१ थेसलोनिकी 1:2-10
१ थेसलोनिकी 1:2-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्तर स्मरण गर्दै हामी परमेश्वरलाई तिमीहरू सबैका निम्ति धन्यवाद दिन्छौं। हाम्रा परमेश्वर पिताको सामुन्ने हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूका विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झन्छौं। भाइ हो, परमेश्वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्नुभएको हामीलाई थाहा छ, किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्मामा, अनि सम्पूर्ण निश्चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्ता किसिमका मानिस थियौं तिमीहरू जान्दछौ। तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ तिमीहरूले धेरै कष्टमा वचन ग्रहण गर्यौ। यहाँसम्म कि माकेडोनिया र अखैयामा सबै विश्वासीहरूका माझमा तिमीहरू नमूना बन्यौ। किनकि तिमीहरूद्वारा परमेश्वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्वरमाथिका तिमीहरूको विश्वास प्रत्येक स्थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्नु आवश्यक छैन। किनकि जुन किसिमले हाम्रो स्वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ, सो त मानिसहरूले नै बताउँछन्। अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्छ।
१ थेसलोनिकी 1:2-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा प्रार्थनाहरूमा निरन्तर याद गर्दै तिमीहरू सबैका लागि हामी सधैँ परमेश्वरलाई धन्यवाद चढाउँछौँ; हाम्रा परमेश्वर र पिताको सामु तिमीहरूको विश्वासद्वारा उत्पन्न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौँ। दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्नुभएको हो भनी हामी जान्दछौँ। किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ। तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्यौ। यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका लागि नमुना बनेका छौ। तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्वरप्रति भएको तिमीहरूको विश्वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्नु आवश्यक छैन। किनकि तिमीहरूले हामीलाई कसरी स्वागत गर्यौ; अनि कसरी तिमीहरूले मूर्तिहरूलाई छोडेर जिउँदो र सत्य परमेश्वरको सेवा गर्न फर्क्यौ, सो कुरा तिनीहरू आफैँले बताउँछन्। अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ।
१ थेसलोनिकी 1:2-10 पवित्र बाइबल (NERV)
प्रार्थना गर्दा हामी सधैँ तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैँ प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिन्छौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिँदछौं। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो। हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ। अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आनन्दपूर्वक शिक्षा ग्रहण गर्यो। त्यो आनन्द पवित्र आत्माले दिनुभएको हो। म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ। तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन। हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोड्यौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्। परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोड्यौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।
१ थेसलोनिकी 1:2-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीहरू तिमीहरू सबैका लागि परमेश्वरलाई धन्यवाद दिन्छौं र सधैँ प्रार्थना गर्दा पनि तिमीहरूलाई सम्झनेगर्छौं। हाम्रा परमेश्वर र पिताको सामु तिमीहरूको विश्वासबाट गरेको काम र प्रेमले गरेको परिश्रम र हाम्रा प्रभु येशू ख्रीष्टमा राखेको आशाबाट तिमीहरू दरिलो भएको सम्झिरहन्छौं। दाजुभाइहरू, हामीलाई यो कुरा थाहा छ, परमेश्वरले नै तिमीहरूलाई प्रेम गरेर छान्नुभएको हो किनभने हामीहरूले तिमीहरूलाई सुनाएको सुसमाचार व्यर्थको कुरा थिएन। तर पवित्र आत्मा र शक्तिसाथ सुनाइएका एकदमै साँचो कुरो थियो। तिमीहरूसँग हुँदा हाम्रो जीवन कस्तो थियो, तिमीहरूलाई थाहा भयो। तिमीहरू प्रभुको र हाम्रो नमुनामा चल्यौ। आपत्-बिपत्हरू आइपर्दा पनि तिमीहरूले पवित्र आत्माले दिनुभएको सुसमाचार आनन्दसाथ लियौ। यसकारण तिमीहरू माकेडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका लागि एक नमुना बनेका छौ। प्रभुको शिक्षा तिमीहरूले माकेडोनिया र अखैयामा मात्र फैलाएनौ, तर चारैतिर परमेश्वरप्रति तिमीहरूका विश्वासको कुरो फैलियो। यस बारेमा हामीले केही पनि कुरा भनिरहनुपरेन। हामी तिमीहरूकहाँ आउँदा तिमीहरूले कसरी हाम्रो स्वागत गर्यौ अनि मूर्तिपूजालाई छोडेर जिँउदो साँचो परमेश्वरकहाँ आयौ, उहाँकै भक्त भयौ। यो कुरा ती सबै मानिसहरू आफैंले भनेका छन्। उनीहरूले भने कि तिमीहरू स्वर्गबाट परमेश्वरको पुत्र आउनुहुन्छ भनेर बाटो हेरिरहेका छौ रे। उहाँ परमेश्वरले मरेकाबाट बिउँताउनुभएको येशू हुनुहुन्छ। हामीलाई आइपर्ने परमेश्वरको रिसबाट बचाउने पनि उहाँ नै हुनुहुन्छ।