प्रेरित 20:1-12
प्रेरित 20:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो खैलाबैला थामिएपछि पावलले चेलाहरूलाई डाकिपठाए, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूसँग बिदा भई माकेडोनियातर्फ लागे। त्यहाँका इलाकाहरूमा गएर तिनीहरूलाई धेरै प्रोत्साहन दिएपछि तिनी ग्रीसमा गए। त्यहाँ तिनले तीन महिना बिताए। तिनी सिरियातर्फ जहाजद्वारा यात्रा गर्न लाग्दा यहूदीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेका हुनाले पावलले माकेडोनिया भएरै फर्कने निश्चय गरे। तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए। यिनीहरू अगाडि नै पुगेर हामीलाई त्रोआसमा पर्खिरहेका थिए। तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्यहाँ सात दिन रह्यौं। हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं, तब पावलले चाहिँ भोलिपल्ट जाने इच्छा गरेका हुनाले, तिनीहरूसँग मध्यरातसम्म बातचीत गरिरहे। हामी भेला भएको माथिल्लो तलाको कोठामा धेरै बत्तीहरू थिए। युटिकस नाउँ भएको एक जना युवक झ्यालमा बसेको थियो। पावलले धेरै बेरसम्म कुरा गरिरहँदा त्यो गहिरो निद्रामा पर्यो र निद्राको वशमा परी त्यो तेस्रो तलाबाट खस्यो र त्यसलाई तिनीहरूले मृत अवस्थामा उठाए। तब पावल तल ओर्ले, र घोप्टो परी त्यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्यो जीवितै छ।” तब तिनी माथि उक्ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्यालो नभइञ्जेल धेरै बेर बातचीत गरिबसे। त्यसपछि बिदा भए। अनि तिनीहरूले त्यस युवकलाई जीवित अवस्थामै लगे र धेरै सान्त्वना पाए।
प्रेरित 20:1-12 नेपाली समकालीन संस्करण (NCV)
जब शहरमा खैलाबैला शान्त भयो, तब पावलले आफ्ना चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए, र तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए। मानिसहरूलाई उत्साहका वचनहरू बोल्दै उनले त्यस क्षेत्रको यात्रा गरेर अन्त्यमा ग्रीसमा गए। त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनी जहाजबाट सिरियातिर जान लागेकै बेलामा यहूदीहरूले उनको विरुद्धमा षड्यन्त्र रचेको तिनले थाहा पाएर म्यासिडोनिया हुँदै फर्कने निर्णय गरे। उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए। ती मानिसहरू हामीभन्दा अघि गएर त्रोआसमा हामीलाई पर्खिबसे। तर हामी अखमीरी रोटीको चाडका दिनहरूपछि फिलिप्पीबाट यात्रा गरी पाँच दिनपछि त्रोआस पुगेर तिनीहरूलाई भेट्यौं र त्यहाँ हामी सात दिन बस्यौं। हप्ताको पहिलो दिन हामी रोटी भाँच्नलाई भेला भयौं। ती सबैलाई पावलले प्रचार गरे र भोलिपल्ट त्यो शहर छोड्ने तिनको विचार भएकोले आधा रातसम्म ती मानिसहरूसँग तिनले कुराकानी गरिरहे। हामी भेला भएको माथिल्लो तलाको कोठामा धेरै बत्तीहरू थिए। त्यस कोठाको झ्यालमा युटिकस नाउँको एकजना युवक बसिरहेको थियो; जब पावलले लामो समयसम्म वचन बोलिरहेको थियो, तब त्यो युवक गहिरो निद्रामा पर्यो; अनि त्यो तीन तलामाथिबाट तल भुइँमा खस्यो र मानिसहरू त्यसलाई उठाउन पुग्दा मरिसकेको अवस्थामा पाए। तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नहड्बडाउनुहोस्, यिनी जीवितै छन्।” त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए। ती मानिसहरूले त्यस युवकलाई जिउँदै अवस्थामा घर लगे र ठूलो सान्त्वना पाए।
प्रेरित 20:1-12 पवित्र बाइबल (NERV)
जब गडबडी शान्त भयो, पावलले येशूका चेलाहरूलाई उनलाई भेट्न भनी बोलाए। उनले तिनीहरूलाई उत्साह दिए र विदा लिए। पावल तिनीहरूसँग विदा लिएर म्यासिडोनिया गए। म्यासिडोनिया भएर जाँदा उनले येशूका चेलाहरूलाई उत्साह दिन धेरै कुरा गरे। तब उनी ग्रीस गए। उनी त्यहाँ तीन महीना बसे। उनी समुद्रयात्राबाट सिरिया जान ठीकठाक पर्दैथे, तर उनको विरुद्धमा केही यहूदीहरूले षड्यन्त्रहरू रचेका थिए। यसैले पावलले म्यासिडोनिया भएर सिरिया जाने निर्णय लिए। कतिपय मानिसहरू उनीसँग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए। तिनीहरू हामी भन्दा अघि गए अनि तिनीहरूले हामीहरूले हामीलाई त्रोअसमा पर्खिए। अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौं। हामी त्यहाँ सात दिन बस्यौं। सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसँग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे। हामी माथिल्लो तलामा जहाँ भेला भएका थियौं। त्यहाँ धेरै बत्तीहरू झिलिमिलि बलिरहेको थियो। त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पार्यो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको झ्यालबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब ऊ मरिसकेको थियो। पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।” पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए। मानिसहरूले त्यस युवकलाई लिएर घर गए। ऊ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो।
प्रेरित 20:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो होहल्ला शान्त भएपछि पावलले प्रभु येशूका चेलाहरूलाई जम्मा गरे र उनीहरूलाई विश्वासमा हौसला मिलोस् भन्ने शिक्षा दिएर बिदा भई माकेडोनिया इलाकातिर गए। त्यहाँ पुगेपछि उनले ठाउँ-ठाउँमा गएर प्रभुका चेलाहरूलाई हौसलाले भरिएको शिक्षा दिए। त्यसपछि उनी ग्रीस देशमा आइपुगे र तीन महिनासम्म त्यहीँ बसे। त्यसपछि पावलले पानीजहाजबाट सोझै सिरिया इलाका जाने विचार गरे। यसरी जान लाग्दा यहूदीहरूले उनको विरोधमा जाल रच्दै छन् भन्ने कुरा उनले थाहा पाए। त्यसो हुँदा उनले पानीजहाजबाट नगई हिँडेर माकेडोनिया हुँदै जाने निधो गरे। यस यात्रामा उनलाई विभिन्न मण्डलीका दाजुभाइहरूले साथ दिए। ती साथ दिनेहरूमध्ये बेरिया सहरमा बस्ने पुरसका छोरा सोपात्रोस, थेसलोनिके सहरमा बस्ने अरिस्तार्खस र सिकन्दस, डर्बी सहरमा बस्ने गायस र तिमोथी अनि एशिया इलाकाबाट आएका तुखिकस र त्रोफिमस थिए। तिनीहरूचाहिँ हामीभन्दा अगाडि नै गए र हामीलाई त्रोआस सहरमा पर्खिबसे। हामीचाहिँ निस्तार चाड मनाइसकेपछि फिलिप्पी सहरबाट समुद्रको बाटो हुँदै गयौं अनि पाँच दिनपछि तिनीहरूलाई त्रोआस सहरमा भेट्यौं। त्यहाँ हामीहरू एक हप्तासम्म बस्यौं। आइतबार बेलुकी हामी त्यहाँ भएका प्रभुका चेलाहरूसँग प्रभु-भोज खानको लागि जम्मा भयौं। पावलले तिनीहरूका सामु बोल्न लागे। भोलिपल्ट जानुपर्ने भएकोले आधा रातसम्म उनी बोल्दैरहे। हामी जम्मा भएको माथिल्लो तलामा धेरै बत्तीहरू बलिरहेका थिए। झ्यालमा युटिकस भन्ने एउटा केटो बसिरहेको थियो। पावल बोल्दाबोल्दै त्यो केटो निदाएर झुल्न थाल्यो। यसरी झुल्दाझुल्दै ऊ पूरै निदाएछ र माथिको तेस्रो तलाबाट तल जमिनमा खस्यो। उसलाई उठाउन जाँदा ऊ मरिसकेको थियो। पावल तल ओर्लिए र उसमाथि पसारिएर उसलाई अँगालो हाल्दै वरिपरि भएका मानिसहरूलाई भने, “तिमीहरू नआत्तिओ, यो केटो त जिउँदै छ।” त्यसपछि पावल माथिको तलामा उक्लिए र सबै मिलेर प्रभु-भोज खाए। प्रभु-भोज खाएपछि पावलले उज्यालो नहुञ्जेल तिनीहरूसँग कुरा गरे। त्यसपछि उनी तिनीहरूबाट बिदा लिएर हिँडे। त्यहाँका चेलाहरूले चाहिँ त्यस केटालाई घरमा पुर्याइदिए। त्यो केटा बाँचेकाले सबै खुसी भए।