त्यो होहल्ला शान्त भएपछि पावलले प्रभु येशूका चेलाहरूलाई जम्मा गरे र उनीहरूलाई विश्वासमा हौसला मिलोस् भन्ने शिक्षा दिएर बिदा भई माकेडोनिया इलाकातिर गए। त्यहाँ पुगेपछि उनले ठाउँ-ठाउँमा गएर प्रभुका चेलाहरूलाई हौसलाले भरिएको शिक्षा दिए। त्यसपछि उनी ग्रीस देशमा आइपुगे र तीन महिनासम्म त्यहीँ बसे। त्यसपछि पावलले पानीजहाजबाट सोझै सिरिया इलाका जाने विचार गरे। यसरी जान लाग्दा यहूदीहरूले उनको विरोधमा जाल रच्दै छन् भन्ने कुरा उनले थाहा पाए। त्यसो हुँदा उनले पानीजहाजबाट नगई हिँडेर माकेडोनिया हुँदै जाने निधो गरे। यस यात्रामा उनलाई विभिन्न मण्डलीका दाजुभाइहरूले साथ दिए। ती साथ दिनेहरूमध्ये बेरिया सहरमा बस्ने पुरसका छोरा सोपात्रोस, थेसलोनिके सहरमा बस्ने अरिस्तार्खस र सिकन्दस, डर्बी सहरमा बस्ने गायस र तिमोथी अनि एशिया इलाकाबाट आएका तुखिकस र त्रोफिमस थिए। तिनीहरूचाहिँ हामीभन्दा अगाडि नै गए र हामीलाई त्रोआस सहरमा पर्खिबसे। हामीचाहिँ निस्तार चाड मनाइसकेपछि फिलिप्पी सहरबाट समुद्रको बाटो हुँदै गयौं अनि पाँच दिनपछि तिनीहरूलाई त्रोआस सहरमा भेट्यौं। त्यहाँ हामीहरू एक हप्तासम्म बस्यौं। आइतबार बेलुकी हामी त्यहाँ भएका प्रभुका चेलाहरूसँग प्रभु-भोज खानको लागि जम्मा भयौं। पावलले तिनीहरूका सामु बोल्न लागे। भोलिपल्ट जानुपर्ने भएकोले आधा रातसम्म उनी बोल्दैरहे। हामी जम्मा भएको माथिल्लो तलामा धेरै बत्तीहरू बलिरहेका थिए। झ्यालमा युटिकस भन्ने एउटा केटो बसिरहेको थियो। पावल बोल्दाबोल्दै त्यो केटो निदाएर झुल्न थाल्यो। यसरी झुल्दाझुल्दै ऊ पूरै निदाएछ र माथिको तेस्रो तलाबाट तल जमिनमा खस्यो। उसलाई उठाउन जाँदा ऊ मरिसकेको थियो। पावल तल ओर्लिए र उसमाथि पसारिएर उसलाई अँगालो हाल्दै वरिपरि भएका मानिसहरूलाई भने, “तिमीहरू नआत्तिओ, यो केटो त जिउँदै छ।” त्यसपछि पावल माथिको तलामा उक्लिए र सबै मिलेर प्रभु-भोज खाए। प्रभु-भोज खाएपछि पावलले उज्यालो नहुञ्जेल तिनीहरूसँग कुरा गरे। त्यसपछि उनी तिनीहरूबाट बिदा लिएर हिँडे। त्यहाँका चेलाहरूले चाहिँ त्यस केटालाई घरमा पुर्याइदिए। त्यो केटा बाँचेकाले सबै खुसी भए।
प्रेरित 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 20:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू