२ कोरिन्थी 5:17-21
२ कोरिन्थी 5:17-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो, अर्थात् स्वयम् ख्रीष्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनुभएको छ। यसकारण हामी ख्रीष्टका राजदूतहरू हौं, र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।
२ कोरिन्थी 5:17-21 नेपाली समकालीन संस्करण (NCV)
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; अब नयाँ आएका छन्। यी सबै परमेश्वरबाट नै हुन्, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, अनि हामीलाई मिलापको सेवा दिनुभएको छ, कि मानिसहरूको पापको लेखा तिनीहरूको विरुद्ध नराखी परमेश्वर आफैले ख्रीष्टमा संसारलाई मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, अनि उहाँले हामीलाई मिलापको सन्देश सुम्पिनुभयो। परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैं हामी ख्रीष्टको निम्ति राजदूतहरू हौं। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौं: परमेश्वरसित मिलाप गर। हामी ख्रीष्टमा परमेश्वरका धार्मिकता बनौं भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
२ कोरिन्थी 5:17-21 पवित्र बाइबल (NERV)
यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
२ कोरिन्थी 5:17-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण कुनै मानिस ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुरा हराएर गए, हेर, अब सबै कुरा नयाँ भएका छन्। यी सब गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो। येशू ख्रीष्टमा भएर परमेश्वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्थ्यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्वरले राख्नुभएको छैन। परमेश्वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ। हामीहरू ख्रीष्टका तर्फबाट बिन्ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्वर नै हामीमा भएर तिमीहरूसँग बिन्ती गरेजस्तै हामी ख्रीष्टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल। ख्रीष्टमा पापै थिएन, तैपनि परमेश्वरले ख्रीष्टमा हामीलाई आफ्नो अघि ठीक ठहराउन ख्रीष्टमाथि नै हाम्रो पाप राखिदिनुभयो।