२ कोरिन्थी 5:6-21
२ कोरिन्थी 5:6-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौं, कि हामी जबसम्म शरीरमा रहन्छौं, तबसम्म प्रभुबाट अलग हुन्छौं। किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन। हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं। यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ। किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ, र म आशा गर्दछु, त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला। हामी फेरि तिमीहरूका सामु आफ्नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्ड गर्छन्। यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्वरको निम्ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्ति हो। ख्रीष्टको प्रेमले हामीलाई बाध्य गराउँछ, किनभने हामीलाई यो निश्चय छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे। उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन, तर उहाँको निम्ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो। यसरी अब उप्रान्त हामी कसैलाई मानिसको दृष्टिकोणले हेर्दैनौं। हामीले ख्रीष्टलाई एक समय मानिसको दृष्टिकोणले हेरेका थियौं, तर अब उप्रान्त उहाँलाई त्यसरी हेर्नेछैनौं। यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो, अर्थात् स्वयम् ख्रीष्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनुभएको छ। यसकारण हामी ख्रीष्टका राजदूतहरू हौं, र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।
२ कोरिन्थी 5:6-21 नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामी निश्चित छौं र जान्दछौं, कि जबसम्म हामी शरीरको वासस्थानमा छौं, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौं। हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्वास राखेर जिउँछौं। हामी निश्चित छौं, र म भन्दछु, कि हामी यस शरीरदेखि टाढा रहेर प्रभुसित नै रहन चाहन्छौं। यसकारण हामी शारीरिक डेरामै रहौं, अथवा यसदेखि टाढा रहौं, हामीले प्रभुलाई नै प्रसन्न पार्ने लक्ष्य राखेका छौं। किनकि हामीले यस शरीरमा हुँदा, असल कि खराब जे गरेका छौं, त्यसको फल पाउनलाई हामी सबै ख्रीष्टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ। तब परमेश्वरको डर मान्नु के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँन चाहन्छौं। हामी जे छौं, त्यो परमेश्वरलाई थाहा छ, अनि म आशा गर्छु, कि तिमीहरूको विवेकलाई पनि थाहै होला। हामीले फेरि तिमीहरूको सामु आफ्नै तारीफ गर्ने चेष्टा गरिरहेका छैनौं, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौं। कसैले भनेजस्तै, यदि हाम्रो होश ठेगानमा छैन भने यो परमेश्वरको इच्छा पूरा गर्नको लागि हो; अनि यदि हामी होशमै छौं भने त्यो तिमीहरूको फाइदाको लागि हो। ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनकि हामीलाई यो पक्का छ, कि एकजना सबैको निम्ति मर्नुभएकोले नै सबै मरेका छन्। अनि उहाँ सबैको निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू आफ्नै लागि होइन, तर तिनीहरूको लागि मर्नुहुने र फेरि पुनर्जीवित हुनुहुनेको लागि बाँचून्। यसकारण अब उप्रान्त हामी कसैलाई पनि सांसारिक दृष्टिकोणले हेर्दैनौं। एकपल्ट हामीले ख्रीष्टलाई पनि यसरी नै हेरेका थियौं, तर अब त्यसो गर्नेछैनौं। यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; अब नयाँ आएका छन्। यी सबै परमेश्वरबाट नै हुन्, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, अनि हामीलाई मिलापको सेवा दिनुभएको छ, कि मानिसहरूको पापको लेखा तिनीहरूको विरुद्ध नराखी परमेश्वर आफैले ख्रीष्टमा संसारलाई मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, अनि उहाँले हामीलाई मिलापको सन्देश सुम्पिनुभयो। परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैं हामी ख्रीष्टको निम्ति राजदूतहरू हौं। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौं: परमेश्वरसित मिलाप गर। हामी ख्रीष्टमा परमेश्वरका धार्मिकता बनौं भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
२ कोरिन्थी 5:6-21 पवित्र बाइबल (NERV)
यसैकारण हामी सधैँ भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं। हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन। त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं। हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं। न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ। परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ। हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नैं बारेमा भन्दैछौं। हाम्रा बारेमा किन गर्वित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्। यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो। ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो। ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बौर्याइनु भयो, यसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नु पर्छ। अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँच्चो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झँदैनौं। यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
२ कोरिन्थी 5:6-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण हामी कहिले हरेस खाँदैनौं। हामीलाई थाहा छ, हामी यस शरीरको डेरामा रहुन्जेल त प्रभुको घरदेखि अलग हुन्छौं। त्यसैले हामी देखेकोले होइन, तर विश्वासले जिउँछौं। हामी हरेस खाँदैनौं, स्वर्गको शरीर पाएर प्रभुसँगै रहनलाई हाम्रो यो शरीरलाई पनि त्याग्न तयार छौं। हामी यस शरीरको डेरामा हौं वा आत्मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्छौं किनभने हामीहरू सबै एक दिन न्यायको लागि ख्रीष्टको सामुन्ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्तो काम गरेका छन्, त्यसैअनुसारको फल पाउनेछन्। परमेश्वरको डर मान्नु के हो, सो जानेर हामी अरूहरूलाई पनि यसैतर्फ कर लाउँछौं। परमेश्वरले हामीलाई राम्ररी चिन्नुहुन्छ र तिमीहरूका अघि मेरो पनि जीवन खुलस्त छ भनी म आशा राख्छु। हामीले फेरि आफ्नो गुणगान तिमीहरूलाई सुनाउन लागेको त होइनौं, बरु हाम्रो बारेमा तिमीहरूलाई घमण्ड गर्ने मौका दिइरहेका छौं। त्यसो हुँदा तिमीहरू भित्रको गुणमा होइन, तर देखावटी कुरामा घमण्ड गर्नेलाई जवाफ दिन सक्ने हुनेछौ। हामी बेहोशी छौं भने त परमेश्वरकै लागि बेहोशी छौं। हामी होशमा छौं भने तिमीहरूकै लागि होशमा छौं। हामीहरू त ख्रीष्टकै प्रेमको वशमा छौं। त्यसैले हामी बुझ्दछौं, सबै मानिसको तर्फबाट एक जना मर्नुभयो र यसो हुँदा सबै जना मरे। उहाँ सबैका लागि मर्नुभयो। बाँच्नेहरू अब आफ्ना लागि होइन तर तिनीहरूका खातिर मरेर बिउँतनुहुने ख्रीष्टको निम्ति बाँच्नुपर्छ। अबदेखि हामी कसैलाई पनि बाहिरी रूपले हेर्दैनौं। हुन त एक पटक हामीले ख्रीष्टलाई पनि यही प्रकारले हेर्यौं। अब हामी उहाँलाई यसरी हेर्दैनौं। यसकारण कुनै मानिस ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुरा हराएर गए, हेर, अब सबै कुरा नयाँ भएका छन्। यी सब गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो। येशू ख्रीष्टमा भएर परमेश्वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्थ्यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्वरले राख्नुभएको छैन। परमेश्वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ। हामीहरू ख्रीष्टका तर्फबाट बिन्ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्वर नै हामीमा भएर तिमीहरूसँग बिन्ती गरेजस्तै हामी ख्रीष्टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल। ख्रीष्टमा पापै थिएन, तैपनि परमेश्वरले ख्रीष्टमा हामीलाई आफ्नो अघि ठीक ठहराउन ख्रीष्टमाथि नै हाम्रो पाप राखिदिनुभयो।