२ शमूएल 2:1-32
२ शमूएल 2:1-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि दाऊदले परमप्रभुलाई यसो भनेर सोधे, “के म यहूदाको कुनै एउटा सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “उक्लिजाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा?” अनि यस्तो जवाफ आयो, “हेब्रोनमा।” यसैले दाऊद आफ्ना दुई पत्नीहरू, यिजरेली अहीनोम र कर्मेलका नाबालकी विधवा अबीगेलको साथमा त्यहाँ गए। आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहानैसमेत दाऊदले ल्याए, र तिनीहरू हेब्रोन र त्यसका सहरहरूमा बसोबास गरे। अनि यहूदाका मानिसहरू आएर दाऊदलाई त्यहाँ यहूदाका घरानामाथि राजा अभिषेक गरे। याबेश-गिलादका मानिसहरूले शाऊललाई गाड़ेका थिए भनेर दाऊदलाई सुनाइयो। तब तिनले तिनीहरूलाई यो समाचार पठाए, “तिमीहरूले आफ्ना स्वामी शाऊलप्रति देखाएको भक्ति र उहाँलाई गाड़ेकामा परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्। यसको निम्ति परमप्रभुले तिमीहरूप्रति आफ्नो दृढ़ प्रेम र विश्वसनीयता देखाऊन्, अनि तिमीहरूले यो काम गरेका हुनाले म पनि आफ्नो तर्फबाट तिमीहरूमाथि उही निगाह राख्नेछु। बलिया र आँटिला होओ, किनभने तिमीहरूका स्वामी शाऊलको मृत्यु भएको छ, र यहूदाका मानिसहरूले मलाई आफ्ना राजा अभिषेक गरेका छन्।” यसै बीचमा शाऊलका सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई यर्दनवारि महनोममा ल्याए, अनि गिलाद, अशुरी, यिजरेल, एफ्राइम र बेन्यामीन र सारा इस्राएलमाथि तिनलाई राजा तुल्याए। इस्राएलका राजा हुँदा ईश्बोशेत चालीस वर्षका थिए, र तिनले दुई वर्षसम्म राज्य गरे। तापनि यहूदाको घरानाचाहिँ दाऊदकै पछि लाग्यो। हेब्रोनमा यहूदाको घरानामाथि दाऊदले साढ़े सात वर्षसम्म राज्य गरे। नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे। अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एक-अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे। अबनेरले योआबलाई भने, “तिम्रा र मेरा जवान मानिसहरूमध्येका कोही आएर हाम्रो सामुन्ने एक-एक जना गरी लडून्।” योआबले जवाफ दिए, “हुन्छ, तिनीहरूले त्यसै गरून्।” यसैकारण तिनीहरू आए, र बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतका तर्फका बाह्र जना र दाऊदतर्फका बाह्र जना एक-एक जना गरी आफ्नो स्थानमा खड़ा भए। तब तिनीहरू हरेकले आ-आफ्नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो। यसरी तिनीहरू एकसाथ ढले। यसैकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्जुरीम भनियो। त्यस दिन घमासान युद्ध भयो, अनि अबनेर र इस्राएलका मानिसहरू दाऊदका फौजको सामु हारे। सरूयाहका तीनै भाइ छोराहरू, योआब, अबीशै र असाहेल त्यहाँ थिए। असाहेल मैदानमा कुद्ने हरिण जत्तिकै छिटा थिए, र तिनी दाहिने-देब्रे कतै पनि नफर्की सीधै अबनेरको पछि खेद्दैगए। तब अबनेरले पछि फर्केर सोधे, “हे असाहेल, के तिमी नै हौ?” “हो” भनी तिनले जवाफ दिए। अबनेरले भने, “दाहिने कि देब्रेतिर लागेर जवानहरूमध्येका एक जनालाई पक्रेर त्यसलाई लुट।” तर असाहेलले उनलाई खेद्न छोड़ेनन्। अबनेरले फेरि “मलाई खेद्न छोड़िदेऊ” भनी चेताउनी दिए। उनले भने, “मैले तिमीलाई कसरी मार्नु? तिम्रा दाजु योआबलाई मैले कसरी मुख देखाउनु?” तर जब असाहेल अन्यत्र लाग्न मानेनन्, तब अबनेरले आफ्नो भाला पछिल्तिर हानेर तिनको भुँड़ीमा रोपिदिए, र भाला तिनको पछिल्तिर निस्क्यो, र तिनी बाटैमा ढलेर मरे। असाहेल मरेर लोटेको ठाउँमा आइपुग्ने सबै जना त्यहीँ नै अड़िए। तर सूर्य अस्ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्मा डाँड़ामा नआइपुगुञ्जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे। बेन्यामीनीहरू अबनेरतर्फ जम्मा भए, र एउटै दल भएर एउटा डाँड़ाको टाकुरामा युद्धको लागि तयार भए। अबनेरले कराएर योआबलाई भने, “के मारकाट गरिरहने? त्यसको परिणाम आखिरमा तीतो हुन्छ भनी तिमी देख्न सक्दैनौ? आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड़िदिनू भनी के तिमी आफ्ना मानिसहरूलाई फर्काउँदैनौ?” योआबले जवाफ दिए, “जीवित परमेश्वरको नाउँमा म भन्दछु, कि तिमीले नभनेका भए मानिसहरूले बिहानसम्म पनि आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड्नेथिएनन्।” तब योआबले तुरही फुके, र सबै मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोड़िदिए, अनि युद्ध थामियो। अबनेर र उनका मानिसहरू रातभरि अराबाबाट हिँड़ेर यर्दन पार गरे, र बिहानभरि हिँड़ेर महनोममा आइपुगे। जब योआब अबनेरलाई खेद्न छोड़ेर आए, तब तिनले आफ्नो फौजलाई भेला गरे, र असाहेलबाहेक दाऊदका उन्नाईस जना मानिसहरू कम भेट्टाइए। तर दाऊदका फौजले अबनेरका पछि लाग्ने बेन्यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए। तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्यालोमा हेब्रोनमा पुगे।
२ शमूएल 2:1-32 पवित्र बाइबल (NERV)
पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?” परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।” दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।” परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।” त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।) दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे। यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।” दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिउन्। तपाईंको स्वामी शाऊल खरानी भएको कारण परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ। अब बलियो र साहसी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।” नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे। गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए। ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 बर्षका थिए। उनले 2 बर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए। दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साढे सात बर्ष शासन गरे। नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए। सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए। अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।” योआबले भने, “ठीक छ होडबाजी होस्।” यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्रा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने। प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखामा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ। त्यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्राएलीहरूलाई हराए। सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे। असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले। अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?” असाहेलले भन्यो, “हो, मै हुँ।” अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्। फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियौ भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।” तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यँही मर्यो। असाहेलको लास भुइँमा लड्यो। मानिसहरूले हतार-हतार गएर हेरे। तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सूर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरुभूमि जाने बाटो तिर पर्थ्यो।) बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए। अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैँ एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दाज्यू-भाइहरूलाई नखेद्नु भनेर भन।” तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमीले जे भन्दैछौ ठीक हो। यदि तिमीले केही नभनेको भए मानिसहरूले आफ्ना दाजु-भाइलाई बिहान सम्मै खेदिरहने थिए।” यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्। अबनेर र तिनका मानिसहरू यर्दन बेंसी भएर रातभरि हिंडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे। योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्। तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्। दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे। योआब अनि उसका मानिसहरू रातभरि हिँडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।
२ शमूएल 2:1-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि दाऊदले परमप्रभुलाई सोधे, “के म यहूदाको कुनै एक सहरमा गई त्यसलाई कब्जा गरूँ?” परमप्रभुले जवाफ दिनुभयो, “जाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा जाऊँ?” परमप्रभुले भन्नुभयो, “हेब्रोनमा।” यसर्थ दाऊद हेब्रोनमा गए। तिनले आफ्ना दुई पत्नीहरू यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेललाई साथमा लिएर गए। दाऊदले आफ्ना साथमा भएका मानिसहरू र तिनीहरूका परिवारसमेत लिएर गए र तिनीहरू हेब्रोनका छेउछाउका सहरहरूमा बसोबास गर्न थाले। तब यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजा अभिषेक गरे। गिलादको याबेश सहरमा बास गर्ने मानिसहरूले शाऊललाई गाडेका खबर सुनेर दाऊदले केही मानिसहरूलाई त्यहाँ यस्तो समाचार दिन पठाए, “आफ्ना राजा शाऊललाई गाडेर तिनीप्रति तिमीहरूले देखाएका भक्तिको निम्ति परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्। परमप्रभु तिमीहरूप्रति दयालु र विश्वासयोग्य बनून्। तिमीहरूको यस कामले गर्दा म पनि तिमीहरूसित असल व्यवहार गर्नेछु। बलिया र साहसी होओ! तिम्रा राजा शाऊल मरे र यहूदाका जनताले मलाई राजा अभिषेक गरेका छन्।” नेरका छोरा अबनेर शाऊलका सेनापति थिए। तिनले शाऊलको छोरो ईश्बोशेतलाई साथमा लिएर भागे र यर्दन नदीको पार गरी महनोममा पुगे। त्यहाँ अबनेरले ईश्बोशेतलाई गिलाद, अशूरी, यिजरेल, एफ्राइम र बेन्यामीन अथवा सारा इस्राएलका राजा बनाए। इस्राएलका राजा हुँदा ईश्बोशेत चालीस वर्षका थिए र तिनले दुई वर्षसम्म राज्य गरे। तर यहूदाका कुल दाऊदका भक्त थिए र दाऊदले तिनीहरूमाथि हेब्रोनमा साँढे सात वर्षसम्म राज्य गरे। अबनेर र ईश्बोशेतका अधिकारीहरू महनोमबाट गिबोन सहरमा गए। योआब, जसकी आमा सरूयाह थिइन् र दाऊदका अरू अधिकारीहरूले तिनीहरूलाई तालनिर भेटे र सबै जना त्यहाँ एक हुल तालवारि र अर्को हुल तालपारि भई बसे। अबनेरले योआबलाई भने, “तिम्रा र हाम्रा तर्फका लडाकुहरू हतियार लिएर लडून्।” योआबले जवाफ दिए, “हुन्छ, त्यसै गरौं।” यसरी, ईश्बोशेत र बेन्यामीनका बाह्र जना र दाऊदका बाह्र जनाबीच लडाइँ भयो। हरेक लडाकुले आफ्नो सामुन्नेको विरोधीको टाउको समातेर कोखामा तरवार रोपिदियो। त्यसरी चौबीसै जना एकसाथ ढलेर मरे। यसैकारण गिबोनको त्यस ठाउँलाई ‘तरवारको मैदान’ भनिन्छ। त्यसपछि एक घमासान युद्ध भयो र दाऊदका सेनाले अबनेर र इस्राएलीहरूलाई हराए। सरूयाहका तीन भाइ छोराहरू योआब अबीशै र असाहेल त्यहाँ थिए। असाहेल जङ्गली मृगझैँ छिटो दगुर्न सक्थ्यो र उसले अबनेरलाई खेद्यो। अबनेरले पछि फर्केर हेरेर सोधे, “के तिमी नै हो, असाहेल?” असाहेलले जवाफ दियो, “हो, म नै हुँ।” अबनेरले भने, “मलाई खेद्न छोडिदेऊ कुनै अर्को सिपाहीलाई खेद र त्योसित जे छ, सो हात पार।” तर असाहेलले तिनलाई खेदिरह्यो। अबनेरले फेरि एकपल्ट उसलाई भने, “मलाई खेद्न छोड। तिमीलाई मार्न किन मलाई कर लगाउँछौ? मैले कसरी तिम्रा दाजु योआबलाई मेरो मुख देखाउनु?” तर असाहेलले तिनलाई खेद्न छोडेन। त्यसो हुँदा अबनेरले आफ्नो भाला पछिल्तिर असाहेलको भुँडीमा हानेर वारपार गरिदिए। असाहेल त्यहीँ भूइँमा ढल्यो र मर्यो। जति जना उसको लाश लडिरहेको ठाउँमा आइपुगे, तिनीहरू त्यहीँ अडिए। तर योआब र अबीशैले अबनेरलाई खेदे र सूर्य अस्ताउँदा तिनीहरू अम्मा डाँडामा पुगे। अम्मा गिबोनको उजाड-स्थानमा पुग्ने बाटोमा भएको गीहको पूर्वमा पर्छ। बेन्यामीन कुलका मानिसहरू फेरि अबनेरको चारैपट्टि जम्मा भए र डाँडाको टाकुरामा युद्धको निम्ति आफ्नो मोर्चा बाँधे। अबनेरले उच्च स्वरले योआबलाई भने, “के हामीले सधैँभरि लडाइँ गरिरहनुपर्ने हो? के तिमी यो देख्न सक्दैनौ कि अन्तमा त्यसको परिणाम तीतो मात्र हुनेछ। हामी तिम्रा स्वदेशी बन्धु हौं। तिम्रा मानिसहरूले हामीलाई खेद्नबाट रोक्न कति ढिलो गर्दछौ?” योआबले जवाफ दिए, “म जिउँदो परमेश्वरको नाउँमा शपथ खाई भन्दछु, “यदि तिमी नबोलेको भए, मेरा मानिसले भोलि बिहानसम्मै तिमीहरूलाई खेद्नेथिए।” तब इस्राएलीहरूलाई नखेद्नू भनी योआबले आफ्ना मानिसहरूलाई सङ्केत दिँदै तुरही फुके। त्यसरी लडाइँ थामियो। अबनेर र तिनका मानिसले त्यो रातभरि हिँडेर यर्दनको बेसी पार गरे र यर्दन नदी तरी बिहानभरि हिँडेर महनोममा फर्के। योआबले इस्राएलीहरूलाई खेद्न छोडेपछि आफ्ना सबै सैनिकहरूलाई एकसाथ भेला गरे र असाहेलबाहेक अरू उन्नाईस जना मानिसहरू कम भेट्टाए। दाऊदका मानिसहरूले बेन्यामीन कुलका ३६० जना अबनेरका मानिसहरू मारेका थिए। योआब र तिनका मानिसले असाहेलको लाश लगेर बेथलेहेममा आफ्नो परिवारको चिहानमा गाडे। त्यसपछि रातभरि हिँडी भोलिपल्ट बिहान सबेरै तिनीहरू हेब्रोनमा फर्के।