YouVersion लोगो
खोज आइकन

दानिएल 9:24-27

दानिएल 9:24-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्‍ति अपराध खतम पार्न, पाप समाप्‍त गर्न, दुष्‍टताको लागि प्रायश्‍चित गर्न, अनन्‍त धार्मिकता ल्‍याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्‍द गर्न र महापवित्रस्‍थानलाई अभिषेक गर्न सत्तरी ‘सातहरू’ को आदेश तोकिएको छ। “यो जान र बुझ, यरूशलेमको पुनर्स्‍थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात्‌ एक शासक नआउञ्‍जेलसम्‍म सात ‘सातहरू’ र बयसट्ठी ‘सातहरू’ हुनेछन्‌। गल्‍ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दु:खको समयमा। बयसट्ठी ‘सातहरू’ पछि ती अभिषिक्त जन हटाइनेछन्‌ र तिनीसँग केही पनि रहनेछैन। शासकका मानिसहरू आएर त्‍यस सहर र पवित्रस्‍थानलाई विनाश गर्नेछन्‌। अन्‍त बाढ़ीझैँ आउनेछ: लड़ाइँ अन्‍तसम्‍म रहनेछ, र उजाड़ अवस्‍थाहरूको आदेश जारी भएको छ। धेरै जनासित एक ‘सात’ को लागि तिनले एउटा करारको सदर गर्नेछन्‌। ‘सात’ को बीचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन्‌। अनि मन्‍दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खड़ा गर्नेछन्, जबसम्‍म तिनीमाथि आदेश गरिएको अन्‍त खन्‍याइनेछैन।”

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्

दानिएल 9:24-27 पवित्र बाइबल (NERV)

“तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ। “त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनःप्राप्ति र पुनःर्निर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनःप्राप्ति र पुनःर्निर्माण भइसकेको अवस्थामा रहनेछ। त्यस समयमा अर्थात बैसठ्ठी हप्तापछि अभिषेक गरिएको मानिस हटाइनेछ। त्यसपछि एकजना राजकुमारको सेनाले आक्रमण गर्नेछ अनि शहरका पवित्र स्थान नष्ट गर्नेछ। तब त्यहाँ ठूलो युद्ध हुनेछ अनि सम्पूर्ण नाशगर्ने योजना बनाइनेछ। “तब भविष्यका शासकले धेरै मानिसहरूसित सम्झौता गर्नेछ। यो एक हप्ता सम्म चल्नेछ। आधा हप्ता सम्मको निम्ति भेटी अनि बलिदानहरू रोकाउनेछ। अनि एकजना विध्वंशक आउनेछ। उसले डरलाग्दो विनाशक कर्महरू गर्नेछ। तर परमेश्वरले त्यस विध्वंशको ध्वंशका निम्ति आदेश दिइसक्नु भएकोछ।”

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्

दानिएल 9:24-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“पाप र खराबीबाट तिम्रा जाति र पवित्र सहरलाई छुटकारा दिन परमेश्‍वरले सात गुणा सत्तरी वर्षको एउटा समय तोक्‍नुभएको छ। त्‍यसपछि पाप क्षमा गरिनेछ र सदाकालको न्‍याय स्‍थापित गरिनेछ अनि यी दर्शन र अगमवाणी पूरा हुनेछन् र फेरि पवित्र मन्‍दिर अर्पण गरिनेछ। यस कुरालाई ध्‍यान देऊ र राम्ररी बुझ; यरूशलेमलाई फेरि निर्माण गर्ने आज्ञा दिनुभएको दिनदेखि परमेश्‍वरले अभिषेक गर्नुभएको अगुवा नआईन्‍जेल सात गुणा सत्तरी वर्ष समय बित्‍नेछ। यरूशलेमको बाटा-घाटा र पर्खालहरू फेरि बनाइनेछन्‌ र त्‍यो सात गुणा बयसट्ठी वर्षसम्‍म त्‍यस अवस्‍थामा रहनेछ; तर त्‍यो समयचाहिँ कष्‍टको समय हुनेछ। त्‍यो समय बितेपछि परमेश्‍वरले अभिषेक गर्नुभएको अगुवा अन्‍यायसाथ मारिनेछन्। हमला गर्दैआउने एउटा शक्तिशाली शासकको सेनाले सहर र मन्‍दिर नाश गर्नेछ। वर्षाको भलझैँ अन्‍त्‍य आउनेछ र त्‍यसले परमेश्‍वरले तयार गर्नुभएको लडाइँ र विनाश ल्‍याउनेछ। त्‍यस राजाले सात वर्षसम्‍म धेरै मानिसहरूसित दह्रो सम्‍झौता राख्‍नेछ र त्‍यसको साढे तीन वर्ष बितेपछि त्‍यसले सबै बलिदान र भेटीहरू चढाउन बन्‍द गरिदिनेछ। मन्‍दिरको सबैभन्दा उच्‍च भागमा भयानक नाशकर्ताको मूर्ति राखिनेछ। त्‍यो मूर्ति त्‍यहाँ राख्‍ने मानिसले परमेश्‍वरबाट त्‍यसको निम्‍ति तयार पारिएको विनाश नभेटुञ्‍जेल त्‍यो मूर्ति त्‍यहीँ रहनेछ।”

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्