व्यवस्था 15:1-18
व्यवस्था 15:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रत्येक सात वर्षको अन्तमा कर्जा-माफीको समय राख्नुपर्छ। त्यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्। त्यसले आफ्नो स्वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ। परदेशीलाई चाहिँ कर गरेर माग्न सक्छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ। मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन, किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ। आफ्नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्। यदि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्यस गरीब भाइप्रति निष्ठुर भएर आफ्नो मुट्ठी नबाँध्नू। बरु आफ्नो मुट्ठी खोलेर त्यसको खाँचोअनुसार जे-जति चाहिन्छ सापट दिनू। होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्यो भन्ने कुभावना मनमा राखेर आफ्नो गरीब दाजुभाइलाई गोहार गर्न इन्कार गर्यो, भने त्यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्नेछ। तिमीहरूले त्यसलाई निस्सङ्कोच दिनू, त्यसलाई दिँदा तिमीहरूको मनमा कष्ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्वरले सबै काममा र तिमीहरूले हात हाल्ने हरेक कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ। देशमा गरीब सधैँ हुनेछन्। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइबन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू। यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्छ, त्यसले छ वर्ष तिमीहरूको सेवा गर्यो भने, सातौँ वर्ष त्यसलाई मुक्त भएर जान दिनू। त्यो मुक्त भएर जाँदा त्यसलाई रित्तै हात नपठाउनू, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार आफ्ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्तसँग दिएर त्यसलाई पठाउनू। मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्झना गर। त्यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु। तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्नँ” भन्यो भने, एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्नी कमारीलाई पनि त्यसै गर्नू। त्यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्नू, किनकि ज्यालादारी नोकरले लिने ज्यालाको दोबर मूल्यको काम त्यसले छ वर्षमा गर्यो। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै काममा आशिष् दिनुहुनेछ।
व्यवस्था 15:1-18 पवित्र बाइबल (NERV)
“प्रत्येक सात बर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ। तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किनभने परमप्रभुले यस बर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ। तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ। तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ अनि तिमीहरूलाई धेरै-धेरै आशीर्वाद दिनु हुनेछ। तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपियाँ हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन। “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर। त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ। “सातौं बर्ष जो ऋण माफ गरिने बर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर। “तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिंदा नराम्रो नसम्झ। किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ। त्यो भूमिमा सधैँ गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ। “यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रू मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ बर्षसम्म राख्न सक्छौ तर सातौं बर्षमा उसलाई मुक्त गर्नै पर्छ। तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन। तिमीले उसलाई तिम्रो केही गाई-बस्तु, तिम्रो केही अन्न र तिम्रो केही मद्य दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ। तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु। “तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन।’ उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बित्दैछ। त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस्न लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेंड पारिदेऊ। त्यो सधैँको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु। “कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, बर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।
व्यवस्था 15:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हरेक सातौँ वर्षको अन्तमा तिमीहरूले ती मानिसहरू जसले तिम्रा पैसा ऋण लिएका छन्, त्यस ऋणलाई माफी गरिदेओ। त्यो यस प्रकारले गर्नू। ज-जसले आफ्ना सङ्गी इस्राएलीलाई पैसा ऋण दिएका छन्, तिनीहरूले ऋण छोडिदिनू, ती उठाउने काम नगर्नू। ती ऋण मेटिएका छन् भनी परमप्रभु आफैंले भन्नुभएको छ। विदेशीले लिएको ऋण उठाउन सक्छौ तर आफ्नै दाजुभाइहरूले लिएका ऋण नउठाउनू। “परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन। यदि तिमीहरूले उहाँका आज्ञा मान्यौ र मैले आज आज्ञा गरेका सबै कुराहरू होशियारीसाथ पालना गर्यौ भने तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन। आफ्नो प्रतिज्ञाअनुसार परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ तर कसैबाट ऋण लिनुपर्नेछैन। धेरै जातिहरूलाई तिमीहरूले आफ्ना वशमा ल्याउनेछौ तर तिमीहरूलाई कुनै जातिले वशमा पार्न सक्नेछैन। “परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशका कुनै सहरमा एउटा सङ्गी इस्राएली अभावमा छ भने तिमीहरू स्वार्थी बनी उसलाई मद्दत गर्न इन्कार नगर। त्यसको सट्टामा उदार-चित्तको भएर उसलाई चाहिएको जति ऋण देओ। ऋण मेटिदिने साल नजिकै छ भनेर उसलाई ऋण दिन इन्कार नगर। यस्तो दुष्ट विचार तिम्रो मनमा पस्न नदेओ। तिमीहरूले ऋण दिन इन्कार गर्यौ भने उसले तिम्रा विरुद्धमा परमप्रभुकहाँ बिन्ती चढाउनेछ र तिमीहरू दोषी ठहरिनेछौ। उसलाई खुल्ला हातले बिनास्वार्थ देओ र तिमीहरूले गरेको हरेक काममा परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ। सधैँ कोही न कोही इस्राएली गरीब र अभावमा हुनेछ र तिनीहरूप्रति उदार-चित्तका होओ भनी म तिमीहरूलाई आज्ञा गर्दछु। “यदि कुनै इस्राएली पुरुष र स्त्रीले आफैंलाई तिम्रा कमारा वा कमारीको रूपमा बेचे त्यसलाई तिमीले आफ्नो सेवा गरेको ६ वर्षपछि छोडिदिनुपर्नेछ। सातौँ वर्ष आउँदा त्यसलाई तिमीले स्वतन्त्र छोड्नुपर्छ। त्यसलाई स्वतन्त्र गरिदिँदा रित्तै हात नपठाउनू। तिमीलाई जुन कुराले परमप्रभुले आशिष् दिनुभएको छ– भेडा, अन्न र मद्य जे छ, त्यसबाट उदार हातले दिई पठाउनू। याद राख कि तिमीहरू मिश्रमा कमारा-कमारी थियौ र परमप्रभुले तिमीहरूलाई छुटकारा दिनुभयो। यसैकारण म अहिले तिमीहरूलाई यो आज्ञा दिँदछु। “तर तिम्रा कमारा वा कमारी जान नचाहे, त्यसले तिमी र तिम्रा परमेश्वरलाई प्रेम गरी तिमीहरूसँगै बस्न सन्तुष्ट भए त्यसलाई आफ्नो घरका ढोकामा लगेर त्यसको कान छेडिदिनू। तब जीवनभरि त्यो तिम्रो कमारा रहनेछ। तिम्री कमारीलाई पनि त्यसै गर्नू। जब तिमीले आफ्ना कमारा-कमारीलाई स्वतन्त्र भएर जान दिँन्छौ, मनमा अप्रसन्न नहोओ, जे भए पनि त्यसले ज्यालामा काम गर्ने चाकरले पाउने ज्यालाको आधा खर्चमा नै छ वर्षभरि तिम्रो सेवा गरेको छ। प्रसन्न भई त्यसलाई छोडिदेओ र तिम्रा परमेश्वरले तिमीहरूले गरेका सबै कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।