनले ढाकेका उजाड, काम नलाग्ने भूमि बन्नेछन्। त्यहाँ केही कुरो रोपिनेछैन र जङ्गली झारपातसम्म त्यहाँ उम्रनेछैन। परमप्रभुले औधी क्रोध गरेर नाश गर्नुभएको सदोम र गमोरा, अदमा र सबोयीम सहरहरूजस्तै तिमीहरूको देश पनि हुनेछ। त्यस बेला सारा संसारले प्रश्न गर्नेछ, ‘परमप्रभुले किन तिनीहरूका देशलाई यसो गर्नुभयो? उहाँको डरलाग्दो रिसको कारण के हो?’ अनि त्यसको उत्तर यो हुन्छ, ‘परमप्रभुका जनले आफ्ना पुर्खाका परमेश्वरले मिश्रबाट निकाली ल्याउनुहुँदा उहाँसित गरेका करार तोडेकोले नै त्यसो भएको हो। तिनीहरूले अघि कहिल्यै नपुजेका अन्य देव-देवताको सेवा गरे। परमप्रभुले ती देवताहरूलाई पूजा गर्न मनाही गर्नुभएको थियो। अनि परमप्रभु आफ्ना प्रजासित रिसाउनुभयो र तिनका देशमा यस पुस्तकमा लेखिएका सारा विपत्तिहरू ल्याउनुभयो। परमप्रभु औधी रिसाउनुभयो र आफ्नो ठूलो क्रोधमा तिनीहरूलाई आफ्नो देशबाट उखेली विदेशमा फालिदिनुभयो अनि तिनीहरू आज त्यहाँ छन्।’ “परमप्रभु हाम्रा परमेश्वरले अरू कति कुरा गुप्त राख्नुभएको छ। तर उहाँले आफ्नो नियम प्रकट गरिदिनुभएको छ अनि हामी र हाम्रा सन्तानले सधैँ ती मान्नुपर्छ।