हे दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई विन्ती गर्दछौं। प्रभुको दिन आइसकेको छ भन्नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि, तिनीहरूलाई विश्वास नगर। तिमीहरूलाई कसैले कुनै किसिमले धोखामा नपारोस्। विश्वास परित्याग नभएसम्म विनाशको पुत्र, जो दुष्टता सबैभन्दा मुख्य रूप हो, त्यो प्रकट नभएसम्म परमप्रभुको त्यो दिन आउनेछैन। त्यसले ईश्वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैलाई उच्च पार्नेछ, र विरोध गर्नेछ, अनि परमेश्वर हुँ भनी घोषणा गर्दै त्यो आफैलाई परमेश्वरको मन्दिरमा स्थापना गर्नेछ। म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई याद छैन र? अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठीक समयमा प्रकट होस्। किनकि अधर्मको शक्ति गुप्त रूपले अघिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नुहुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ। अनि तब त्यो अधर्मको पुत्र प्रकट हुनेछ, जसलाई प्रभु येशूले, उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्ट पार्नुहुनेछ। त्यस अधर्मको पुत्रको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यसले सबै प्रकारका झूटा आश्चर्यपूर्ण कामहरू, चिन्हहरू र शक्तिशाली कामहरू देखाउँदै आउनेछ। अनि नष्ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्टतासहित आउनेछ। तिनीहरू नष्ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइनु इन्कार गरेका छन्। यसकारण त्यस झूटमा तिनीहरूले विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ र सत्यतामा विश्वास नगर्ने, तर दुष्टतामा आनन्दित हुनेहरू सबै दोषी ठहराइनेछन्। तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैं धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्नुभयो। उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्टको महिमामा सहभागी हुन सक। यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू। हाम्रा प्रभु येशू ख्रीष्ट आफै, र हाम्रा परमेश्वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो, उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्।
2 थेसलोनिकी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 थेसलोनिकी 2:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू