२ कोरिन्थी 5:14-20
२ कोरिन्थी 5:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्टको प्रेमले हामीलाई बाध्य गराउँछ, किनभने हामीलाई यो निश्चय छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे। उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन, तर उहाँको निम्ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो। यसरी अब उप्रान्त हामी कसैलाई मानिसको दृष्टिकोणले हेर्दैनौं। हामीले ख्रीष्टलाई एक समय मानिसको दृष्टिकोणले हेरेका थियौं, तर अब उप्रान्त उहाँलाई त्यसरी हेर्नेछैनौं। यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो, अर्थात् स्वयम् ख्रीष्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनुभएको छ। यसकारण हामी ख्रीष्टका राजदूतहरू हौं, र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ।
२ कोरिन्थी 5:14-20 नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनकि हामीलाई यो पक्का छ, कि एकजना सबैको निम्ति मर्नुभएकोले नै सबै मरेका छन्। अनि उहाँ सबैको निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू आफ्नै लागि होइन, तर तिनीहरूको लागि मर्नुहुने र फेरि पुनर्जीवित हुनुहुनेको लागि बाँचून्। यसकारण अब उप्रान्त हामी कसैलाई पनि सांसारिक दृष्टिकोणले हेर्दैनौं। एकपल्ट हामीले ख्रीष्टलाई पनि यसरी नै हेरेका थियौं, तर अब त्यसो गर्नेछैनौं। यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; अब नयाँ आएका छन्। यी सबै परमेश्वरबाट नै हुन्, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, अनि हामीलाई मिलापको सेवा दिनुभएको छ, कि मानिसहरूको पापको लेखा तिनीहरूको विरुद्ध नराखी परमेश्वर आफैले ख्रीष्टमा संसारलाई मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, अनि उहाँले हामीलाई मिलापको सन्देश सुम्पिनुभयो। परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैं हामी ख्रीष्टको निम्ति राजदूतहरू हौं। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौं: परमेश्वरसित मिलाप गर।
२ कोरिन्थी 5:14-20 पवित्र बाइबल (NERV)
ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो। ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बौर्याइनु भयो, यसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नु पर्छ। अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँच्चो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झँदैनौं। यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं।
२ कोरिन्थी 5:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीहरू त ख्रीष्टकै प्रेमको वशमा छौं। त्यसैले हामी बुझ्दछौं, सबै मानिसको तर्फबाट एक जना मर्नुभयो र यसो हुँदा सबै जना मरे। उहाँ सबैका लागि मर्नुभयो। बाँच्नेहरू अब आफ्ना लागि होइन तर तिनीहरूका खातिर मरेर बिउँतनुहुने ख्रीष्टको निम्ति बाँच्नुपर्छ। अबदेखि हामी कसैलाई पनि बाहिरी रूपले हेर्दैनौं। हुन त एक पटक हामीले ख्रीष्टलाई पनि यही प्रकारले हेर्यौं। अब हामी उहाँलाई यसरी हेर्दैनौं। यसकारण कुनै मानिस ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुरा हराएर गए, हेर, अब सबै कुरा नयाँ भएका छन्। यी सब गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो। येशू ख्रीष्टमा भएर परमेश्वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्थ्यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्वरले राख्नुभएको छैन। परमेश्वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ। हामीहरू ख्रीष्टका तर्फबाट बिन्ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्वर नै हामीमा भएर तिमीहरूसँग बिन्ती गरेजस्तै हामी ख्रीष्टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल।