प्रेरित 14:21-25
प्रेरित 14:21-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले त्यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्त्रा, आइकोनियन र एन्टिओखियामा फर्के, चेलाहरूका आत्मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्वासमा रहिरहने अर्ती दिए, र धेरै कष्ट सहेर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने। जब तिनीहरूले उनीहरूको हरेक मण्डलीमा एल्डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्वास गरेका प्रभुको जिम्मामा उनीहरूलाई सुम्पिदिए। त्यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए। पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे।
प्रेरित 14:21-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के। ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।” पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए। त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए। अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए।
प्रेरित 14:21-25 पवित्र बाइबल (NERV)
पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए। ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।” तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे। पावल र बर्णाबास पिसिदिया देश भएर प्यामफिलिया भन्ने देशमा आए। तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए।
प्रेरित 14:21-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पावल र बारनाबासले डर्बी सहरमा सुसमाचार प्रचार गरेर धेरैलाई प्रभु येशूका चेला बनाए। त्यसपछि तिनीहरू लुस्त्रा र आइकोनियन सहरबाट भएर पिसिदिया क्षेत्रको एन्टिओखियामा फर्के। तिनीहरूले ती ठाउँहरूमा भएका प्रभुका चेलाहरूलाई बलियो बनाउँदै विश्वासमा रहिरहने हौसला दिए। “परमेश्वरको राज्यमा पुग्नुभन्दा अघि हामीले दु:ख, कष्ट र खेदो सहनुपर्छ,” भन्ने कुरा सिकाए। तिनीहरूले प्रत्येक मण्डलीमा धर्म-गुरूहरू नियुक्त गरिदिए अनि उपवास बसेर प्रार्थना गर्दै ती चेलाहरूलाई आफूले विश्वास गरेका प्रभुको चरणमा सुम्पिदिए। पिसिदिया इलाका भएर तिनीहरू पामफिलिया क्षेत्रमा फर्केर आए। पर्गा क्षेत्रमा पनि तिनीहरूले प्रभु येशू ख्रीष्टको प्रचार गरे। त्यसपछि तिनीहरू अटालिया सहरतिर झरे।