व्यवस्था 15
15
सातौँ वर्ष
1“हरेक सातौँ वर्षको अन्तमा तिमीहरूले ती मानिसहरू जसले तिम्रा पैसा ऋण लिएका छन्, त्यस ऋणलाई माफी गरिदेओ। 2त्यो यस प्रकारले गर्नू। ज-जसले आफ्ना सङ्गी इस्राएलीलाई पैसा ऋण दिएका छन्, तिनीहरूले ऋण छोडिदिनू, ती उठाउने काम नगर्नू। ती ऋण मेटिएका छन् भनी परमप्रभु आफैंले भन्नुभएको छ। 3विदेशीले लिएको ऋण उठाउन सक्छौ तर आफ्नै दाजुभाइहरूले लिएका ऋण नउठाउनू।
4“परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन। 5यदि तिमीहरूले उहाँका आज्ञा मान्यौ र मैले आज आज्ञा गरेका सबै कुराहरू होशियारीसाथ पालना गर्यौ भने तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन। 6आफ्नो प्रतिज्ञाअनुसार परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ तर कसैबाट ऋण लिनुपर्नेछैन। धेरै जातिहरूलाई तिमीहरूले आफ्ना वशमा ल्याउनेछौ तर तिमीहरूलाई कुनै जातिले वशमा पार्न सक्नेछैन।
7 #
लेवी 25:35
“परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशका कुनै सहरमा एउटा सङ्गी इस्राएली अभावमा छ भने तिमीहरू स्वार्थी बनी उसलाई मद्दत गर्न इन्कार नगर। 8त्यसको सट्टामा उदार-चित्तको भएर उसलाई चाहिएको जति ऋण देओ। 9ऋण मेटिदिने साल नजिकै छ भनेर उसलाई ऋण दिन इन्कार नगर। यस्तो दुष्ट विचार तिम्रो मनमा पस्न नदेओ। तिमीहरूले ऋण दिन इन्कार गर्यौ भने उसले तिम्रा विरुद्धमा परमप्रभुकहाँ बिन्ती चढाउनेछ र तिमीहरू दोषी ठहरिनेछौ। 10उसलाई खुल्ला हातले बिनास्वार्थ देओ र तिमीहरूले गरेको हरेक काममा परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ। 11#मत्ती 26:11; मर्कूस 14:7; यूहन्ना 12:8सधैँ कोही न कोही इस्राएली गरीब र अभावमा हुनेछ र तिनीहरूप्रति उदार-चित्तका होओ भनी म तिमीहरूलाई आज्ञा गर्दछु।
कमारा-कमारीहरूसित व्यवहार
(प्रस्थान २१:१-११)
12 #
लेवी 25:39-46
“यदि कुनै इस्राएली पुरुष र स्त्रीले आफैंलाई तिम्रा कमारा वा कमारीको रूपमा बेचे त्यसलाई तिमीले आफ्नो सेवा गरेको ६ वर्षपछि छोडिदिनुपर्नेछ। सातौँ वर्ष आउँदा त्यसलाई तिमीले स्वतन्त्र छोड्नुपर्छ। 13त्यसलाई स्वतन्त्र गरिदिँदा रित्तै हात नपठाउनू। 14तिमीलाई जुन कुराले परमप्रभुले आशिष् दिनुभएको छ– भेडा, अन्न र मद्य जे छ, त्यसबाट उदार हातले दिई पठाउनू। 15याद राख कि तिमीहरू मिश्रमा कमारा-कमारी थियौ र परमप्रभुले तिमीहरूलाई छुटकारा दिनुभयो। यसैकारण म अहिले तिमीहरूलाई यो आज्ञा दिँदछु।
16“तर तिम्रा कमारा वा कमारी जान नचाहे, त्यसले तिमी र तिम्रा परमेश्वरलाई प्रेम गरी तिमीहरूसँगै बस्न सन्तुष्ट भए 17त्यसलाई आफ्नो घरका ढोकामा लगेर त्यसको कान छेडिदिनू। तब जीवनभरि त्यो तिम्रो कमारा रहनेछ। तिम्री कमारीलाई पनि त्यसै गर्नू। 18जब तिमीले आफ्ना कमारा-कमारीलाई स्वतन्त्र भएर जान दिँन्छौ, मनमा अप्रसन्न नहोओ, जे भए पनि त्यसले ज्यालामा काम गर्ने चाकरले पाउने ज्यालाको आधा खर्चमा नै छ वर्षभरि तिम्रो सेवा गरेको छ। प्रसन्न भई त्यसलाई छोडिदेओ र तिम्रा परमेश्वरले तिमीहरूले गरेका सबै कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
पहिले जन्मेको पशु
19 #
प्रस्थान 13:12
“तिम्रा गाई-वस्तु र भेडाका पहिला जन्मेका बाछा र पाठा परमप्रभु आफ्ना परमेश्वरको निम्ति छुट्ट्याउने गर। त्यस्ता गाई-वस्तुलाई काममा नलाउनू अनि भेडाको ऊन नकत्रनू। 20तिनका मासु तिमी र तिम्रा परिवारले हरेक वर्ष परमप्रभुको सामुन्ने त्यो एक मात्र आराधना-स्थलमा खानू। 21तर ती पशुहरूमा केही खोट छ तथा तिनीहरू लङ्गडा वा अन्धा छन् अथवा अरू केही दोष तिनीहरूमा छ भने तिनलाई परमप्रभु आफ्ना परमेश्वरकहाँ बलि नचढाउनू। 22त्यस्ता पशु तिमीहरू घरमा खान सक्छौ। जसरी तिमीहरू हरिण वा मृग खान्छौ, त्यसरी नै तिमीहरू विधिअनुसार शुद्ध वा अशुद्ध व्यक्ति सबैले तिनलाई खान सक्नेछौ। 23#उत्पत्ति 9:4; लेवी 7:26,27; 17:10-14; 19:26; व्यवस्था 12:16,23तर तिनका रगत भोजनमा नचलाउनू, बरु त्यसलाई पानीजस्तो गरी माटोमा बगाइदिनू।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 15: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.