२ यूहन्ना 1:7-13
२ यूहन्ना 1:7-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्तो व्यक्ति नै छली र ख्रीष्ट विरोधी हो। होशियार रहो, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ, त्यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ। ख्रीष्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ। यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू। किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ। मैले तिमीहरूलाई कुरा लेख्नु त धेरै छ, तर कागत र मसीले ती म लेख्न चाहन्नँ। तर हामीहरूको आनन्द पूर्ण होस् भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु। चुनिएकी तिम्री बहिनीका छोरा-छोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।
२ यूहन्ना 1:7-13 नेपाली समकालीन संस्करण (NCV)
किनकि म तिमीहरूलाई भन्दछु, धेरैजना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्ट विरोधी हो। होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौं, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक। हरेक जो बाटो बिराएर अन्यत्र जाँदछ, त्यो ख्रीष्टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्वर हुनुहुन्न; ख्रीष्टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ। यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने, त्यसलाई घरमा नलैजाओ, र स्वागत पनि नगर। जसले तिनीहरूलाई स्वागत गर्छ, त्यो तिनीहरूका दुष्ट काममा सहभागी बनेको हुन्छ। मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्नँ। तर तिमीहरूकहाँ आएर आमनेसामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्दपूर्ण हुन सकोस्। परमेश्वरद्वारा चुनिएकी तिम्री बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।
२ यूहन्ना 1:7-13 पवित्र बाइबल (NERV)
यो संसारमा अनेकौं झूटो शिक्षकहरू छन्। यी झूटो शिक्षकहरूले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ ऊ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो। होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर। एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुशरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यस व्यक्तिसँग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुशरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्। यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर। यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ। मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेट्न आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ। तिम्रो बहिनीका बालकहरूले, जसलाई परमेश्वरले चुन्नु भएको छ, तिमीलाई अभिवादन पठाउँछन्।
२ यूहन्ना 1:7-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
‘येशू ख्रीष्ट मानिसकै शरीरमा आउनुभएको होइन’ भनेर धेरै भर्माउनेहरू संसारमा चारैतिर पसेका छन्। यस्ता मानिसहरू भर्माउने र ख्रीष्ट विरोधी हुन्। त्यसो हुँदा होशियार बस। खटेर तिमीहरूले जति काम गरेका छौ, त्यसको पाउनुपर्ने इनाम हराउने होइन तर सबै पाउने होओ। ख्रीष्टको शिक्षादेखि बाहिरका अरू कुरातिर लाग्ने मानिससँग परमेश्वर रहनुहुन्न। तर उहाँको शिक्षामा लाग्नेसँग पिता र पुत्र दुवै रहनुहुन्छ। यसकारण ख्रीष्टको यस्तो शिक्षा नदिएर भर्माउनेहरू तिमीहरूकहाँ आउँदा घरमा पस्न पनि नदेओ, अभिवादन पनि नगर किनभने त्यसलाई अभिवादन गर्नु नै त्यसको दुष्ट काममा साथ दिनु हो। मलाई धेरै कुरा भन्न मन लागे पनि यो कुरा लेखेर होइन तर भेटेरै म भन्नेछु। त्यस बेला हामी कति खुसी हुनेछौं। परमेश्वरबाट चुनिएका तिम्रै बहिनीका छोरा-छोरीहरूले पनि तिमीलाई अभिवादन पठाएका छन्।