YouVersion लोगो
खोज आइकन

प्रेरित 14

14
आइकोनियनमा पावल र बारनाबास
1अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्‍तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्‍वास गर्‍यो। 2तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ अन्‍यजातिहरूलाई भड्‌काएर भाइहरूका विरुद्ध उनीहरूको मन तीतो पारिदिए। 3प्रभुको भरोसामा साहससँग बोल्‍दै धेरै समयसम्‍म पावल र बारनाबास त्‍यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्‍हहरू र अचम्‍मका कामहरू गराईकन आफ्‍नो अनुग्रहका वचनको गवाही दिनुभयो। 4तर सहरका मानिसहरूमा फाटो हुन गयो, र कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे। 5अन्‍यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्‍ने प्रयत्‍न गरे। 6तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्‍त्रा, डर्बी र छेउछाउका जिल्‍ला हुँदो भागेर गए, 7र त्‍यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे।
लुस्‍त्रा र डर्बीमा
8अब लुस्‍त्रा सहरमा खुट्टा चलाउन नसक्‍ने एक जना मानिस बसिरहेको थियो। त्‍यो जन्‍मैको लङ्गड़ो थियो, र कहिल्‍यै हिँड़ेको थिएन। 9पावलले बोलेको त्‍यसले सुन्‍दैथियो। पावलले त्‍यसलाई एकटक लगाएर हेरे, र निको हुने त्‍यसको विश्‍वास छ भन्‍ने देखिकन 10ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्‍यो जुरुक्‍क उठ्यो र हिँड्‌न लाग्‍यो।
11जब पावलले गरेको यो काम भीड़ले देख्‍यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्‍च सोरले यसो भने, “देवहरू मान्‍छेको रूपमा हामीकहाँ ओर्लेर आएछन्‌।” 12तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्‍न लागे, किनकि यिनीचाहिँ मुख्‍य वक्ता थिए। 13सहरको अगिल्‍तिर भएको जिउसको मन्‍दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्‍याएर त्‍यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्‍छा गरे।
14तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्‍नो वस्‍त्र च्‍याती यसो भन्‍दै कराएर मानिसहरूका बीचमा दौड्‌दैगए र भने, 15“मानिसहरू हो, तपाईंहरू किन यस्‍तो काम गर्नुहुन्‍छ? हामी पनि त तपाईंहरूजस्‍तै दुःख-सुख भोग्‍ने मानिसहरू हौं, र तपाईंहरूलाई यी व्‍यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौं, जुन परमेश्‍वरले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।#प्रस २०:११; भज १४६:६ 16उहाँले अघि बितिसकेका पुस्‍तामा सब जातिहरूलाई आ-आफ्‍नै रीतिअनुसार चल्‍न दिनुभयो। 17तापनि उहाँले आफूलाई गवाहीविना छोड्‌नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्‍वर्गबाट पानीको झरी र फलवन्‍त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्‍दले सन्‍तुष्‍ट पार्नुभयो।” 18यी कुरा भनेर तिनीहरूले मुश्‍किलले तिनीहरूलाई बलि-पूजा चढ़ाउनबाट ती मानिसहरूलाई रोके।
19तर कुनै-कुनै यहूदीहरू एन्‍टिओखिया र आइकोनियनबाट त्‍यहाँ आइपुगे, र भीड़लाई मनाएर पावललाई ढुङ्गा बर्साए, र तिनी मरे होलान्‌ भन्‍ठानेर सहरदेखि बाहिर घिस्‍स्‍याएर लगे। 20तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्‍ट बारनाबाससँग निस्‍केर डर्बीमा गए।
सिरियाको एन्‍टिओखियामा
21तिनीहरूले त्‍यस सहरमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाए, र तिनीहरू लुस्‍त्रा, आइकोनियन र एन्‍टिओखियामा फर्के, 22चेलाहरूका आत्‍मालाई सुदृढ़ गराउँदै उनीहरूलाई विश्‍वासमा रहिरहने अर्ती दिए, र धेरै कष्‍ट सहेर हामी परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नुपर्छ भनी उनीहरूलाई भने। 23जब तिनीहरूले उनीहरूको हरेक मण्‍डलीमा एल्‍डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्‍वास गरेका प्रभुको जिम्‍मामा उनीहरूलाई सुम्‍पिदिए। 24त्‍यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए। 25पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे।
26अनि त्‍यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्‍टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्‍ति परमेश्‍वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो। 27जब तिनीहरू एन्‍टिओखियामा आइपुगे, तब मण्‍डलीलाई भेला गराए, अनि परमेश्‍वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्‍यजातिहरूका निम्‍ति विश्‍वासको ढोका खोलिदिनुभयो सो सुनाए। 28तिनीहरू त्‍यहाँ चेलाहरूसँग निकै दिन बसे।

अहिले सेलेक्ट गरिएको:

प्रेरित 14: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्