३ यूहन्ना 1:1-14
३ यूहन्ना 1:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एल्डरबाट, मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु। प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु। कति जना भाइहरू आएर तिम्रो जीवनका सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँच्ची नै सत्यताको अनुसरण गर्दछौ। मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ। तिनीहरूले मण्डलीको सामुन्ने तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्ध मिलाइदियौ भने तिमीले असल गर्दछौ। किनभने अविश्वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्केका हुन्। यसकारण यस्ता मानिसहरूलाई सेवा-सत्कार गर्नुपर्छ, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं। मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले मेरो अधिकार स्वीकार गर्दैन। यसकारण जब म आउँछु, त्यसले गरिरहेका कामहरूको कुरा उठाउनेछु। हाम्रा विरुद्धमा त्यसले खराब कुराहरू बकिहिँड्छ। त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई स्वागत गर्न इन्कार गर्छ, र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ। प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन। डेमेत्रियसको निम्ति त सबै मानिसले गवाही दिएका छन्, र सत्यले पनि सो गवाही दिन्छ। हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ कि हाम्रो गवाही सत्य छ। मैले धेरै कुराहरू लेख्नुपर्नेथियो, तर मसी र कलमले ती तिमीलाई लेख्न म चाहन्नँ। तर तिमीलाई चाँड़ै भेट्ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला।
३ यूहन्ना 1:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मण्डलीका प्रधानबाट, मेरा प्रिय मित्र गायस, जसलाई म सत्यतामा प्रेम गर्दछु। प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्। केही दाजुभाइ-दिदीबहिनीहरू आएर सत्यताको विषयमा तिम्रो विश्वासयोग्यता र तिमी कसरी निरन्तर हिँडिरहेका छौ भन्ने विषयमा साक्षी दिएकोले म धेरै आनन्दित भएको छु। मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्ने कुरा सुन्न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन। हे प्रिय मित्र, ती दाजुभाइ-दिदीबहिनीहरू तिम्रा लागि परदेशी भए तापनि तिमीले जे गर्दैछौ, त्यसमा तिमी विश्वासयोग्य छौ। तिनीहरूले तिम्रो प्रेमको विषयमा मण्डलीलाई साक्षी दिएका छन्। परमेश्वरलाई मनपर्ने रीतिले तिनीहरूलाई आफ्ना यात्रामा पठाऊ। तिनीहरू उहाँकै नामको निम्ति निस्केका हुन्, र गैरयहूदीहरूबाट कुनै सहायता लिएनन्। यसकारण सत्यताका निम्ति सँगै मिलेर काम गर्न सकौँ भन्नका लागि हामीले यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नैपर्छ। मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले हामीलाई स्वीकार गर्दैन। यसकारण म आएँ भने त्यसले गरिरहेका कामहरूबारे कुरा उठाउनेछु। त्यसले हाम्रा विरुद्धमा खराब कुराहरू बक्दै हिँड्छ। त्यतिमा पनि सन्तुष्ट नभएर त्यसले अरू विश्वासीहरूलाई स्वीकार गर्दैन र स्वीकार गर्न चाहनेहरूलाई पनि त्यसले रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ। हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन। डेमेत्रियसका विषयमा सबैले असल साक्षी दिएका छन्, र सत्यता स्वयम्ले पनि त्यही साक्षी दिन्छ। हामी पनि तिनको विषयमा असल बोल्छौँ, र हाम्रो साक्षी सत्य छ भनी तिमी जान्दछौ। मैले तिमीलाई लेख्नुपर्ने कुराहरू धेरै छन्, तर म कलम र मसीले ती लेख्न चाहन्नँ। म तिमीलाई चाँडै नै भेट्ने आशा गर्दछु, तब हामी आमने-सामने भएर कुरा गर्नेछौँ।
३ यूहन्ना 1:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्यारो गायसलाई, मैले तिमीलाई सत्य प्रेम गरेको छु। प्रिय भाइ, तिम्रा सबै कुरा राम्रा हुन् भनेर प्रार्थना गर्छु। तिम्रो आत्माजस्तै शरीर पनि निरोगी होस्। तिमी सत्यमा हिँडेर सत्यमा सधैँझैँ मग्न पनि छौ रे भनेर कति विश्वासी दाजुभाइहरू आएर मलाई भने। यो सुन्दा मलाई धेरै खुसी लाग्यो। आफ्ना बालकहरू सत्यमा नै लागिरहेका छन् भन्ने सुन्नु जतिको ठूलो आनन्द मलाई अरू के हुन सक्छ र? प्रिय भाइ, तिमीले इमानदारीसँग जे काम गर्यौ, सबै विश्वासी भाइहरूका लागि गर्यौ, त्यसमा पनि चिन्दै नचिनेकाहरूका लागि पनि गर्यौ। उनीहरूले मण्डलीको सामु तिम्रो प्रेमको बारेमा बताएका छन्। तिमीले परमेश्वरलाई मन पर्ने किसिमले उनीहरूलाई सहायता गरेर यात्रा जारिराख्न मद्दत दिए असल हुन्छ किनभने तिनीहरू प्रभुकै नाउँको लागि यात्रामा निस्केका छन् र प्रभुमा विश्वास नगर्नेहरूबाट केही नलिई आएका छन्। हामी विश्वासीहरूले यस्ता मानिसहरूलाई सहायता गर्नुपर्छ। यसरी सघाएर हामी सत्यको लागि काम गर्नेछौं। मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ। तर तिनीहरूका बीचमा आफूलाई ठूलो सम्झने डियोत्रिफसले मेरो कुरामा ध्यान दिँदैन। म त्यहाँ आउँदा तिमीहरू सबैलाई उनले हाम्रो विरोधमा के गरे, कस्तो नराम्रो कुरा भने, सो सुनाउनेछु। त्यति मात्र होइन, तिनले परदेशी भाइहरूका विरोध गर्दछन्, आउनै दिँदैनन् अनि उनीहरूको स्वागत गर्न खोज्नेहरूलाई मण्डलीबाट निकालि पनि दिन्छन्। प्रिय भाइ, नराम्रो कुरा कसैबाट पनि नसिक्नू, तर राम्रो कुरो मात्रै सिक। राम्रो गर्ने परमेश्वरको मानिस हो, नराम्रो गर्नेले परमेश्वरलाई चिनेकै हुँदैन। डेमेत्रियसलाई चाहिँ सबैले राम्रो भन्छन् र सत्य आफैंले पनि यो प्रमाण गर्छ। हामी पनि यसको साक्षी दिन्छौं। तिमीहरूलाई थाहै छ, हाम्रो साक्षी साँचो छ। मैले भन्ने कुरा त धेरै थियो, तर लेखेर होइन, कारण चाँडै हाम्रो भेट होला र सबै भनौंला।
३ यूहन्ना 1:1-14 पवित्र बाइबल (NERV)
अग्रजबाट अभिवादन! मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु। मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्। ख्रीष्टमा विश्वास रहेका कोही भाइहरू आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरूले भने कि तिमीले सत्यको मार्ग अनुशरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो। जब म मेरा बालकहरू सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ। मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरूलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरूलाई पनि सहयोग गरिरहेछौ। यी भाइहरूले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरूलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरूलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्। यी भाइहरू ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरूले ती मानिसहरूबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्। यसर्थ हामीले यस्ता भाइहरूलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरूलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरूले गरेको कार्यमा सहभागी बर्न्छौं। मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। ऊ सदैव तिनीहरूका नेता बन्न चाहन्छ। जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरूलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरू जसले भाइहरूलाई सहयोग गर्न चहान्छन् तिनीहरूलाई पनि वाधा दिन्छ अनि तिनीहरूलाई मण्डलीबाट बाहिर निकाली दिन्छ। मेरा प्रिय मित्रहरू! जे नराम्रो छ त्यसको अनुशरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने ऊ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन। सबै मानिसहरूले डेमेत्रियसको विषयमा असल कुराहरू गर्छन्। अनि त्यो सत्य तिनीहरूले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छौं। अनि तिमीहरू जान्दछौ कि हामी जे भन्छौं त्यो सत्य हो। मेरो तिमीहरूलाई धैरे कुराहरू भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ। म तिमीहरूसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौं।