३ यूहन्ना 1
1
मण्डलीका धर्म-गुरुबाट 1#प्रेरित 19:29; रोमी 16:23; १ कोरिन्थी 1:14प्यारो गायसलाई, मैले तिमीलाई सत्य प्रेम गरेको छु।
2प्रिय भाइ, तिम्रा सबै कुरा राम्रा हुन् भनेर प्रार्थना गर्छु। तिम्रो आत्माजस्तै शरीर पनि निरोगी होस्। 3तिमी सत्यमा हिँडेर सत्यमा सधैँझैँ मग्न पनि छौ रे भनेर कति विश्वासी दाजुभाइहरू आएर मलाई भने। यो सुन्दा मलाई धेरै खुसी लाग्यो। 4आफ्ना बालकहरू सत्यमा नै लागिरहेका छन् भन्ने सुन्नु जतिको ठूलो आनन्द मलाई अरू के हुन सक्छ र?
5प्रिय भाइ, तिमीले इमानदारीसँग जे काम गर्यौ, सबै विश्वासी भाइहरूका लागि गर्यौ, त्यसमा पनि चिन्दै नचिनेकाहरूका लागि पनि गर्यौ। 6उनीहरूले मण्डलीको सामु तिम्रो प्रेमको बारेमा बताएका छन्। तिमीले परमेश्वरलाई मन पर्ने किसिमले उनीहरूलाई सहायता गरेर यात्रा जारिराख्न मद्दत दिए असल हुन्छ 7किनभने तिनीहरू प्रभुकै नाउँको लागि यात्रामा निस्केका छन् र प्रभुमा विश्वास नगर्नेहरूबाट केही नलिई आएका छन्। 8हामी विश्वासीहरूले यस्ता मानिसहरूलाई सहायता गर्नुपर्छ। यसरी सघाएर हामी सत्यको लागि काम गर्नेछौं।
9मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ। तर तिनीहरूका बीचमा आफूलाई ठूलो सम्झने डियोत्रिफसले मेरो कुरामा ध्यान दिँदैन। 10म त्यहाँ आउँदा तिमीहरू सबैलाई उनले हाम्रो विरोधमा के गरे, कस्तो नराम्रो कुरा भने, सो सुनाउनेछु। त्यति मात्र होइन, तिनले परदेशी भाइहरूका विरोध गर्दछन्, आउनै दिँदैनन् अनि उनीहरूको स्वागत गर्न खोज्नेहरूलाई मण्डलीबाट निकालि पनि दिन्छन्।
11प्रिय भाइ, नराम्रो कुरा कसैबाट पनि नसिक्नू, तर राम्रो कुरो मात्रै सिक। राम्रो गर्ने परमेश्वरको मानिस हो, नराम्रो गर्नेले परमेश्वरलाई चिनेकै हुँदैन। 12डेमेत्रियसलाई चाहिँ सबैले राम्रो भन्छन् र सत्य आफैंले पनि यो प्रमाण गर्छ। हामी पनि यसको साक्षी दिन्छौं। तिमीहरूलाई थाहै छ, हाम्रो साक्षी साँचो छ।
13मैले भन्ने कुरा त धेरै थियो, तर लेखेर होइन, 14कारण चाँडै हाम्रो भेट होला र सबै भनौंला। 15तिमीलाई शान्ति होस्।
यहाँका सबै साथीले पनि अभिवादन पठाएका छन्, सबै साथीहरूलाई अभिवादन सुनाइदेओ।
अहिले सेलेक्ट गरिएको:
३ यूहन्ना 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.