प्रेरित 7:2-8
प्रेरित 7:2-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्नुहोस्। महिमाका परमेश्वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो, र तिनलाई भन्नुभएको थियो, ‘तिमी आफ्नो देश र आफ्ना कुटुम्बबाट निस्केर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’ “तब तिनी कल्दीहरूको देशबाट निस्केर हारानमा आएर बसे, र तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्छ। तिनलाई त्यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्ने ठाउँसम्म पनि दिनुभएन। तर तिनको सन्तान नभए तापनि त्यो जायजात परमेश्वरले तिनका सन्तान-दरसन्तानलाई निजी सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो। परमेश्वरले यसरी भन्नुभयो, ‘तेरा सन्तान अर्काको मुलुकमा गएर बस्नुपर्नेछ, र उनीहरूले तिनीहरूलाई कमारा तुल्याएर चार सय वर्षसम्म थिचोमिचो गरी राख्नेछन्।’ परमेश्वरले भन्नुभयो ‘तर तिनीहरू जुन जातिका कमारा भएर बस्नेछन् त्यस जातिको इन्साफ म गर्नेछु। त्यसपछि तिनीहरू निस्किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’ उहाँले तिनीसँग खतनाको करार बाँध्नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए।
प्रेरित 7:2-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्वरले उनको सामु आएर भन्नुभयो, ‘आफ्नो देश, आफ्नो कुटुम्बलाई छोडेर म जुन देश तँलाई देखाउँछु, त्यहीँ जा।’ “त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्न थाले। उनका पिताको मृत्युपछि परमेश्वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ। परमेश्वरले उनलाई जायजेथा दिनुभएन। जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन। तर पनि परमेश्वरले अब्राहामसँग उनी र उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो। परमेश्वरले उनीसँग यसरी भन्नुभयो: ‘तेरा सन्तानहरू अर्काको देशमा प्रवासी हुनेछन् र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’ परमेश्वरले भन्नुभयो, ‘तर म तिनीहरूले दास-दासी भई सेवा गरेको देशलाई दण्ड दिनेछु। अनि पछि तिनीहरू त्यस देशबाट निस्किआउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’ अब्राहामलाई उहाँले खतनाको करार दिनुभयो। त्यसपछि अब्राहाम इसहाकका पिता भए। जन्मेको आठौँ दिन उनले छोराको खतना गरे। इसहाकले याकोबलाई जन्माए र याकोब बाह्र कुलका पिता भए।
प्रेरित 7:2-8 पवित्र बाइबल (NERV)
स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यू-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो। परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्रा मनिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’ “यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ। तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन। “परमेश्वरले उनलाई भन्नुभयो, ‘तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय वर्ष सम्म कुव्यवाहर गरेर राख्नेछन्। तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, ‘तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।’ “परमेश्वरले अब्राहामसँग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए।
प्रेरित 7:2-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला– हाम्रा पुर्खा अब्राहाम हारान भन्ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्ने देशमा बस्थे। त्यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्वरले दर्शन दिनुभयो। परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘आफ्नो देश र कुटुम्बलाई छोड् अनि मैले तँलाई देखाउने देशमा जा’। त्यसो हुँदा अब्राहाम कल्दीहरूको देशबाट निक्लेर हारानमा गए र त्यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्वरले तिनलाई तपाईंहरू अहिले बस्नुभएको यही देशमा ल्याउनुभयो। त्यस बेला परमेश्वरले अब्राहामलाई यस देशमा आफ्नो पाइलो राख्नेसम्म जमिन पनि दिनुभएन। तर परमेश्वरले ‘यो देश तँ र तेरा सन्तानलाई दिनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा गर्नुहुँदा अब्राहामका छोरा-छोरी नै भएका थिएनन्। परमेश्वरले अब्राहामलाई अझै भन्नुभयो, ‘तेरा सन्तानहरू विदेशमा गएर बस्नेछन्। त्यहाँका मानिसहरूले तिनीहरूलाई कमारा बनाउनेछन् र चार सय वर्षसम्म ठूलो दु:ख दिनेछन्। तर तिनीहरूलाई कमारो बनाउने मानिसहरूलाई म दण्ड दिनेछु। त्यसपछि तिनीहरू त्यस देशबाट निक्लनेछन् र यहाँ आएर मेरो सेवा र आराधना गर्नेछन्’। “अनि परमेश्वरले अब्राहामसँग वाचा बाँध्नुभयो र त्यस वाचाको सम्झना गराउनका लागि शरीरमा खतना गर्ने आज्ञा दिनुभयो। त्यसपछि अब्राहामका छोरा इसहाकको जन्म भयो। अब्राहामले आफ्नो छोरालाई जन्मेको आठौँ दिनमा खतना गरिदिए। इसहाकले आफ्नो छोरा याकूबलाई अनि याकूबले पनि आफ्ना बाह्रै छोराहरूलाई शरीरको खतना गरिदिए। अब यिनीहरू नै हाम्रा बाह्र कुलका पुर्खा हुन आएका हुन्।