२ कोरिन्थी 4:7-18
२ कोरिन्थी 4:7-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ। हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं। अन्योलमा परेका छौं, तर हताश भएका छैनौं। सताइएका छौं, तापनि त्यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्ट पारिएका छैनौं। येशूको जीवन हाम्रा शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्छौं। किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्युको मुखैमा परिबस्छौं, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्। यसरी मृत्युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा। “मैले विश्वास गरें, यसकारण म बोलें” भन्नेकै आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौं, र हामी बोल्छौं। हामी जान्दछौं, कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ, र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुन्छ। किनभने यी सब तिमीहरूकै खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदैजान्छ, त्यसरी नै परमेश्वरका महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दैजाओस्। यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ। हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।
२ कोरिन्थी 4:7-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ। हामी चारैतिरबाट थिचिएका छौँ, तर पिसिएका छैनौँ; अन्योलमा परेका छौँ, तर हताश भएका छैनौँ; सताइएका छौँ, तर त्यागिएका छैनौँ; प्रहारद्वारा ढलेका छौँ, तर नष्ट भएका छैनौँ। हाम्रो शरीरमा येशूको जीवन देखियोस् भनेर हामी सधैँ आफ्ना शरीरमा उहाँको मृत्यु बोकेर हिँड्छौँ। किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्टको निम्ति सधैँ मृत्युको लागि सुम्पिएका छौँ। यसरी हामी सधैँ मृत्युको सामना गर्दछौँ, ताकि तिमीहरूले अनन्त जीवन प्राप्त गर्न सक। धर्मशास्त्रमा यसरी लेखिएको छ: “मैले विश्वास गरेँ, यसैले म बोलेँ।” त्यही विश्वासको आत्माद्वारा हामी पनि विश्वास गर्छौँ, यसैले बोल्छौँ। किनकि हामी जान्दछौँ, जसले प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, उहाँले येशूसँगै हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ; अनि उहाँको उपस्थितिमा हामीलाई तिमीहरूसितै उपस्थित गराउनुहुनेछ। यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, यसैले कि प्रशस्त अनुग्रहले धेरैभन्दा धेरै मानिसहरूमा परमेश्वरको महिमाको लागि धन्यवादको वृद्धि हुँदै जाओस्। यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। किनकि हाम्रो हल्का र क्षणभरको कष्टले हाम्रा निम्ति अनन्तको महिमा प्राप्त हुनेछ, जुन यी सबै कष्टहरूको तुलनामा केही पनि होइन। यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।
२ कोरिन्थी 4:7-18 पवित्र बाइबल (NERV)
परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बुझाउँछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन। हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं। हामी सताइरहेका छौं तर परमेश्वरले हामीलाई छोड्नु हुन्न। कहिले कहीं हाम्रो चित्त दुखाइन्छ तर हामी नष्ट गरिएका छैनौं। येशूको मृत्यु हाम्रै शरीरमा छ। हामी यो प्रत्येक ठाउँ मृत्यु लिई हिंड्छौं जसमा कि येशूको जीवन हाम्रा शरीरमा पनि देख्न सकियोस्। हामी जीवित छौं तर येशूको निम्ति हामी सधैँ मृत्युको खतरामा छौं। हामीमा यस्तै हुन्छ जसमा कि हाम्रो मरण्शील शरीरमा येशूको जीवन पनि झल्कन सकोस्। यसैले मृत्युले हामीमा काम गर्दैछ, अनि जीवनले तिमीहरूमा काम गर्दैछ। धर्मशास्त्रमा यो लेखिएको छ, “मैले विश्वास गरें, यसकारण म बोलें।” हाम्रो विश्वास पनि त्यस्तै नै छ। हामी विश्वास गर्छौं र हामी बोल्छौं। परमेश्वरले प्रभु येशूलाई मृत्युबाट जीवन दिनुभयो। अनि हामी जान्दछौं परमेश्वरले हामीलाई पनि येशूसित बौराउनु हुन्छ। परमेश्वरले हामीलाई तिमीहरूसितै ल्याउनु हुनेछ अनि हामी उनका अघि उभिने छौं। यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिमा धेरै मानिसहरूमा बाँढिदैछ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ। त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदैछ। यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ। त्यसैले हामीले देख्न नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सधैँको लागि हुनेछ।
२ कोरिन्थी 4:7-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस्तो बहुमूल्य धन हामीजस्तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन। हामी घरीघरी चारैतिरबाट थिचो-मिचोमा पर्छौं, तर पनि धुलो-पिठो त भएका छैनौं। अन्योलमा परे पनि निराशचाहिँ भएका छैनौं। हामीलाई धेरै सताएको भए पनि हामी त्यागिएका छैनौं। हामीले बेसरी चुटाइ खाएर ढले पनि मरेका त छैनौं। येशूको जीवन हाम्रा शरीरमा चम्काउन येशूको मृत्यु सधैँ हाम्रै शरीरमा बोक्छौं। हाम्रो यो मर्ने शरीरमा येशूको जीवन देखा परोस् भनेर नै हामी सधैँ उहाँकै निम्ति मृत्युको मुखमा परिरहन्छौं। यसरी हामीहरूमा मृत्युले काम गरेको छ, त्यसरी नै तिमीहरूमा चाहिँ जीवनले काम गरिरहेको छ। “विश्वास गरेको छु, त्यसैकारण म बोल्छु,” भनी धर्मशास्त्रमा लेख्ने मानिसमा विश्वास गर्ने आत्मा भएझैँ हामीमा पनि विश्वास गर्ने आत्मा छ। त्यसकारण हामी विश्वास गर्छौं र नै बोल्छौं। हामीलाई थाहा छ, परमेश्वरले नै येशूलाई मरेकोबाट बिउँताउनुभयो। उही परमेश्वरले हामीलाई पनि येशूसँगै बिउँताएर तिमी र हामी सबैलाई आफूकहाँ लैजानुहुनेछ। यी सबै कुरा तिमीहरूकै लागि भएका हुन् किनभने जति धेरै मानिसहरूले परमेश्वरको अनुग्रह पाउँछन्, उति धेरै तिनीहरूले परमेश्वरको सम्मान्का लागि परमेश्वरलाई धन्यवाद दिनेछन्। यसैकारण हामी कहिले पनि हरेस खाँदैनौं। हामी शरीरमा खिइँदैगए पनि हाम्रो भित्री आत्माचाहिँ दिनदिनै नयाँ हुँदैगइरहेको छ। हामीले अहिले भोगेको दु:ख पछि पाउने अति ठूलो अनन्तको सुख सम्झेर त साँच्चै केही पनि होइन। देखिएका चीजहरूका लागि होइन तर नदेखिएका चीजहरूका लागि हामी ध्यान दिन्छौं। जे देखिन्छ, त्यो केही समयको लागि हुन्छ तर जे देखिंदैन, त्यो सदाको लागि हुन्छ।