प्रेरित 6:12-15
प्रेरित 6:12-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले जनता, धर्म-गुरु र शास्त्रीहरूलाई भड्काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए। तिनीहरूले यसो भन्ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्थान र व्यवस्थाको विरुद्धमा कुराहरू बोल्न छोड्दैन। किनभने यसले यसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।” महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्वर्गदूतको मोहड़ाजस्तै देखे।
प्रेरित 6:12-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए। तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ। ‘नासरतका येशूले यो स्थान नष्ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।” महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे।
प्रेरित 6:12-15 पवित्र बाइबल (NERV)
यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर। तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ। नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।” सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।
प्रेरित 6:12-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी तिनीहरूले जनता र महासभामा बस्ने अगुवा र धर्म-गुरुहरूलाई पनि उस्काए। तिनीहरूले स्तिफनसलाई पक्रेर महासभाको अगाडि ल्याए। त्यसपछि तिनीहरूले स्तिफनसको बारेमा झूट बोल्ने मानिसहरूलाई ल्याए। झूट बोल्ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्ने गर्छ। नासरतका येशूले यस मन्दिरलाई भत्काउनेछ र हामीले मोशादेखि नै मान्दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्ता-यस्ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।” त्यतिखेर महासभामा बस्नेहरू सबैले स्तिफनसलाई एकोहोरो हेरि नै रहे। तिनको अनुहारचाहिँ स्वर्गदूतको जस्तो उज्यालो भएर चम्किरहेको थियो।