प्रेरित 10:1-43
प्रेरित 10:1-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्ने पल्टनका एक कप्तान थिए। तिनी ईश्वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे। तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्ट रूपले परमेश्वरका एउटा स्वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!” भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्नुहोस्।” अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन्। अब मानिसहरूलाई योप्पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।” जब तिनीसँग बोल्ने स्वर्गदूत बिदा भए, तब तिनले आफ्ना नोकरहरूमध्ये दुई जना र निरन्तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए, र तिनीहरूलाई सबै कुरा बताएर योप्पामा पठाए। भोलिपल्ट तिनीहरू आफ्नो यात्रामा त्यस सहरको नजिक आइपुग्दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्ले। तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्यान-मग्न भए। तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्नाजस्तो केही पृथ्वीतिर झरिरहेको देखे। त्यस तन्नामा पृथ्वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए। तब तिनले एउटा आवाज सुने, “ए पत्रुस उठ, र मारेर खाऊ।” तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।” त्यो आवाज फेरि दोस्रो पल्ट तिनले सुने, “परमेश्वरले जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नठान।” तीन पल्टसम्म यस्तो भयो, र तुरुन्तै त्यो तन्ना स्वर्गतिर लगियो। जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्योलमा परेका थिए, त्यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोका अगाडि खड़ा भए, “पत्रुस भनिने सिमोन यहाँ बसेका छन् कि?” भनी उच्च सोरमा सोधे। जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्दैछन्। उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।” तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?” तिनीहरूले भने, “एक जना कप्तान कर्नेलियस, जो सोझा र परमेश्वरसँग डराउने र सारा यहूदी जातिबाट सम्मान पाएका व्यक्ति हुनुहुन्छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्देश सुन्नू भनी एउटा पवित्र स्वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ। तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्कार गरे। भोलिपल्ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्पाका कतिपय भाइहरू तिनको साथ लागे। पर्सिपल्ट तिनीहरू कैसरिया पुगे। आफ्ना कुटुम्बहरू र घनिष्ठ मित्रहरूलाई बोलाएर जम्मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए। जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्डवत् गरे। तर पत्रुसले उनलाई यसो भन्दै उठाए, “उठ्नुहोस्, म आफै पनि त मानिस नै हुँ।” तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्यहाँ तिनले धेरै जना जम्मा भएका भेट्टाए। तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्नू भनी देखाउनुभएको छ। यसैकारण डाक्ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्नुभयो? अब भन्नुहोस्।” तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्ने खड़ा भए, र भने, ‘कर्नेलियस, परमेश्वरको सामुन्ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्झना भएको छ। यसकारण योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्।’ तब मैले तुरुन्तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्न हामी सबै परमेश्वरको सामुन्ने यहाँ उपस्थित छौं।” तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ। परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश, अर्थात् ख्रीष्टद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्छ।) यूहन्नाले प्रचार गरेको बप्तिस्मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो, कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। “अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्ड्याएर पनि मारे। उहाँलाई नै परमेश्वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्वरले साक्षीको रूपमा छान्नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्यौं। उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्यायकर्ता हुनलाई परमेश्वरद्वारा नियुक्त हुनुभएको व्यक्ति हुनुहुन्छ भन्ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”
प्रेरित 10:1-43 नेपाली समकालीन संस्करण (NCV)
कैसरियास्थित इटालीया नाउँको पल्टनमा कर्नेलियस नाउँका एकजना कप्तान थिए। तिनी र तिनका सारा परिवार भक्ति गर्ने साथै परमेश्वरको डर मान्थे; तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्वरलाई निरन्तर प्रार्थना गर्ने गर्थे। एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्वरका एकजना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए। भयभीत हुँदै कर्नेलियसले उहाँलाई एक टकले हेरे। तिनले सोधे, “हजुर प्रभु?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ। अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छाला बनाउनेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।” आफूसँग कुरा गर्ने स्वर्गदूत बिदा भएपछि, कर्नेलियसले आफ्ना दुईजना चाकरहरू र एकजना परमेश्वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो। आफूसँग घटेको सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा शहर पठाए। त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा शहरको नजिकै पुगिरहेका थिए, पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए। उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए। अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्नाजस्तो कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको देखे। यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए, पत्रुस उठ! तिनीहरूलाई मारेर खाऊ।” तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरो कहिल्यै खाएको छैनँ।” त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।” अनि तीनपल्टसम्म त्यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो। त्यस दृष्यको अर्थ के हुन सक्छ भनी यस बारेमा पत्रुस घोरिइरहेकै समयमा कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर पत्तो लगाई उनको ढोकामा आइपुगे। पत्रुसका नामले चिनिने सिमोन यसै घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे। पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्। त्यसैले उठ र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।” तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस मै हुँ। तिमीहरू किन आएका छौ?” ती मानिसहरूले जवाफ दिए, “कप्तान कर्नेलियसले पठाएर हामी आएका हौं। उहाँ धर्मी र परमेश्वरको भय मान्ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एकजना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्न सकून्।” त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन तिनीहरूसँग पत्रुसले आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए। भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए र उनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए। जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले उनीसँग भेटे र श्रद्धाका साथ तिनले उनको खुट्टामा दण्डवत् गरे। तर पत्रुसले तिनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफू पनि मान्छे नै हुँ।” उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएको तिनले पाए। उनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरो जान्नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई अपवित्र वा अशुद्ध मैले भन्नु हुँदैन भनेर परमेश्वरले मलाई देखाउनुभएको छ। त्यसैले, जब मलाई तपाईंले बोलाउनुभयो, कुनै प्रश्न नगरीकनै म यहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई तपाईंले कति कारणले बोलाउनुभएको हो?” कर्नेलियसले जवाफ दिए: “तीन दिन अघि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एकजना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने, ‘कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ। त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छाला बनाउनेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’ त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; र तपाईं दया गरीकन आउनुभयो। अब हामीलाई भन्नका निम्ति प्रभुले तपाईंलाई निर्देशन दिनुभएको सबै कुरा सुन्न परमेश्वरको उपस्थितिमा हामी सबै यहाँ प्रतीक्षा गरिरहेका छौं।” अनि पत्रुसले भन्न थाले: “अब मैले बुझे यो सत्य रहेछ,” परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक मानिसमा उहाँको भय मान्ने र सही काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्ने कुरा कति साँचो रहेछ। हामी सबैका प्रभु येशू ख्रीष्टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्नुहुन्छ। यूहन्नाले गालीलमा सुरु गरेको बप्तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्नुहुन्छ। पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्वरले नासरतका येशू ख्रीष्टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहा छ। “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौं। उहाँलाई नै काठमा झुण्ड्याई तिनीहरूले मारे। तर मृत्युको तेस्रो दिन परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो र उहाँलाई प्रकट गराउनुभयो। सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौं, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्यौं। उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्वरले जीवित र मृतहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो। उहाँमा विश्वास गर्ने हरेक मानिसले उहाँकै नाउँद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।”
प्रेरित 10:1-43 पवित्र बाइबल (NERV)
सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो। कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँच्चो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे। एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे। कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, “तपाईं के चाहनु हुन्छ, प्रभु?” स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ। केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ। शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।” कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो। कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए। अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो। पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे। उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो। नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिँड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू। त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।” तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।” तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!” यस्तो घट्ना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो। यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे। यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए। तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?” पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्। उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसँग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।” तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?” ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथ्यो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।” पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे। अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए। अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए। जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।” पत्रुस कर्नीलियसँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे। उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसँग यसरी सँगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन। त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो” कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए। तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’ यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ” पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ। परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो। “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो। तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ। “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे। तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसँगै खाना-पिना गर्यौं। “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो। प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”
प्रेरित 10:1-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कैसरिया सहरमा कर्नेलियस नाउँ भएका एक जना मानिस बस्थे। उनी रोमी सेनाको इटालिया भन्ने पल्टनका कप्तान थिए। उनी परमेश्वरका भक्त थिए। उनी र उनको परिवार परमेश्वरको डर राख्ने मानिसहरू थिए। उनले खाँचोमा परेका मानिसहरूलाई उदार चित्तले सहायता गर्थे र सधैँ परमेश्वरसँग प्रार्थना गर्थे। एक दिन कर्नेलियसले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्टसँग परमेश्वरको एउटा स्वर्गदूतलाई देखे। स्वर्गदूतले कर्नेलियसलाई भने, “ए कर्नेलियस!” डरले स्वर्गदूतलाई हेरेको हेरेकै भएर कर्नेलियसले भने, “आज्ञा होस् हजुर!” स्वर्गदूतले भने, “तिम्रा प्रार्थनाहरू र तिमीले गरीबहरूलाई गरेको दयाका कामहरू परमेश्वरकहाँ पुगेका छन्। यी सबैको उहाँले याद राख्नुभएको छ। अब तिमीले योप्पा सहरमा भएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। तिनी छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्, जसको घर समुद्रको छेउमा छ।” यति भनेर स्वर्गदूत कर्नेलियसबाट बिदा भए। त्यसपछि कर्नेलियसले आफ्ना दुई नोकर र परमेश्वरलाई मान्ने एउटा सिपाहीलाई बोलाए। त्यो सिपाहीले चाहिँ सधैँ कर्नेलियसको सेवा-टहल गर्दथ्यो। कर्नेलियसले आफूले देखेका सबै कुरा बताएर तिनीहरूलाई योप्पा सहरमा पठाए। भोलिपल्ट दिउँसो बाह्र बजेतिर तिनीहरू योप्पा सहरको नजिक आइपुगे। त्यति बेला पत्रुस घरको छतमा प्रार्थना गर्न उक्ले। प्रार्थना गर्दागर्दै उनलाई भोक लाग्यो र खाना तयार भइरहेको बेला पत्रुसले ध्यान-मग्न भएर एउटा अचम्मको कुरा देखे– स्वर्ग उघ्रिएको र त्यहाँबाट ठूलो तन्ना चार कुनामा समातिएर पृथ्वीतिर झरिरहेकोजस्तो चीज देखे। त्यस तन्नामा नाना थरीका चारखुट्टे पशुहरू, घस्रने जीवजन्तु र आकाशका चरा-चुरुङ्गीहरू थिए। “ए पत्रुस, उठ र यिनीहरूलाई मारेर खाऊ,” भन्ने आवाज पत्रुसले सुने। “होइन प्रभु, यस्तो कुरा कसरी खान सक्छु र! यस्ता खान नहुने अशुद्ध कुरा मैले कहिल्यै पनि खाएको छैनँ!” भनेर पत्रुसले जवाफ दिए। तर फेरि यस्तो आवाज आयो, “परमेश्वरले शुद्ध ठहराउनुभएको चीजलाई तिमीले अशुद्ध नठान।” तीनपल्टसम्म यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना स्वर्गतिर उचालियो। आफूले देखेको यो कुरा नबुझेर पत्रुस अकमक्क परे। त्यति बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर पुगेर ढोकामा उभिए। तिनीहरूले बोलाउँदै सोधे, “पत्रुस भनिने सिमोन यहाँ हुनुहुन्छ कि?” त्यतिखेर पत्रुसचाहिँ अझै आफूले देखेको दर्शन बुझ्ने कोसिस गरिरहेका थिए। परमेश्वरको आत्माले तिनलाई भन्नुभयो, “सुन, तल तीन जना मानिसहरूले तिमीलाई खोज्दै छन्। तल ओर्लेर आनाकानी नगरी तिनीहरूसँगै जाऊ किनभने मैले तिनीहरूलाई पठाएको हुँ।” पत्रुस तल झरे र ती मानिसहरूलाई भने, “तपाईंहरूले खोज्नुभएको मानिस मै हुँ। तपाईंहरू कति कामले आउनुभयो?” तिनीहरूले भने, “कप्तान कर्नेलियसले हामीलाई पठाउनुभएको हो। उहाँ असल र परमेश्वरको डर मान्ने मानिस हुनुहुन्छ। उहाँलाई यहूदी जातिहरूले पनि आदर गर्छन्। एउटा पवित्र स्वर्गदूत उहाँकहाँ देखा परे अनि तपाईंलाई उनको घरमा बोलाएर तपाईंका उपदेश सुन्ने आज्ञा स्वर्गदूतले दिनुभएको छ।” यो सुनेर पत्रुसले ती मानिसहरूलाई भित्र लगेर स्वागत-सत्कार गरे। तिनीहरू त्यस रात त्यहीँ नै बसे। भोलिपल्ट पत्रुस र योप्पामा भएका प्रभुमा विश्वास गर्ने केही दाजुभाइहरू ती मानिसहरूसँगै गए। पर्सिपल्ट तिनीहरू कैसरियामा आइपुगे। कर्नेलियसले चाहिँ आफ्ना इष्टमित्रहरूलाई निम्त्याएर पत्रुसको बाटो हेरिरहेका थिए। पत्रुस आएर भित्र जान लाग्दा कर्नेलियसले उनका खुट्टामा ढोगे। तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस्, म त मामुली मानिस मात्रै हुँ।” पत्रुस कर्नेलियससँग कुरा गर्दै घरभित्र पसे। त्यहाँ तिनले धेरै मानिसहरूलाई जम्मा भएका देखे। पत्रुसले तिनीहरूलाई भने, “हामी यहूदीहरूलाई अरू जातिका मानिससँग सङ्गत गर्न वा भेटघाट गर्न हाम्रो धर्मले दिँदैन भन्ने कुरा तपाईंहरू सबैलाई थाहै छ। तर कुनै पनि मानिसलाई अशुद्ध ठहराउनुहुँदैन भनेर अब परमेश्वरले मलाई देखाउनुभएको छ। यसैकारण तपाईंले मलाई बोलाउँदा म नअन्कनाई आएँ। अब भन्नुहोस्, मलाई किन बोलाउनुभएको हो?” कर्नेलियसले भने, “चार दिन अघिको कुरा हो। दिउँसो तीन बजेतिर म घरमै प्रार्थना गर्दै थिएँ। अचानक चम्किलो लुगा लगाएका मानिसले मेरो सामुन्ने उभिएर भन्नुभयो, ‘ए कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई गरेको दयाको कामलाई याद गर्नुभएको छ। योप्पा सहरमा आएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। उनी समुद्रको छेउ छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्’। त्यसपछि मैले तुरुन्तै तपाईंलाई बोलाउन पठाएँ र तपाईं पनि यहाँसम्म कष्ट गरेर पाल्नुभयो। अब परमेश्वरले तपाईंलाई आज्ञा गर्नुभएको कुरा सुन्न हामी सबै प्रभुकै सामुन्ने भेला भएका छौं।” पत्रुसले भन्न सुरु गरे, “साँच्चै परमेश्वरले सबै मानिसलाई समान व्यवहार गर्नुहुन्छ। यो कुरा अब मलाई थाहा भयो। मानिस जुनसुकै जातिको होस्, परमेश्वरको आदर गर्ने र ठीक काम गर्ने मानिसलाई नै उहाँले मन पराउनुहुन्छ। तपाईंलाई थाहा छ कि येशू सबैका प्रभु हुनुहुन्छ। परमेश्वरले उहाँद्वारा शान्ति दिने सुसमाचार इस्राएलीहरूमा पठाउनुभयो। यूहन्नाले बप्तिस्माको प्रचार गरेपछि गालील क्षेत्रदेखि सुरु भएर यहूदिया देशभरि घटेका घटनाको बारेमा तपाईंहरूलाई थाहै छ। परमेश्वरले नासरतका येशूलाई खटाएर आफ्नै पवित्र आत्मा र शक्ति उहाँमा खन्याउनुभयो। परमेश्वर उहाँसँग हुनुभएकोले उहाँ भलाइको काम गर्दै भूत लागेकाहरूलाई निको पार्दै सबै ठाउँतिर जानुभयो। उहाँले यहूदिया देश र यरूशलेममा गर्नुभएका सबै कुराको हामी साक्षी छौं। यहूदीहरूले उहाँलाई क्रूसमा झुण्डाएर मारे। तर तेस्रो दिनमा परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो र मानिसहरूले उहाँलाई देख्न पाए। सबैकहाँ त उहाँ देखा पर्नुभएन, तर उहाँ बिउँतनुभएपछि उहाँसँगै खानपिन गर्ने हामीसँग देखा पर्नुभयो किनभने परमेश्वरले हामीलाई यो घटनाको साक्षी बनाउन अघिबाटै चुन्नुभएको थियो। सुसमाचार प्रचार गर्न र परमेश्वरले उहाँलाई जिउँदा र मरेकाहरूको न्याय गर्न खटाउनुभएको छ भनी साक्षी दिन हामीलाई आज्ञा दिनुभयो। अगमवक्ताहरूले पनि उहाँको बारेमा बताएका थिए। उहाँमा विश्वास गर्ने जतिले उहाँकै नाउँको शक्तिले गर्दा आफ्ना पापबाट क्षमा पाउनेछन् भनी तिनीहरूले अघि नै जनाएका थिए।”