YouVersion लोगो
खोज आइकन

प्रेरित 10:1-43

प्रेरित 10:1-43 NCV

कैसरियास्थित इटालीया नाउँको पल्टनमा कर्नेलियस नाउँका एकजना कप्‍तान थिए। तिनी र तिनका सारा परिवार भक्‍ति गर्ने साथै परमेश्‍वरको डर मान्थे; तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्ने गर्थे। एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्‍वरका एकजना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए। भयभीत हुँदै कर्नेलियसले उहाँलाई एक टकले हेरे। तिनले सोधे, “हजुर प्रभु?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ। अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छाला बनाउनेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।” आफूसँग कुरा गर्ने स्वर्गदूत बिदा भएपछि, कर्नेलियसले आफ्ना दुईजना चाकरहरू र एकजना परमेश्‍वरको भक्‍त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो। आफूसँग घटेको सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा शहर पठाए। त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा शहरको नजिकै पुगिरहेका थिए, पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए। उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए। अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्तो कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको देखे। यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए, पत्रुस उठ! तिनीहरूलाई मारेर खाऊ।” तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरो कहिल्यै खाएको छैनँ।” त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।” अनि तीनपल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो। त्यस दृष्‍यको अर्थ के हुन सक्छ भनी यस बारेमा पत्रुस घोरिइरहेकै समयमा कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर पत्तो लगाई उनको ढोकामा आइपुगे। पत्रुसका नामले चिनिने सिमोन यसै घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे। पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्। त्यसैले उठ र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।” तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस मै हुँ। तिमीहरू किन आएका छौ?” ती मानिसहरूले जवाफ दिए, “कप्‍तान कर्नेलियसले पठाएर हामी आएका हौं। उहाँ धर्मी र परमेश्‍वरको भय मान्‍ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एकजना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्‍न सकून्।” त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन तिनीहरूसँग पत्रुसले आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए। भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए र उनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए। जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले उनीसँग भेटे र श्रद्धाका साथ तिनले उनको खुट्टामा दण्डवत् गरे। तर पत्रुसले तिनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफू पनि मान्छे नै हुँ।” उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएको तिनले पाए। उनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरो जान्‍नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई अपवित्र वा अशुद्ध मैले भन्‍नु हुँदैन भनेर परमेश्‍वरले मलाई देखाउनुभएको छ। त्यसैले, जब मलाई तपाईंले बोलाउनुभयो, कुनै प्रश्न नगरीकनै म यहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई तपाईंले कति कारणले बोलाउनुभएको हो?” कर्नेलियसले जवाफ दिए: “तीन दिन अघि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एकजना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने, ‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ। त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छाला बनाउनेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’ त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; र तपाईं दया गरीकन आउनुभयो। अब हामीलाई भन्‍नका निम्ति प्रभुले तपाईंलाई निर्देशन दिनुभएको सबै कुरा सुन्‍न परमेश्‍वरको उपस्थितिमा हामी सबै यहाँ प्रतीक्षा गरिरहेका छौं।” अनि पत्रुसले भन्‍न थाले: “अब मैले बुझे यो सत्य रहेछ,” परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न, तर हरेक मानिसमा उहाँको भय मान्‍ने र सही काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्‍ने कुरा कति साँचो रहेछ। हामी सबैका प्रभु येशू ख्रीष्‍टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्‍वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्‍नुहुन्छ। यूहन्‍नाले गालीलमा सुरु गरेको बप्‍तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्‍नुहुन्छ। पवित्र आत्मा र शक्‍तिसँग कसरी परमेश्‍वरले नासरतका येशू ख्रीष्‍टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्‍वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहा छ। “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौं। उहाँलाई नै काठमा झुण्ड्याई तिनीहरूले मारे। तर मृत्युको तेस्रो दिन परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो र उहाँलाई प्रकट गराउनुभयो। सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्‍वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौं, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्‍यौं। उहाँ नै त्यो व्यक्‍ति हुनुहुन्छ, जसलाई परमेश्‍वरले जीवित र मृतहरूको न्यायकर्ताको रूपमा नियुक्‍त गर्नुभएको छ भन्‍ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो। उहाँमा विश्‍वास गर्ने हरेक मानिसले उहाँकै नाउँद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्‍त गर्दछ भनी अगमवक्‍ताहरूले साक्षी दिएका छन्।”

प्रेरित 10 पढ्नुहोस्

Video for प्रेरित 10:1-43