YouVersion लोगो
खोज आइकन

१ शमूएल 8:4-21

१ शमूएल 8:4-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए। तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्‌दैनन्‌। यसकारण अरू जातिहरूजस्‍तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्‌।” तर शासनको निम्‍ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे। तब परमप्रभुले शमूएललाई यसो भन्‍नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्‌। तिनीहरूले तँलाई इन्‍कार गरेका होइनन्‌। तिनीहरूले मलाई नै इन्‍कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्‍ना राजा बनाउन इन्‍कार गरेका हुन्‌। मिश्रदेशबाट तिनीहरूलाई ल्‍याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्‍यसै गरिरहेका छन्‌। तिनीहरूले मलाई त्‍यागेर अरू देवताहरूको पूजा गरेका छन्‌। तिनीहरूले अब के भन्‍दैछन्‌ सो सुन्, तर तिनीहरूलाई गम्‍भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्‍तो शासन गर्नेछन्‌।” राजाको माग राख्‍ने मानिसहरूलाई परमप्रभुले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए। तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्‍ता किसिमका हुनेछन्‌: उनले तिमीहरूका छोराहरूलाई आफ्‍ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्‍ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्‌। कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्‌। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन्‌ र फसल काट्‌नेछन्‌। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्‍त्रशस्‍त्र बनाउनेछन्‌। उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्‍ति लानेछन्‌। उनले तिमीहरूका सबैभन्‍दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्‍ना नोकर-चाकरहरूलाई दिनेछन्‌। आफ्‍ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्‍ति उनले तिमीहरूका अन्‍नको र दाखको फसलको दशौँ अंश लानेछन्‌। उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्‍दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्‍नै काममा चलाउनेछन्‌। उनले तिमीहरूका भेड़ाबाख्राहरूका बथानको दशौँ भाग लानेछन्, अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ। त्‍यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्‍ति तिमीहरू कराउनेछौ, तर त्‍यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।” तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्‍कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ। तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्‍तै हुनेछौं।” मानिसहरूले भनेका कुरा सुनेपछि शमूएलले परमप्रभुको अगि दोहोर्‍याए।

शेयर गर्नुहोस्
१ शमूएल 8 पढ्नुहोस्

१ शमूएल 8:4-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण इस्राएलका सारा प्रधानहरू एकसाथ भेला भए, र रामामा शमूएलकहाँ आए। तिनीहरूले तिनलाई भने, “तपाईं वृद्ध हुनुभएको छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। अब अरू राष्ट्रहरूजस्तै हामीलाई पनि न्याय गर्न एउटा राजा नियुक्त गरिदिनुहोस्।” तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्‍न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे। अनि याहवेहले शमूएललाई भन्‍नुभयो, “ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।” मैले तिनीहरूलाई इजिप्टबाट ल्याएको दिनदेखि आजको दिनसम्म जसरी तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूका सेवा गरेका छन्, तँसँग पनि तिनीहरूले त्यस्तै गरिरहेका छन्। अब तिनीहरूको कुरा सुन्। तर तिनीहरूमाथि शासन गर्ने राजाको शासन कस्तो हुनेछ, सो तिनीहरूलाई गम्भीरतापूर्वक चेतावनी दिँदै बताइदे। यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए। तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजाले तिमीहरूसँग यसो गर्नेछन्: तिनले तिमीहरूका छोराहरूलाई लानेछन्। अनि तिनीहरूलाई आफ्ना रथहरू हाँक्ने काममा लगाउनेछन्; र घोडचढीहरू बनाउनेछन्। अनि तिनीहरूलाई तिनका रथहरूका अगि-अगि दगुर्न लगाउनेछन्। कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्। तिनले तिमीहरूका छोरीहरूलाई लगेर अत्तर बनाउने, भान्से र रोटी बनाउने काममा लगाउनेछन्। तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्। तिनले तिमीहरूका अन्‍न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्। तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्। तिनले तिमीहरूका बगालको दशांश लिनेछन्। तिमीहरू आफैँ पनि तिनका दास बन्‍नेछौ। जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।” तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे। तिनीहरूले भने, “जेसुकै होस्! हामी राजा चाहन्छौँ। तब हामी अरू राष्ट्रहरूजस्तै हुनेछौँ। अनि हामीलाई न्याय गर्न र युद्धमा लड्नका लागि हाम्रा अगि-अगि जानलाई राजा हुनेछन्।” जब शमूएलले ती मानिसहरूले भनेका सबै कुराहरू सुने, तब तिनले त्यस कुरालाई याहवेहको सामु दोहोर्‍याइदिए।

शेयर गर्नुहोस्
१ शमूएल 8 पढ्नुहोस्

१ शमूएल 8:4-21 पवित्र बाइबल (NERV)

यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए। बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।” यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे। शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्। तिनीहरूले सधैँ जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्। यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।” ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए। शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्। “राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका। “राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्। “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्। “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैंचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्। तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्। “राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्। तिमीहरूका भेंडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्। “अनि तिमी आफैं पनि राजाको दास बनिनेछौ। तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।” तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ। तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लड्ने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।” शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए।

शेयर गर्नुहोस्
१ शमूएल 8 पढ्नुहोस्

१ शमूएल 8:4-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब इस्राएलका सबै अगुवाहरू एकसाथ भेला भएर शमूएलकहाँ रामामा गए र तिनलाई भने, “हेर्नुहोस्, तपाईं बुढो हुँदै हुनुहुन्‍छ अनि तपाईंका छोराहरू तपाईंको चालअनुसार चल्‍दैनन्। यसकारण अब हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गर्नुहोस् र हाम्रो पनि अरू देशमा झैँ राजा हुनेछन्।” तिनीहरूले राजाको लागि बिन्‍ती गरेकोमा शमूएल खुसी थिएनन्। तिनले परमप्रभुलाई प्रार्थना गरे अनि प्रभुले भन्‍नुभयो, “तँलाई मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई अस्‍वीकार गरेका होइनन्, तिनीहरूले त मलाई पो आफ्‍ना राजा मान्‍न अस्‍वीकार गरेका हुन्। मैले तिनीहरूलाई मिश्रबाट निकाली ल्‍याएका दिनदेखि सधैँ तिनीहरू मदेखि तर्केर गए र अरू देवी-देवता पुजेका छन् र जसो तिनीहरूले सधैँ मसित गर्दैआएका थिए। अब तँसित पनि त्‍यस्‍तै गर्दैछन्। यसकारण अब तिनीहरूका कुरा सुन्, तिनीहरूलाई कडा चेतावनी दे र तिनका राजाहरूले तिनीहरूसित कस्‍तो व्‍यवहार गर्नेछन्, सो बताइदे।” राजा माग्‍ने मानिसहरूलाई परमप्रभुले भन्‍नुभएका सबै कुरा शमूएलले भनिदिए। “राजाले तिमीहरूसित यस्‍तो व्‍यवहार गर्नेछन्,” शमूएलले भने, “तिनले तिम्रा छोराहरूलाई सिपाही बनाउनेछन्। तिनीहरू कसैले लडाइँको निम्‍ति रथमा काम गर्नेछन्, कसैले घोडचढी सेनामा र अरूहरू तिनका रथका अघिअघि दगुर्नेछन्। कसैलाई तिनले हजार जनामाथि र अरू कसैलाई पचास जनामाथि सेनापति बनाउनेछन्। तिम्रा छोराहरूले तिनको खेत जोत्‍नु, फसल काटी बटुल्‍नु र तिनका हात-हतियार र रथका सर-सामान बनाउनुपर्नेछ। तिम्रा छोरीहरूले तिनको लागि सुगन्‍धित अत्तर बनाउनु र भान्‍छेको काम र रोटी बनाउने काम गर्नुपर्नेछ। तिम्रा सबैभन्दा असल खेतबारी, दाखबारी र जैतुनबारी तिनले लिएर आफ्‍ना भारदारहरूलाई दिनेछन्। तिम्रा अन्‍न र दाखका दशांश-हिस्‍सा तिनले आफ्‍ना राजमहलका र अरू अफिसरहरूको निम्‍ति लिनेछन्। तिनले तिम्रा नोकर-चाकर र सबैभन्दा असल गाई-वस्‍तु र गधाहरू लिएर आफ्‍ना काममा लाउनेछन्। तिनले तिम्रा भेडा-बाख्राको दशांश हिस्‍सा लिनेछन् र तिमीहरू आफैंचाहिँ तिनका कमारा हुनेछौ। त्‍यो समय आउँदा राजाको कारणले गर्दा तिमीहरूले कटुतासित आफ्‍नो दु:ख पोखाउनेछौ, तर परमप्रभुले तिम्रो बिन्‍ती सुन्‍नुहुनेछैन।” शमूएलका कुरामा ध्‍यान नदिई मानिसहरूले भने, “अँहँ, हामी राजा नै माग्‍छौं र हामी पनि अरू जातिहरू जस्‍तै हुनेछौं। हामीलाई शासन गर्न, लडाइँमा अगुवाइ गर्न र हाम्रा युद्ध लड्‍नको लागि हाम्रा आफ्‍नै राजा हुनेछन्।” शमूएलले तिनका सबै कुरा सुने र परमप्रभुकहाँ गएर भने।

शेयर गर्नुहोस्
१ शमूएल 8 पढ्नुहोस्