YouVersion लोगो
खोज आइकन

१ शमूएल 17:45-51

१ शमूएल 17:45-51 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊदले जवाफ दिए, “तँ त मसँग लड्‌न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्‌न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्‍वर, सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ, र म तँलाई मारेर तेरो टाउको काट्‌नेछु। आज पलिश्‍तीहरूका लाश आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु, र इस्राएलमा एउटा परमेश्‍वर हुनुहुँदोरहेछ भनी सारा संसारले थाहा पाउनेछ। यहाँ भेला भएका सबैले जान्‍नेछन्‌ कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्‍छ। किनभने लड़ाइँ परमप्रभुकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्‍पिदिनुहुनेछ।” जब त्‍यो पलिश्‍ती तिनी भएतिर बढ्‌न लाग्‍यो तब दाऊदले त्‍यससँग लड्‌नलाई तुरुन्‍तै अगि कुदेर गए। तिनले आफ्‍नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले, र घुयेँत्रोमा राखेर त्‍यस पलिश्‍तीको निधारमा हाने। त्‍यो ढुङ्गा निधारैमा गाड़ियो र त्‍यो घोप्‍टो परेर भूइँमा लोट्यो। यसरी दाऊद आफ्‍नो घुयेँत्रो र ढुङ्गाले विजयी भए। आफूसित तरवार नभए तापनि तिनले गोल्‍यतलाई हिर्काएर लड़ाए, र मारे। तिनी कुदेर त्‍यस पलिश्‍ती लड़ेको ठाउँमा गए, र छेउमा खड़ा भए। अनि तिनले त्‍यसैको तरवार म्‍यानबाट थुतेर त्‍यसलाई खतम गरेर त्‍यसको टाउको काटिदिए। जब पलिश्‍तीहरूले आफ्‍नो वीर पुरुष मारिएको देखे, तब उनीहरू फर्केर भागे।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:45-51 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्‍वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्। आजको दिन याहवेहले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। अनि म तँलाई लडाएर तेरो शिर काट्नेछु। आजको दिन म पलिश्ती सेनाहरूका लास आकाशका चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु। अनि सारा संसारले इस्राएलसँग परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा जान्‍नेछन्। यहाँ भेला भएकाहरू सबैले थाहा पाउनेछन्, कि तरवार वा भालाद्वारा याहवेहले बचाउनुहुन्‍न। किनकि युद्ध याहवेहकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।” जब त्यो पलिश्ती दावीदलाई आक्रमण गर्न भनी नजिक बढ्यो, तब दावीद पनि लडाइँको मैदानमा त्यो भएतिर दौडेर गए। दावीदले आफ्नो हात थैलोमा हालेर एउटा ढुङ्गा निकाले। अनि तिनले घुयेँत्रो घुमाएर त्यस पलिश्तीको निधारमा प्रहार गरे। त्यो ढुङ्गा त्यसको निधारैमा गाडियो, र त्यो पलिश्ती भुइँमा घोप्टो परेर ढल्यो। यसरी दावीदले एउटा घुयेँत्रो र एउटा ढुङ्गाले त्यस पलिश्तीमाथि विजयी भए; तरवारविना पनि तिनले त्यस पलिश्तीलाई घुँयेत्रोले हानेर ढाले, र मारे। दावीद दौडेर गए, र त्यस पलिश्तीमाथि उभिए। तिनले त्यस पलिश्तीको तरवार म्यानबाट थुते, र त्यसलाई मारे। अनि त्यही तरवारले त्यसको टाउको काटे। जब पलिश्तीहरूले आफ्नो वीर मानिस मारिएको देखे, तब तिनीहरू फर्केर भागे।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:45-51 पवित्र बाइबल (NERV)

दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्। आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर। यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।” पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढ्न थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लड्न चाँडै अघि सर्यो। दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुँयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो। यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्ती गोल्यतलाई मार्यो। दाऊदसँग तरवार थिएन। यसर्थ ऊ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो। जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्

१ शमूएल 17:45-51 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्‍वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्‍छ ठानेको छस्। आज नै परमप्रभुले तँलाई मेरो अधीनमा दिनुहुनेछ। म तँलाई जितेर तेरो टाउको ठुन्‍क्याउनेछु र पलिश्‍ती सिपाहीहरूका लाश पशु-पंक्षीहरूलाई खान दिनेछु। तब सारा संसारले थाहा पाउनेछ कि इस्राएलसित परमेश्‍वर हुनुहुन्‍छ र यहाँ भएका सबैले देख्‍नेछन् कि आफ्‍ना प्रजालाई बचाउन परमप्रभुलाई तरवार र भालाको जरुरत पर्दैन। उहाँ लडाइँमा विजयी हुनुहुन्‍छ र तिमीहरू सबैलाई हाम्रा अधिकारमा दिनुहुनेछ।” गोल्यत फेरि दाऊदतिर बढ्यो र त्‍योसँग लड्‍ने विचारले दाऊद झटपट गरी पलिश्‍तीहरूले लडाइँको निम्‍ति बाँधेको पङ्क्तितिर दगुरे। तिनले आफ्‍नो थैलीमा हात हालेर एउटा ढुङ्गा निकाले र गोल्यतलाई घुँयेत्रोले हाने। ढुङ्गा त्‍यसको निधारमा गाडियो र खप्‍पर फोरिदियो। गोल्यत भूइँमा घोप्‍टिएर ढल्‍यो। यसरी दाऊद आफ्‍नो घुँयेत्रो र ढुङ्गाले विजयी भए। तरवारबिना तिनले गोल्यतलाई हानेर मारे। तिनी त्‍योतिर दगुरिगए र त्‍यसमाथि उभिए र गोल्यतको तरवार म्‍यानबाट झिकी त्‍यसैले त्‍यसको टाउको ठुन्‍क्‍याएर त्‍यसको प्राण लिए। पलिश्‍तीहरूले आफ्‍नो वीर योद्धा मरेको देखेर भागे।

शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्