२ थेसलोनिकी 2:1-17
२ थेसलोनिकी 2:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टका आगमनको विषयमा र उहाँलाई भेट्न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि कुनै अगमवाणी वा वचन वा कुनै पत्रले प्रभुको दिन नजिक आएको छ भनी बतायो भने, ती हामीबाट आएका भन्ठानेर तिमीहरूको मन चाँड़ै विचलित नहोस् अथवा तिमीहरू नआत्तिओ। कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन। त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ। के तिमीहरूलाई याद छैन, म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ? त्यो आफ्नो समयमा प्रकट होस् भन्ने हेतुले कुन कुराले त्यसलाई अहिलेसम्म रोकिराखेको छ, यो तिमीहरू जान्दछौ। किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्म जसले त्यसलाई रोकिराख्नुभएको छ, उहाँ नहटुञ्जेल त्यसलाई रोकी नै राख्नुहुनेछ। तब त्यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ। शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित, र नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे। यसैकारण तिनीहरूले झूटा कुरामा विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन्। प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्ति हामी परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउन बाध्य छौं, किनकि सुरुदेखि नै पवित्र आत्माको पवित्र तुल्याउने कामद्वारा र सत्यतामाथिको विश्वासद्वारा बाँच्नलाई परमेश्वरले तिमीहरूलाई चुन्नुभयो। यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो। यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस् तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख। अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले, तिमीहरूका हृदयलाई सान्त्वना देऊन् र हरेक असल काम र वचनमा तिमीहरूलाई स्थिर गराऊन्।
२ थेसलोनिकी 2:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाजुभाइहरू, हाम्रा प्रभु येशू ख्रीष्ट फेरि आउनुहुनेछ, उहाँकहाँ हामी भेला हुनेछौं। तर हामी तिमीहरूलाई बिन्ती गर्दछौं, हाम्रा प्रभु आउने दिन भयो भन्दा तिमीहरू नआत्तियौ नता बिचलित होओ। त्यस दिनको बारेमा कसैले हामीले पत्र लेखेजस्तै गरी पत्रले, कसैले आत्माले, कसैले बोलीले तिमीहरूलाई भन्लान्। तर तिमीहरूलाई कसैले पनि कुनै किसिमले झुक्याउन नपाओस्। परमेश्वरको विरोधमा ठूलो उपद्रो नभएसम्म र नाश हुनुपर्ने व्यवस्था भङ्ग गर्ने मानिस नआएसम्म प्रभुको दिन आउनेछैन। त्यस व्यवस्था भङ्ग गर्ने मानिसले आफैं ठूलो भएर मानिसहरूले परमेश्वर ठानेका सबै कुराहरूलाई र पूजा गर्ने गरेका सबै थोकको विरोध गर्नेछ। त्यसले त परमेश्वरको मन्दिरमा बसेर आफैंलाई परमेश्वर हुँ भन्नेछ। सँगै हुँदा यी सबै कुरा त मैले तिमीहरूलाई भनेको थिएँ, होइन? बेला भएपछि त्यो दुष्ट प्रकट हुनेछ। अहिले नै यो कुरो भैहाल्न नदिन थामिराखिएको छ। यो त तिमीहरूलाई थाहै छ। त्यो व्यवस्था भङ्ग गर्नेले आफ्ना कामहरू भित्रभित्रै सुरु गरिसकेको छ। तर त्यसलाई थामिराख्ने शक्ति नहटेसम्म यसको दुष्ट कामहरू बाहिर देखिनेछैनन्। यसलाई थामिराख्ने शक्ति हटेपछि त्यो व्यवस्था भङ्ग गर्ने मानिस देखा पर्नेछ। प्रभु येशू ख्रीष्ट आफ्नो उज्यालो शक्तिमा आउनुहुँदा त्यसलाई एक सासमा नै नाश गर्नुहुनेछ। त्यो व्यवस्था भङ्ग गर्नेले शैतानको शक्ति लिएर आउनेछ अनि सबै किसिमका झूटा चिन्ह र अचम्म-अचम्मका कामहरू गर्नेछ। नाश हुनेहरू जति सबैलाई त्यसले दुष्ट किसिमले छक्याउनेछ किनभने तिनीहरूले मुक्ति दिने सत्यलाई मन पराएनन्। त्यसकारण तिनीहरूले झूटा कुरा नै पत्याऊन् भनेर परमेश्वरले भर्माउने शक्तिलाई पठाउनुहुनेछ। तिनीहरूले सत्यमा विश्वास नगरेर अन्याय गर्न राम्रो ठानेकोले सजाय पाऊन् भनेर नै परमेश्वरले यसो गर्नुभएको हो। प्रभुले प्रेम गर्नुभएका दाजुभाइहरू, तिमीहरूका लागि हामीले सधैँ धन्यवाद चढाउनैपर्छ किनभने परमेश्वरले तिमीहरूलाई आत्माको पवित्रता र सत्य विश्वासमा सुरुमै मुक्ति दिन भन्नुभयो। यसैको निम्ति हामीहरूले सुनाएको सुसमाचारद्वारा परमेश्वरले तिमीहरूलाई बोलाउनुभयो। हाम्रा प्रभु येशू ख्रीष्टको सम्मान तिमीहरूले पनि पाउन नै उहाँले तिमीहरूलाई बोलाउनुभएको हो। यसकारण दाजुभाइहरू, दिगो भएर बस र हामीले भनेको वा लेखेको सत्य शिक्षा तिमीहरूले राम्ररी मान। हाम्रा प्रभु येशू ख्रीष्ट र पिता परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र उहाँको अनुग्रहद्वारा अन्त्य नहुने उत्साह र असल आशा दिनुभयो। उहाँहरूबाटै सबै राम्रा काम कुरामा साहस र शक्ति मिलोस्।
२ थेसलोनिकी 2:1-17 नेपाली समकालीन संस्करण (NCV)
हे दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई विन्ती गर्दछौं। प्रभुको दिन आइसकेको छ भन्नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि, तिनीहरूलाई विश्वास नगर। तिमीहरूलाई कसैले कुनै किसिमले धोखामा नपारोस्। विश्वास परित्याग नभएसम्म विनाशको पुत्र, जो दुष्टता सबैभन्दा मुख्य रूप हो, त्यो प्रकट नभएसम्म परमप्रभुको त्यो दिन आउनेछैन। त्यसले ईश्वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैलाई उच्च पार्नेछ, र विरोध गर्नेछ, अनि परमेश्वर हुँ भनी घोषणा गर्दै त्यो आफैलाई परमेश्वरको मन्दिरमा स्थापना गर्नेछ। म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई याद छैन र? अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठीक समयमा प्रकट होस्। किनकि अधर्मको शक्ति गुप्त रूपले अघिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नुहुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ। अनि तब त्यो अधर्मको पुत्र प्रकट हुनेछ, जसलाई प्रभु येशूले, उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्ट पार्नुहुनेछ। त्यस अधर्मको पुत्रको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यसले सबै प्रकारका झूटा आश्चर्यपूर्ण कामहरू, चिन्हहरू र शक्तिशाली कामहरू देखाउँदै आउनेछ। अनि नष्ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्टतासहित आउनेछ। तिनीहरू नष्ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइनु इन्कार गरेका छन्। यसकारण त्यस झूटमा तिनीहरूले विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ र सत्यतामा विश्वास नगर्ने, तर दुष्टतामा आनन्दित हुनेहरू सबै दोषी ठहराइनेछन्। तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैं धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्नुभयो। उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्टको महिमामा सहभागी हुन सक। यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू। हाम्रा प्रभु येशू ख्रीष्ट आफै, र हाम्रा परमेश्वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो, उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्।
२ थेसलोनिकी 2:1-17 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं। यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्। कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो। परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैंले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ। मैले पहिल्यै यी सब घट्नाहरूको सत्य बताइ सकेको छु। याद छ? अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ। पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइन्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ। त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ। त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ। दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो। तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भड्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्। त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन् तर तिनीहरू दुष्टाँई कर्महरूमा आनन्दित भए। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौ। त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक भनेर बोलाईएका हौ। यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं। हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैंले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ। परमेश्वरले हामीलाई माया गर्नु भयो अनि आफ्नो अनुग्रहद्वारा उनले हामीलाई असल आशा र अनन्त उत्साह दिनुभयो।