YouVersion लोगो
खोज आइकन

२ थेसलोनिकी 1:1-12

२ थेसलोनिकी 1:1-12 पवित्र बाइबल (NERV)

पावल, सिल्वानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ। तिमीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति रहोस्। तिमीहरूको लागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन-झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ। यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं। यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो। परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ। अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ। परमेश्वरलाई नचिन्नेहरू तथा हाम्रा प्रभु येशू ख्रिष्टको सु-समचारलाई नमान्नेहरूलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अगुल्ठो लिएर आउनु हुनेछ। तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ। यो त्यस दिन हुन्छ जुन दिन प्रभु येशू आउनु हुनेछ। उहाँ आफ्नो पवित्र सन्तहरूसित महिमा लिन आउनु हुनेछ। अनि तिनीहरू ज-जसले विश्वस गर्छन् येशूलाई देखेर आश्चर्यचकित हुनेछन्। तिमीहरू तिनै विश्वासीहरू मध्ये हुनेछौ किनकि हामीले दिएको साक्षी तिमीहरूले विश्वास गरेका छौ। त्यसैकारण हामी सधैँ तिमीहरूको भलाईकोलागि प्रार्थना गर्दछौं। उहाँले तिमीहरूलाई बोलाएको जीवन शैलीमा तिमीहरूलाई हाम्रो परमेश्वरले बाँच्ने योग्य बनाई दिनु हुन हामी प्रार्थना गछौं। तिमीहरूमा भएको असल गुणले तिमीहरूलाई गुणस्तरीय कार्यहरू गर्न उत्साह दिन्छ अनि तिमीहरूकोमा भएको विश्वासले तिमीहरूलाई असल कार्य गर्ने गराउँछ। हामी प्रार्थना गर्छौं कि परमेश्वरले तिमीहरूलाई अझ बेसी यस्तो असल कार्य गर्नु योग्य पारून्। हामी यी सब तरिकाले प्रार्थना गछौं ताकि हाम्रा परमप्रभु येशू ख्रीष्टको नाउँ तिमीहरूमा महिमित हुन सकोस् अनि तिमीहरूले पनि उहाँमा महिमा पाउन सक्छौ। त्यो महिमा हाम्रा परमेश्वर अनि प्रभु येशू ख्रीष्टको अनुग्रहबाट आउँछ।

२ थेसलोनिकी 1:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई: परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति। भाइ हो, तिमीहरूका निम्‍ति परमेश्‍वरलाई सधैँ धन्‍यवाद चढ़ाउन हामी बाध्‍य छौं। यो योग्‍य पनि छ, किनकि तिमीहरूको विश्‍वास प्रशस्‍त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्‍टहरूका बीचमा तिमीहरूका स्‍थिरता र विश्‍वासको निम्‍ति परमेश्‍वरका मण्‍डलीहरूका माझमा हामी ज्‍यादै गर्व गर्छौं। परमेश्‍वरको धार्मिक इन्‍साफको साक्षी यही हो, कि तिमीहरू परमेश्‍वरका राज्‍यको योग्‍य ठहरिन सक, जसको निम्‍ति तिमीहरू दुःख भोगिरहेछौ। परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्‍छ, र तिमी कष्‍ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्‍छ। यो तब हुन्‍छ, जब प्रभु येशू आफ्‍ना शक्तिशाली स्‍वर्गदूतहरूसँग बल्‍दो आगोमा स्‍वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ। तिनीहरूले अनन्‍त विनाशको दण्‍ड तथा प्रभुको उपस्‍थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्‍ड भोग्‍नेछन्, जब त्‍यस दिन उहाँका सन्‍तहरूमा महिमा पाउन र विश्‍वास गर्नेहरू सबैलाई आश्‍चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्‍वास गर्‍यौ। यस हेतुले हामी तिमीहरू सबैका निम्‍ति निरन्‍तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो बोलावटको योग्‍य बनाऊन्, र हरेक असल उद्देश्‍य र विश्‍वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार हाम्रा प्रभु येशूको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा।

२ थेसलोनिकी 1:1-12 नेपाली समकालीन संस्करण (NCV)

पावल, सिलास र तिमोथीबाट, हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूका मण्डलीलाई: परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। हे दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूको विश्‍वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूको लागि हामीले परमेश्‍वरलाई सधैं धन्यवाद दिनैपर्छ। यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्‍वासको निम्ति परमेश्‍वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौं। जुनचाहिँ परमेश्‍वरको राज्यको निम्ति तिमीहरूले कष्‍ट भोगिरहेका छौ; तिमीहरू त्यसको निम्ति योग्य ठहराइनेछौ। परमेश्‍वरको न्याय सही छ भन्‍ने प्रमाण यही नै हो। परमेश्‍वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ। अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्‍तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। उहाँले परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई सजाय दिनुहुनेछ। तिनीहरूका सजाय अनन्तको विनाश हुनेछ; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्‍तिको महिमाबाट अलग गरिनेछन्। यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्‍वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूमध्येमा हाम्रा गवाहीलाई विश्‍वास गरियो। यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्‍तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्‍वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्। हामी प्रार्थना गर्दर्छौं, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाउँ महिमित होस्, र तिमीहरूले पनि उहाँमा तिमीहरूको महिमा होस्।

२ थेसलोनिकी 1:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टको थेसलोनिकामा भएको मण्‍डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्‍दै छौं। तिमीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले अनुग्रह र शान्‍ति देऊन्। दाजुभाइहरू, तिमीहरूको विश्‍वास धेरै बढेर गएको छ। प्रेम पनि एक-अर्कामा झन्-झन् बढ्दै छ। यसकारण तिमीहरूको बारेमा सधैँ हामीले परमेश्‍वरलाई धन्‍यवाद दिनैपर्दछ। यस्‍तै तिमीहरूको सतावट र दु:ख सहने शक्ति र विश्‍वासको बारेमा हामी परमेश्‍वरको मण्‍डलीभित्र घमण्‍ड गरेर बोल्‍न सक्‍छौं। यी सबै तिमीहरूलाई परमेश्‍वरको राज्‍यको योग्‍य ठहर्‍याउने परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ भन्‍ने प्रमाण हो। तिमीहरूले त्‍यही राज्‍यको कारण दु:ख पनि भोग्‍दै छौ। परमेश्‍वर न्‍यायी हुनुभएकोले, उहाँले तिमीहरूलाई दु:ख दिनेहरूलाई बदला लिएर ठीकै गर्नुहुनेछ। दु:ख सहने तिमीहरू र हामीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। उहाँले प्रभु येशू शक्तिशाली दूतहरूसँग स्‍वर्गबाट आउनुहुँदा यी सब गर्नुहुनेछ। अनि परमेश्‍वरलाई नमान्‍ने र हाम्रा प्रभु येशूको सुसमाचारलाई नटेर्नेहरूलाई आगोको ज्‍वालामा आएर उहाँले दण्ड दिनुहुनेछ। तिनीहरूको सजायचाहिँ तिनीहरू प्रभुको शक्तिशाली उज्‍यालो र संगतिबाट निकालिनेछन् अनि सधैँभरिका लागि नाश गरिनेछन्। यी कुरा प्रभु येशू आउनुहुने दिनमा हुन्‍छन्। त्‍यस दिन प्रभु येशूले आफ्‍ना पवित्र जनहरूबाट र सबै विश्‍वासीहरूबाट आदर र स्‍तुति पाउनुहुनेछ। तिमीहरू पनि तिनीहरूसँग हुन्‍छौ किनभने तिमीहरूले हाम्रो साक्षी पत्‍यायौ। यसैकारण परमेश्‍वरले जुन जीवनको लागि तिमीहरू बोलाइएका छौ, त्‍यसको योग्‍य बनाउन र उहाँको शक्तिले राम्रो गर्ने इच्‍छा र विश्‍वासका काम पूरा गर्न सहायता गरून् भनी हामी प्रार्थना गर्छौं। त्‍यसो भएमा तिमीहरूबाट हाम्रा प्रभु येशूको नाउँको आदर हुनेछ अनि उहाँबाट तिमीहरूको पनि आदर हुनेछ किनभने तिमीहरूले परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह पाएका छौ।